माघ १५ गतेदेखि ५ दिन विद्यालय खुल्ने, बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने

काठमाडौँ । विद्यार्थीहरूलाई काेभिड–१९ (कोरोना भाइरस) विरुद्धको खोप लगाउन सरकारले माघ १५ गतेदेखि पाँच दिन विद्यालय खोल्ने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज मङ्गलवार सूचना निकालेर माघ १५ देखि २० गतेसम्म विद्यार्थीहरूलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको छ । पालिका र स्वास्थ्य सस्थासँग समन्वय गरेर खोप लगाइने मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो ।

खोप लगाएको सुनिश्चित गरेपछि विद्यालयमा पठनपाठन र परीक्षाहरू सञ्चालन गर्ने तयारी सरकारको छ । कोरोना सङ्क्रमण बढेपछि सरकारले विद्यालय बन्द गरेको थियो ।

भारतमा विदेशी सहयोगबाट चल्ने ६ हजार वटा एनजीओ बन्द हुने अवस्थामा

काठमाडौँ । भारतमा विदेशी सहयोगमा सञ्चालित ६ हजार वटा गैरसरकारी संस्था (एनजीओ) बन्द हुने अवस्थामा पुगेका छन् । केन्द्रीय सरकारले प्रतिबन्ध लगाएका र नवीकरण रोकेका ६ हजार वटा संस्थाको तर्फबाट दर्ता भएको मुद्दामाथि सुनुवाइ गर्दै भारतको सर्वोच्च अदालतले आज मङ्गलवार अन्तरिम आदेश दिन अस्वीकार गरेपछि ती संस्था बन्द हुने अवस्थामा पुगेका हुन् ।

सर्वोच्चले आफ्नो समस्या पहिले केन्द्र सरकारसँग राख्न र सरकारले कानुनअनुसार काम गर्ने बताएको बीबीसी हिन्दीले जनाएको छ । भारतको केन्द्रीय गृह मन्त्रालयले एक सय ७९ वटा संस्थामाथि प्रतिबन्ध लगाएको छ भने पाँच हजार सात सय ८९ वटा संस्थाको नवीकरण गर्न अस्वीकार गरेको थियो ।

सरकारको यो निर्णयले सबैभन्दा ठूलो असर मदर टेरेसाद्वारा स्थापित मिसिनरी च्याटिरी, अक्सफाम भारत, जामिया मिल्लिया इस्लामिया जस्ता मुस्लिम केन्द्रित संस्थामा परेको छ । सरकारले धर्मान्तरण जस्ता क्रियाकलापमा संलग्न एनजीओलाई पनि कारबाही गरेको छ ।

सरकारको आलोचना गर्ने, मुस्लिम तथा अल्पसङ्ख्यक र दलित समुदायको हितमा काम गर्ने संस्थामाथि प्रतिबन्ध र नवीकरण नगरेको भन्दै आलोचना भएको छ । तर आन्ध्र प्रदेशमा राष्ट्रिय स्वयंसेवक सङ्घलाई सहयोग गर्ने सेवा भारती र त्रिपुरामा इशाई धर्मान्तरणको विरोध गर्ने शान्तिकालीन मिसन पनि कारबाहीमा परेका छन् ।

नेप्से पाँच दशमलव ९२ अङ्कले घट्यो

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से लगातार तेस्रो दिन आज मङ्गलवार पनि घटेको छ । अस्ति आइतवार ११ र हिजो साेमवार झन्डै एक सय अङ्कले घटेको नेप्से आज पाँच दशमलव ९२ अङ्कले घटेर दुई हजार आठ सय १४ दशमलव ७४ विन्दुमा झरेको छ ।

आज जीवन बीमा समूहबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । ९७ लाख ८४ हजार कित्ता शेयर पाँच अर्ब ३९ करोड ५६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एसियन लाइफ इन्सोरेन्सको २६ करोड ९४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै गुर्खाज फाइनान्स कम्पनीको शेयर साढे चार प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।

युक्रेन पढ्न जान विद्यार्थीले एनओसी नपाउने

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले युक्रेन पढ्न जाने विद्यार्थीहरुलाई दिइने अध्ययन अनुमति पत्र हाललाई स्थगित गरेको छ ।

वैदेशिक अध्ययन अनुमति शाखा केशरमहलले सूचना जारी गर्दै हाललाई युक्रेनमा अवस्थित विश्वविद्यालयहरुमा अध्ययन गर्न दिइने अनुमति पत्र (एनओसी) स्थगन गरिएको जनाएको छ ।

अर्को सूचना नभएसम्मको लागि अध्ययनका लागि युक्रेन जान चाहने विद्यार्थीलाई नो अब्जेक्सन लेटर दिने काम स्थगन गरिएको शाखाका उपसचि हरिप्रसाद निरौलाले जानकारी दिएका छन् ।

थ्री स्टारलाई हराउँदै त्रिभुवन आर्मी आहा रारा गोल्डकपको सेमिफाइलनमा

कास्की । थ्री स्टार क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइलनमा पुगेको छ । पोखरा रङ्गशालामा आज मङ्गलवार भएको खेलमा थ्री स्टार क्लबलाई एक–शून्य गोलले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।

आर्मीका लागि खेलकाे ७० औँ मिनेटमा राजीव गुरुङले गोल गरे । अब आर्मीले फाइनल प्रवेशका लागि पर्सि बिहीवार मनाङ मर्स्याङ्दी क्बलसँग खेल्नेछ । पहिलो सेमिफाइलनमा भने भोलि बुधवार मच्छिन्द्र फुटबल क्बल र एपीएफ क्लब खेल्नेछन् । फाइनल खेल शनिवार हुनेछ ।

प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहेको छ । विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ ।

यसैबीच प्रतियोगिताको सेमिफाइनलदेखि दर्शकलाई रङ्गशालामा प्रवेश दिइने भएको छ । आयोजक सहारा क्लब पोखराले भोलिदेखि हुने सेमिफाइनल खेलमा स्थानीय प्रशासनले लागू गरेको सम्पूर्ण स्वास्थ्यका मापदण्ड अपनाउँदै दर्शकलाई अनुमति दिइने जनाएको छ ।

१२ हजार ८ जनामा कोरोना पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १२ हजार आठ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । पीसीआर र एन्टिजेन गरी २५ हजार आठ सय नाै जनाको नमुना परीक्षण गर्दा ४६ दशमलव ३४ प्रतिशत अर्थात् १२ हजार आठ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

यस्तै कोरोना सङ्क्रमणका कारण थप आठ जनाको ज्यान गएको छ । आज ज्यान गुमाएकासहित नेपालमा काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या ११ हजार ६ सय ६७ पुगेको छ ।

२४ घण्टामा तीन हजार ४० जना सङ्क्रमणमुक्त भएका छन् । अहिले नेपालमा ८८ हजार नाै सय ३४ जना काेराेनाका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएकाे छ ।

यसैबीच २४ घण्टामा दुई लाख ३९ हजार आठ सय ५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । याेसहित अहिलेसम्म खोप लगाउने दुई करोड ९६ लाख ६४ हजार ६ सय सात जना रहेका छन् । यसमा एक करोड ६३ लाख ३३ हजार नाै सय ३७ जनाले कम्तीमा एक मात्रा र एक करोड ३१ लाख ६ हजार सात सय २६ जनाले पूर्ण मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।

टेकु अस्पतालमा खोप अभियान फेरि सञ्चालनमा आउने

काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा स्थगित खोप अभियान भोलि मङ्गलवारदेखि फेरि सञ्चालनमा आउने भएको छ ।

अस्पतालले आज साेमवार विज्ञप्ति निकालेर भाेलिदेखि नियमित रूपमा खोप कार्यक्रम सञ्चालन हुने जनाएको हो । अस्पतालका ५० जनाभन्दा धेरै डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारी कोरोना सङ्क्रमित भएपछि टेकुमा हिजाे आइतवारदेखि खोप कार्यक्रम स्थगित गरिएको थियो ।

काठमाण्डौ महानगरपालिका स्वास्थ्य शाखा, नेपाल रेडक्रस सोसाइटी काठमाण्डौबाट जनशक्ति व्यवस्थापन हुने भएकाले भोलि बिहान १० बजेदेखि फेरि नियमित खोप कार्यक्रम सञ्चालन हुने अस्पतालले निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।

ज्वरोका बिरामी बढ्दा भक्तपुरमा सिटामोल अभाव

काठमाडौँ । भक्तपुरका औषधि पसल एवम् फार्मेसीमा सिटामोल अभाव भएको छ । घरघरमा ज्वरो तथा रुघाखोकीका बिरामी थपिँदै गएपछि सिटामोलको माग बढे पनि आपूर्ति नहुँदा सिटामोलको अभाव भएको छ । भक्तपुरमा फार्मेसी सञ्चालक रुद्र न्यौपानेले सिटामोलको माग धेरै भएको तर आपूर्ति भने शून्यजस्तै भएकाले सिटामोलको अभाव भएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरमा सिटामोलको अभाव भएको पाइएको बताउनुभयो । सिटामोलको अभाव भएको व्यापक गुनासो आएपछि प्रशासनले यहाँको मुख्य बजार सूर्यविनायक, कमलविनायक, दूधपाटीलगायतका क्षेत्रका २० वटा औषधि पसलको अनुगमन गर्दा सिटामोलको अभाव पाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गुनासो धेरै आयो, हामीले २० भन्दा बढी औषधि पसलमा अनुगमन गर्‍याैँ, सिटामोलको वास्तविक अभाव भएकै पाइयो ।’ उहाँले औषधि व्यवस्था विभागमा यसबारे बुझ्न लगाएको जानकारी दिनुभयो ।

भक्तपुर अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुमित्रा गौतमले भक्तपुर अस्पालमा भने सिटामोलको अभाव नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो अस्पतालमा सिटामोल छ, अहिले पनि अस्पतालको फार्मेसीमा चार हजार पाँच सय सङ्ख्यामा सिटामोल छ, स्टोरमा पनि छ, भक्तपुर अस्पतालले आफूकहाँ आउने बिरामीलाई चिकित्सकको सिफारिसअनुसार निःशुल्क सिटामोल दिइरहेको छ ।’

ज्वरोको बिरामी बढ्दा बाहिर सिटामोल अभाव भएको हुनसक्ने भन्दै उहाँले भक्तपुर अस्पतालमा दैनिक सात सय जनाभन्दा बढी बिरामी बहिरङ्ग सेवा लिन आउने गरेको बताउनुभयो । त्यसमध्येमा दुई सय ५० भन्दा बढी बिरामी ज्वरो आएकै बिरामी हुने गरेको जानकारी दिँदै उहाँले ज्वरोको बिरामी भने निकै बढेको बताउनुभयो ।

कोरोना सङ्क्रमित बिरामी पनि थपिँदै जाँदा अस्पतालको शय्या भरिन थालेको छ । अस्पतालमा रहेको ६ शय्याको आईसीयू कोरोनाका बिरामीले भरिएको र आईसीयू नचाहिने काेरोनाका बिरामीको चाप पनि बढेको छ ।

मेसु डा. गौतमले अस्पतालले दैनिक गर्ने कोरोनाको पीसीआर परीक्षणमा ८५ प्रतिशतसम्म पोजेटिभ आउने गरेकोमा हिजाे आइतवार भएको परीक्षणमा भने ६५ प्रतिशतलाई कोरोना सङ्क्रमण देखिएको छ भन्नुभयो ।

१० हजार ३ सय १९ जनामा कोरोना पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार तीन सय १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २१ हजार दुई सय एक जनाको नमुना परीक्षण गर्दा ४८ दशमलव ६७ प्रतिशत अर्थात् १० हजार तीन सय १९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो दुई हप्तादेखि सङ्क्रमण दर ५० प्रतिशतको हाराहारीमा रहेको मन्त्रालयकाे तथ्याङ्कले देखाएकाे छ ।

यस्तै थप दुई हजार पाँच सय ४० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख २४ हजार दुई सय ३९ पुगेको छ । अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ८२ हजार पाँच सय ५० जना पुगेको छ । काठमाण्डौ उपत्यकाका तीन वटा जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५२ हजार आठ सय जना नाघेको छ । काठमाण्डौ जिल्लामा मात्रै ३८ हजार पाँच सय जना सक्रिय सङ्क्रमित रहेका छन् । अहिले देशभरि दुई सय ३८ जनाको आईसीयू र ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

२४ घण्टामा थप चार जनाको ज्यान गएसँगै सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ५ सय ५९ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा एक लाख १९ हजार तीन सय ७१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म एक करोड २९ लाख ६६ हजार जनाले पूर्ण मात्रा र एक लाख ६८ हजार नौ सय जनाले अतिरिक्त मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।

मावि तहको साढे १५ सय रिक्त शिक्षक पदमा साढे ३६ हजारभन्दा बढीको आवेदन

काठमाडौं । माध्यामिक तहको शिक्षक पदमा साढे ३६ हजारभन्दा बढी आवेदन परेको शिक्षक सेवा आयोगले जनाएको छ ।

एक हजार ५४२ रिक्त शिक्षक पदपूर्तिका लागि खुला गरेको विज्ञापनमा ३६ हजार ५८२ जनाले आवेदन दिएको आयोगले जनाएको छ । माघ ८ गतेसम्म मावि तहको शिक्षक पदको लागि आवेदन समयावधि तोकेको थियो ।

आयोगको अनुसार मावि तहका शिक्षण सेवाका लागि एक लाख ४४ हजार ३८१ जनाले लाइसेन्स लिएका छन् । निमावि तहको पुस ७ गते खुलाएको दरबन्दीमा ८७ हजारभन्दा बढी र प्रावि तहमा आयोगले ९८ हजार बढीले आवेदन दिएका छन् । निमावि तहमा दोब्बर दस्तुरसहित १५ गतेसम्म आवेदन भर्न सकिने छ ।

प्राविको लागि यही १३ गतेसम्म नियमित र १४ गतेदेखि २० गतेसम्म दोब्बर शुल्क तिरेर फारम भर्न सकिनेछ । निमाविमा तहको शिक्षण सेवाका लागि तीन लाख ७० हजार १२ जनाले र प्रावि तहको शिक्षण सेवाका लागि दुई लाख दुई हजार ७१२ जनाले लाइसेन्स लिएको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए ।
आयोगले मावि तर्फको शिक्षक पदको चैत १५ गते, निमावि तहको चैत १७ गते र प्रावि तहको चैत १९ गते परीक्षा लिने मिति तोकेको छ ।

 

प्रिमियर लिगमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–१ गोल अन्तरले हरायो

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई हराएको छ ।

गएराति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–१ गोल अन्तरले हराएको हो ।

लिभरपुलका भिर्गिल भान डाइकले आठौँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् ।

यस्तै, खेलको ३२औँ मिनेटमा एलेक्स च्याम्बर्लिनले गोल गरे भने ८९औँ मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए । क्रिस्टल प्यालेसका ओड्सोने इडवार्डले खेलको ५५ औँ मिनेटमा गोल गरे ।

जितसँगै दोस्रो स्थानमा रहेको लिभरपुलको ४८ अङ्क भएको छ । शीर्ष स्थानको म्यानचेस्टर सिटीको ५७ अङ्क छ ।

 

 

विश्वका १ सय ७१ देशमा फैलियो ओमिक्रोन भेरियन्ट

विश्वका १ सय ७१ देशमा काेराेना भाइरसकाे ओमिक्रोन भेरियन्ट फैलिएकाे पाइएकाे छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले याे भेरियन्ट अझै पनि तीव्र गतिमा फैलिने क्रममा रहेकाे जनाएकाे हाे ।

यस्तै, यसअघि कोरोना भाइरसको सङ्क्रमण भएकाहरुलाई पनि ओमिक्रोन भेरियन्टकोे सङ्क्रमण भएको पाइएको छ ।

डब्ल्यूएचओको नयाँ रिपोर्टअनुसार यसअघि सङ्क्रमित भइसकेकाहरुलाई ओमिक्रोनको पनि सङ्क्रमण भएको पाइएको हो ।

ओमिक्रोनबाट गम्भीर बिरामी हुने खतरा कम भए पनि रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुलाई भने यसको नराम्रो असर पर्ने र ज्यान समेत जान सक्ने खतरा रहेको डब्ल्यूएचओले जनाएको छ ।

यसैबीच, सङ्क्रमण फैलिँदै गएपछि चीनको फेङ्गताइ जिल्लामा सिल गरिएको छ। यो जिल्लालाई अत्यधिक जोखिमयुक्त क्षेत्र घोषणा गरिएको छ । २० लाख जनसङ्ख्या रहेको यो जिल्लाका जोखिमयुक्त क्षेत्रका बासिन्दालाई जिल्ला बाहिर निस्कन रोक लगाइएको छ ।

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.