स्मार्ट लाइसेन्सको पर्खाइमा १० लाख २५ हजार चालक

साउन १७, २०७८ मा प्रकाशित
Published at 2021-08-01

79 views

काठमाडौ । देशभर विद्युतीय सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)को पर्खाइमा बस्ने नेपालीको संख्या १० लाख २५ हजार पुगेको छ । त्यसमध्ये ४ लाख ५५ हजार २ सय ४० जनाले स्मार्ट लाइसेन्स प्राप्त गर्न आवश्यक लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षा पास गरेर रसिदसमेत पाइसकेका छन् ।

त्यस्तै, ४ लाख २५ हजार लाइसेन्स प्राप्त गर्न आवश्यक परीक्षा (लिखित र प्रयोगात्मक)का लागि अनलाइन बुझाएका छन् भने १ लाख ४५ हजार पुरानो कागजी लाइसेन्सको म्याद सकिएर नवीकरणसँगै स्मार्ट लाइसेन्स पाउने आसमा छन् ।

तर, विभागले भदौ ०७७ देखि आकस्मिकबाहेक अन्यलाई स्मार्ट लाइसेन्स प्रिन्ट गर्न बन्द गरेको छ । विभागको स्टोरमा अहिले ३० हजार मात्र स्मार्ट कार्ड रहेका छन् । आकस्मिकबाहेक अन्यलाई दिने स्मार्ट कार्डको अभाव छ । आकस्मिकअन्तर्गत सम्बन्धित निकायको सिफारिसमा प्रहरी, सेनाको शान्ति मिसन, कूटनीतिक नियोगका मानिस, वैदेशिक रोजगारमा ड्राइभिङ पेसामा जानेहरूका लागि दैनिक औसतमा १ सय १० संख्यामा प्रिन्ट र वितरण गर्ने गरिएको छ ।

विभागले ट्रायल खुला गर्ने समय अझै अनिश्चित छ । ट्रायल नखुलाउँदा झन्डै साढे ४ लाख मानिसले अझै कति पालो पर्खेर बस्नुपर्ने हो, यकिन छैन । विभागले खुला गर्न चाहे पनि सिसिएमसी र जिल्ला प्रशासन कार्यालयबाट ग्रिन सिग्नल नआई खुलाउन नसकिने विभागका महानिर्देशक नमराज घिमिरेले बताए । विभागका अधिकारीहरूले विद्यालय खुलेको दिन ट्रायल पनि खुलाउने जानकारी दिँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.