१५ माघ, काठमाण्डौ ।
अघिल्लो बर्षको बिनासकारी भूकम्पबाट तहसनहस भएको गोरखाको लाप्राकमा एनआरएनको पहलमा निर्माण हुन लागेको ‘लाप्राक नमुना वस्ती’ बनाउन नेपाली सेनाले साथ दिने भएको छ ।

गैरआवासीय नेपाली संघको आह्वानमा नेपाली सेनाले शनिवार नै क्याप्टेनको कमाण्डमा ३९ जना दक्ष जनशक्ति खटाएर बस्ती निर्माणमा सहयोग थालेको हो ।

इन्जिनियर, ओभरसियर र दक्ष निर्माण जनशक्ति समेत रहेको टोली लाप्राक वस्ती निर्माण अवधिभर रहने नेपाली सेनाले जनाएको छ ।

शनिवार लाप्राकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान सेनापति राजेन्द्र क्षेत्रीले गैरआवासीय नेपाली संघको सहयोगार्थ लाप्राक वस्ती निर्माण अबधिभर सेनाले निर्माण स्वयंसेवक खटाउने जानकारी दिनुभयो ।

घरको डिजाइन र निर्माण लागतका बिषयमा लाप्राकबासीसँग छलफल र परामर्श गर्न आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेल, प्रधानसेनापति राजेन्द्र क्षेत्री लगायत लाप्राक पुग्नुभएको थियो ।

लाप्राक नमुना वस्ती पुनःनिर्माणमा नेपाली सेना सवैभन्दा ठूलो संस्थागत साझेदार भएको एनआरएन अध्यक्ष घलले बताएका छन् ।

घरको निर्माण लागत झण्डै १२ लाख रुपैयाँ पर्ने र ठूलो रकम निर्माण सामाग्री ढुवानीमा जाने घलेको भनाई छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सीइओ गोविन्द पोखरेलले भूकम्पपछिको पुनःनिर्माणमा गैरआवासीय नेपाली संघको मेहनतको प्रसंसा गर्दै लाप्राबासीलाई पूर्ण सहयोग गर्न आग्रह गर्नुभयो ।

‘नेपाल सरकारले अरु भूकम्पपिडीतलाई ३ लाख रुपैयाँभन्दा दिन सकेको छैन, एनआरएनएले तपाइहरुलाई १२ लाख रुपैयाँ पर्ने घर बनाइदिँदै छ’ पोखरेलले भन्नुभयो ‘तपाइहरुले पनि एनआरएनलाई उदाहरणीय सहयोग गर्नुपर्छ ।’

सो अबसरमा गैरआवासीय नेपाली संघले लाप्राक नमुना वस्ती गुरुयोजनाबारे विस्तृत जानकारी गराउँदै स्थानीयवासीलाई घरको डिजाइन र लागतबारे जानकारी दिएको थियो । जसमा स्थानीयबासीले झण्डै १२ लाख रुपैयाँ लागत पर्ने दुई तले घर प्राप्त गर्ने भएका छन् । दुई तले घर भूकम्प प्रतिरोधी र स्थानीय परम्परा झल्किने खालका हुने बताइएको छ ।

वस्तीमा खानेपानीको दीगो ब्यबस्थापनका लागि केयर नेपाल नामक गैरसरकारी संस्थासँग सहकार्य गर्न लागिएको संघले जनाएको छ ।

झण्डै एक महिनादेखि निर्माण कार्य सुरु गरेको संघले घरको जग हाल्ने काम थालेको छ भने स्थानीयस्तरमै इटा उत्पादन पनि सुरु भइसकेको छ ।

16.49¡ÆC