अष्ट्रेलिया विश्वकपको अन्तिम १६ मा

काठमाडौँ । अष्ट्रेलिया १६ वर्षपछि फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत समू डी को अन्तिम खेलमा डेनमार्कलाई १-० ले पराजित गरेपछि अष्ट्रेलियाले समूह डी मा उपविजेता बन्दै नकआउट चरणमा स्थान पक्का गरेको हो ।

अल जानोब स्टेडियममा भएको खेलमा अष्ट्रेलियाको लागि म्याथ्यु लेकीले निर्णायक गोल गरे । उनले खेलको ६०औं मिनेटमा रिले म्याग्रेको पासमा गरेको गोल निर्णायक बनेको थियो ।

यसअघि अष्ट्रेलिया सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा अन्तिम १६ मा पुगेको थियो । तर इटलीसँग पेनाल्टी गोलमा १-० ले पराजित हादै बाहिरिएको थियो । पछि इटलीले नै त्यस विश्वकप जितेको थियो ।

जारी विश्वकपमा समूह डी मा अष्ट्रेलिया र साविक विजेता फ्रान्सले समान ६ अंक जोडेपनि गोलअन्तरमा फ्रान्स अघि रहेर समूह विजेता बनेको हो ।

पहिलो खेलमा फ्रान्ससँग ४-१ ले पारजित भएको अष्ट्रेलियाले त्यसपछिको दुई खेलमा ट्युनिसिया र डेनमार्कलाई पराजित गरेको हो ।

अष्ट्रेलियाले अब समूह सी को विजेतासँग अन्तिम १६ मा खेल्नेछ । समूह डी मा दोस्रो हार बेहोरेको डेनमार्क भने १ अंक जोड्दै पूछारमा रहेर बाहिरियो ।

३५ दिनभित्र खोला किनारका बस्ती खाली गर्न उपत्यका विकास प्राधिकरणको सूचना

काठमाडौँ । काठमाण्डौ उपत्यका विकास प्राधिकरणले खोला किनार अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्र खाली गर्न सूचना निकालेको छ ।

प्राधिकरणले सार्वजनिक सूचना निकालेर काठमाण्डौ उपत्यकाभित्रका सरकारी, प्रर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्र खाली गर्न अनुरोध गरेको छ । तोकिएको मितिमा नहटाएमा अतिक्रमण गरी निर्माण गरिएका संरचना प्राधिकरणले हटाउने र त्यसरी हटाउँदा वा भत्काउँदा लागेको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने उल्लेख छ ।

उपत्यकाका नगरहरूको पुनर्निर्माण, विकास र विस्तार मार्फत व्यवस्थित गर्ने उद्देश्यका साथ उपत्यकामा योजनाबद्ध भौतिक विकासका लागि काठमाण्डौ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ मा आधारभूत मापदण्ड तय गरिएको छ ।

सोमबार काठमाण्डौको थापाथली सुकुम्वासी बस्तीमा काठमाण्डौ महानगर तथा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले संरचना हटाउन खोजेपछि तनाव भएको थियो । महानगरको नगरप्रहरी र डोजरले बस्ती हटाउन खोजेपछि सुकुम्वासीले घरेलु हतियारसहित ढुङ्गामुढा समेत गरेका थिए ।

यसअघि वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती सुकुम्वासी बस्ती हटाउन कात्तिक २४ गते सूचना निकालेको थियो । तोकिएको समय १० दिनभित्र स्थानीयले अवैध संरचना नहटाएपछि महानगर प्रहरी डोजरसहित सुकुम्वासी बस्तीमा पुगेको थियो ।

 

युक्रेनलाई थप हतियार उपलब्ध गराउने नेटोको वाचा

काठमाडौँ । उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)ले युक्रेनलाई थप हतियार उपलब्ध गराउने र रुसी क्षेप्यास्त्र तथा ड्रोन हमलाका कारण क्षतिग्रस्त महत्त्वपूर्ण ऊर्जासम्बन्धी पूर्वाधार मर्मत गर्न सहयोग पुर्‍याउने प्रतिबद्धता जनाएको छ ।

रोमानियाको राजधानी बुकारेस्टमा भएको विदेशमन्त्रीहरूको दुई दिने बैठकमा नेटो प्रमुख स्टोलटेनबेर्गले वास्तवमा युद्धको मैदानमा रुस असफल भएको टिप्पणी गर्नुभएको छ । सैन्य सङ्गठनका प्रमुख यान्स स्टोलटेनबेर्गले रुसले युक्रेनमाथि जाडोयामलाई हतियारका रूपमा नै प्रयोग गर्न खोजेको आरोप समेत लगाउनुभएको बीबीसीले जनाएको छ ।

रुसी आक्रमणहरूका कारण लाखौँ युक्रेनी बढ्दो चिसोकाबीच बिजुली र खानेपानीबाट वञ्चित छन् । युक्रेनले नेटो समक्ष महिनौँदेखि परिष्कृत वायु प्रतिरक्षा प्रणालीको माग गर्दै आएको छ । नागरिक वा उनीहरूको अस्तित्वलाई आवश्यक महत्त्वपूर्ण पूर्वाधारलाई आक्रमण गर्नु युद्ध अपराध मानिन्छ । गएको फेब्रुअरी २४ मा युक्रेनमाथि पूर्ण आक्रमणको आदेश दिएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र क्रेमलिनका अन्य वरिष्ठ अधिकारीहरूले रुसी सेनामाथि लागेको युद्ध अपराधको आरोपबारे खण्डन गर्दै आएका छन् । नेटोले एक विज्ञप्ति समेत निकालेर युक्रेनी नागरिक र ऊर्जा प्रणालीहरूमा रुसको लगातार आक्रमणका कारण लाखौँ मानिसलाई आधारभूत आवश्यकताबाट वञ्चित गरिएको जनाएको छ ।

नेटो सदस्यहरूले युक्रेनलाई यसको ऊर्जा पूर्वाधार मर्मत गर्न र क्षेप्यास्त्र आक्रमणबाट मानिसहरूलाई बचाउन सहयोग गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । युक्रेनी विदेशमन्त्री दिमित्री कुलेबासँगको संयुक्त पत्रकार सम्मेलनमा स्टोलटेनबेर्गले भन्नुभयो,-‘हामी सधैँ युक्रेनको पक्षमा उभिनेछौँ, हामी पछि हट्ने छैनौँ ।’

कुलेबाले नेटोका वरिष्ठ अधिकारीहरूसँगको भेटमा हतियार उपलब्ध गराउनेबारे कुरा भएको जानकारी समेत दिनुभएको छ । इस्टोनियाका विदेशमन्त्री उर्मास रेन्सालुले नेटोले युक्रेनलाई रुसी भूभागमा प्रहार गर्न सक्ने क्षेप्यास्त्रहरू दिन आवश्यक रहेको बताउनुभएको बीबीसीले उल्लेख गरेको छ । अमेरिकाको नेतृत्वमा रहेको नेटो गठबन्धनले युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र र त्यस्ता अन्य हतियारहरू आपूर्ति गर्न बारम्बार टार्दै आएको छ । युक्रेनमा धेरै क्षेत्रहरूमा हिउँ र शून्य तापक्रमसहित चिसो बढ्दो छ ।

प्रतिनिधिसभामा रहेका सबै विधेयक निस्क्रिय

काठमाडौँ । संघीय संसदको एक कार्यकाल पूरा भएको छ । मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनाव भएसँगै अब दोस्रो संघीय संसदको कार्यकाल शुरु हुने तरखरमा छ ।

मंसिर ४ गते भएको चुनावको मत परिणाम आउने क्रम जारी नै छ । अधिकांश स्थानमा भने मत परिणाम आइसकेको छ । चुनाव परिणामलाई नियाल्दा कुनै पनि एक दलको मात्रै बहुमतको सरकार बन्ने स्थिति छैन । नेपाली कांग्रेस र नेकपा एमाले यी दुई पार्टीमध्ये कुनै एकको नेतृत्वमा बन्ने सरकार बाँकी दलहरुको सहयोगमा गठबन्धनकै सरकार बन्ने निश्चित छ ।

मत परिणाम अन्तिम चरणमा पुगेसँगै आम मानिसमा संघीय संसदमा दर्ता भएका विधेयकहरु अब के होलान् ? भन्ने चासो र चिन्ता छ । संघीय संसद सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले संघीय संसदमा दर्ता भएका विधेयकमध्ये केही निस्क्रिय भइसकेको र केही भने विचाराधीन अवस्थामा रहेको बताउनु भयो ।

उहाँले प्रतिनिधि सभामा उत्पादित भएर प्रक्रियागत रुपमा रहेका र प्रतिनिधि सभामा विचाराधीन रहेका विधेयकहरु निस्क्रिय भइसकेको बताउनुभयो । उहाँले राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधीन रहेका विधेयकहरु भने अधिवेशन शुरु भएपछि त्यही अवस्थाबाट शुरु हुने बताउनुभयो ।

राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रियसभामा नै विचाराधीन रहेका विधेयकहरु १२ वटा छन् । सहायक प्रवक्ता धमलाले राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधीन रहेका बाहेकका विधेयकहरु भने निस्क्रिय भइसकेको बताउनु भयो । उहाँले यदि सरकारले तिनै विधेयकहरु ल्याउन चाहेको खण्डमा भने फरक ढंगले ल्याउनुपर्ने र ती विधेयकहरुको पुनः नयाँ प्रक्रिया शून्यबाट शुरु हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संघीय संसदको एक कार्यकाल पूरा भएको छ । यो चरणमा संघीय संसदमा दर्ता भएका विधेयकमध्ये केही निस्क्रिय भएका छन् । प्रतिनिधि सभामा उत्पादित भएर प्रक्रियागत रुपमा रहेका र प्रतिनिधि सभामा विचाराधीन रहेका विधेयकहरु निस्क्रिय हुने भन्ने व्यवस्था छ । तर राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधिन रहेका विधेयकहरु १२ वटा छन् । ती विधेयकहरु विचाराधीन अवस्थामा नै छन् । अधिवेशन शुरु भएपछि जुन अवस्थामा रहेका छन्, त्यही अवस्थाबाट शुरु हुन्छन् । ती भन्दा बाहेकका अरु सबै विधेयकहरु निस्क्रिय भए । यदि सरकारले तिनै विधेयकहरु ल्याउन चाह्यो, फरक ढंगले ल्याउन चाह्यो वा कुनै पनि विधेयक संघीय संसदमा दर्ता गर्न ल्याए फेरि ती विधेयकहरुको नयाँ प्रक्रिया शुरु हुन्छ । जिरोबाट शुरु हुन्छ । राष्ट्रिय सभाबाट आएका राष्ट्रिय सभाबाट नै अघि बढ्छन्, प्रतिनिधिसभाबाट आए प्रतिनिधि सभाबाट नै अघि बढ्छन् ।’

सहायक प्रवक्ता धमलाले विधेयकहरु राष्ट्रिय सभाबाट आए राष्ट्रिय सभाबाट नै अघि बढ्ने र प्रतिनिधि सभाबाट आए प्रतिनिधि सभाबाट नै अघि बढ्ने प्रावधान रहेको पनि बताउनु भयो ।

स्याङ्जा २ र बाजुरामा पुनः मतदान नगर्ने निर्वाचन आयोगको निर्णय

काठमाडौँ । निर्वाचन आयोगले स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको छ ।

आयोगको आज बुधवार बसेको बैठकले पुनः मतदान नगर्ने र दलहरूबीच सहमति गरेर मतगणना गर्न जिल्ला निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिने निर्णय गरेको निर्वाचन आयाेगका प्रवक्ता शालिग्राम शर्मा पाैडेलले जानकारी दिनुभयाे । दुवै ठाउँमा पठाइएको आयोगको स्थलगत टोलीको प्रतिवेदनको आधारमा गणना सुरु गर्न निर्देशन दिइएको आयोगको भनाइ छ ।

बाजुरामा एमाले र कांग्रेसले छुट्टाछुट्टै गरी २० वटाभन्दा धेरै मतदान केन्द्रमा बुथ कब्जा गरेको भनेर निवेदन दिएका छन् । यस्तै स्याङ्जा २ मा चापाकोट नगरपालिकाका चार वटा बुथमा नेपाली कांग्रेसले एकलौटी कब्जा गरेर फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः मतदानको माग गरेका छन् । बुथ कब्जा गरेर कांग्रेसका कार्यकर्ताले मृत्यु भएका र विदेशमा भएका व्यक्तिको समेत मत हालेको एमालेको आरोप छ । देशभर औसतमा ६० प्रतिशत मत खस्दा चापाकोटका केही बुथमा कसरी ९८ प्रतिशत मत खस्यो भनेर एमालेले प्रश्न सोधेको छ ।

स्याङ्जा–२ मा कांग्रेसका उपसभापति धनराज गुरुङ, एमालेकी सचिव पद्या अर्याल र स्वतन्त्र उम्मेदवार टिकराज गुरुङबीच मुख्य प्रतिस्पर्धा छ । यस्तै बाजुरामा नेकपा एमालेका कर्णबहादुर थापा र नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेबीच मुख्य प्रतिस्पर्धा छ ।

प्रतिनिधिसभातर्फ ४ क्षेत्रको नतिजा आउन बाँकी

काठमाडौँ । प्रतिनिधिसभाका १ सय ६५ मध्ये १ सय ६१ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । अब ४ वटा क्षेत्रको मात्रै मतपरिणाम आउन बाँकी छ ।

सुनसरी ४ मा मतगणना भइरहेको छ । सुनसरी ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता छ । कार्कीले २५ हजार ९ सय ४४ र उहाँका प्रतिस्पर्धी एमालेका जगदीशप्रसाद कुसियैतले २५ हजार ६ सय २२ मतसहित पछ्याइ रहनुभएको छ ।

दोलखा, स्याङ्जा र बाजुरामा भने विवादका कारण मतगणना नै शुरु भएको छैन । पछिल्लो पटक उदयपुर–१ मा नेपाली कांग्रेसका डा. नारायण खड्का विजयी हुनुभएको छ । उहाँले प्रतिस्पर्धी नेकपा एमालेकी मञ्जू चौधरीलाई २ हजार ३७९ मतान्तरले हराउनुभयो । खड्काले ३१ हजार २७० र चौधरीले २८ हजार ८९१ मत प्राप्त गर्नुभएको छ ।

यस्तै सुनसरी ३ मा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई हराएर नेकपा एमालेकी भगवती चौधरी विजयी हुनुभएको छ । पछिल्लो यो नतिजासँगै मतगणना सकिएका १ सय ६१ ठाउँमध्ये कांग्रेस ५४, एमाले ४४, माओवादी केन्द्र १७ र एकीकृत समाजवादी १० ठाउँमा विजयी भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपा ७/७ ठाउँमा विजयी भएका छन् । स्वतन्त्र उम्मेदवारले ५ ठाउँमा जितेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले ४ ठाउँमा जितेको छ । नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जितेको छ । जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक/एक ठाउँमा जितेका छन् ।

नेदरल्याण्ड्स समूह विजेता, कतार जितविहीन

काठमाडौँ । आयोजक कतारको पहिलो विश्वकप सहभागितालाई बिर्सनलायक बनाउँदै नेदरल्याण्ड्स फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह ए अन्तर्गत मंगलबार भएको अन्तिम खेलमा नेदरल्याण्ड्सले कतारलाई २-० ले पराजित गर्‍यो । दुई जित र एक बराबरीबाट ७ अंक जोड्दै नेदरल्याण्ड्स समूह विजेता बनेको छ । नेदरल्याण्ड्सलाई समूह चरणमा दोस्रो जित दिलाउन कोडी गाक्पो र फ्रेन्की डे जोङले गोल गरे ।

नेदरल्याण्ड्सले पहिलो खेलमा सेनेगललाई पराजित गरेको थियो भने दोस्रो खेल इक्वेडरसँग बराबरी खेलेको थियो ।

आयोजककै हैसियतमा विश्वकपमा डेब्यु गरेको कतारले भने समूह चरणको तीनवटै खेलमा पराजित भयो ।

यसअघि नै लगातार दुई खेल हारेपछि समूह चरणबाट बाहिरिसकेको कतारको अन्तिम खेललाई सुखद बनाउने चाहना पूरा हुन सकेन । कतार विश्वकपमा समूहको सबै तीन खेल हार्ने पहिलो आयोजकसमेत बन्यो ।

निर्णायक खेल जित्दै सेनेगल विश्वकपको अन्तिम १६ मा

काठमाडौँ । समूह ए को निर्णायक खेलमा इक्वेडरलाई २-१ पराजित गर्दै सेनेगल कतारमा जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

खालिफा इन्टरनेशनल स्टेडियममा भएको खेलमा सेनेगलका लागि इस्माइल सार र कप्तान कालिडोउ काउली बेलीले गोल गरे । इक्वेडरका माइकल साइसेडोले एक गोल गरेपनि पर्याप्त भएन ।

तीन खेलबाट दुई जित र १ हारको नतिजा निकालेको सेनेगल समूह ए को उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

एक जित एक बराबरी र एक हारबाट ४ अंक जोडेको इक्वेडर समूहमा तेस्रो हुँदै बाहिरियो ।

नकआउट चरणमा पुग्न इक्वेडरलाई सनेगल विरुद्ध बराबरी नतिजा नै पर्याप्त थियो । तर, सेनेगलका लागि भने जित्नैपर्ने बवश्यकता थियो । जित्नैपर्ने खेलमा इस्मायल सारले पेनाल्टीमा गोल गर्द ४४औं मिनेटमा सेनेगललाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा इक्वेडरले बराबरी गोल फर्काउँदै अन्तिम १६ मा पुग्ने सम्भावना कायम राखेको थियो । ६८औं मिनेटमा साइसेडोले गोल गर्दै खेल बराबरी गर्दा इक्वेडर अगाडि बढ्ने समिकरण बनेको थियो ।

तर, ७०औं मिनेटमा कोउलीबेलीले गोल गर्दै सेनेगललाई २-१ को अग्रता दिलाए ।

पहिलो खेलमै नेदरल्याण्ड्ससँग पराजित भएको सेनेगलले पुनरागमन गर्दै त्यसपछिका दुई खेलमा जित निकाल्यो । उता पहिलो खेलमा कतारलाई हराएर दोस्रो खेलमा नेदरल्याण्ड्सलाई बराबरीमा रोक्न सफल भएको इक्वेडर भने निर्णायक खेलमा पराजित हुँदै समूह चरणबाटै बाहिरियो ।

तेस्रो पटक विश्वकप खेलिरहेको सेनेगल दोस्रो पटक नकआउट चरणमा प्रवेश गरेको हो । सन् २००२ मा पहिलो सहभागितामै साविक विजेता फ्रान्सलाई हराएर सनसनी मच्चाएको सेनेगल क्वाटरफाइनलसम्म पुगेको थियो । २०१८ मा रुसमा भएको विश्वकपमा भने सेनेगल समूह चरणबाटै बाहिरिएको थियो ।

सेनेगलले अब अन्तिम १६ मा समूह बी को विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

जारी विश्वकपमा अन्तिम १६ मा पुग्ने सेनेगल पहिलो अफ्रिकन टिम बन्यो । अहिलेसम्म ब्राजिल, फ्रान्स, नेदरल्याण्ड्स र सेनेगलले नकआउट यात्रा तय गरेका छन् ।

 

इंग्ल्याण्ड समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । मार्कस राशफोर्ड प्रेरित इंग्ल्याण्ड टिम वेल्समाथि ३-० को सहज जितसहित समूह बी को विजेताका रुपमा फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । निरशाजनक प्रदर्शनसँगै वेल्स विश्वकपबाट बाहिरियो ।

नकआउट चरणमा पुग्नका लागि वेल्सले कि इंग्ल्याण्डलाई हराउनुपर्ने थियो वा इरान र अमेरिकाबीचको खेल बराबरीमा सकिनुपर्ने थियो । वा, सो खेलमा चार गोलको अन्तरमा जित हार हुनुपर्ने थियाे ।

खेलमा इंग्ल्याण्डले कुनै पनि समय दवावको सामना गर्नुपरेन । पहिलो हाफको तुलनामा दोस्रो हाफमा उनीहरु पूर्णतः हाबी थिए । क्वाटरफाइनल प्रवेशका लागि इंग्ल्याण्डले सेनेगलसँग खेल्नेछ ।

वेल्सका प्रशिक्षक रब पेजले आफ्ना सुपरस्टार ग्यारेथ बेललाई पहिलो हाफमै सब्स्टिच्युड गर्ने निर्णय लिए । किनभने ४५ मिनेटको अवधिमा यी स्टार खेलाडीले मात्र सातपल्ट बल छोएका थिए । तर, यो रणनीतिले पनि काम गरे । दोस्रो हाफ सुरु भएको ६ मिनेटभित्र इंग्ल्याण्डले २ गोल गरेको थियो ।

५०औं मिनेटमा वेल्सका एथन अम्पाडुले फिल फोडेनमाथि फल गरेपछि पाएको फ्रिकिकमा राशफोर्डले शानदार गोल गरी टिमलाई अग्रता दिलाए । त्यसको एक मिनेटपछि नै इंग्लिस टिममा आफ्नो पुनरागमन सार्थक पार्दै म्यानचेस्टर सिटीका मिडफिल्डर फोडेनले कप्तान ह्यारी केनको क्रस उपयोग गरी अर्को गोल गरे ।

लगातार दुई गोल वेल्सलाई निराश बनाउन काफी थियो । किनभने उनीहरुलाई थाहा थियो, यो खेलपछि घर फर्किनुपर्छ । वेल्सका गोलरक्षक वार्डको कमजोरीको फाइदा उठाउँदै ३८औं मिनेटमा राशफोर्डले व्यक्तिगत दोस्रो गोल गरेपछि इंग्ल्याण्डले सहज विजय पायो ।

संघीय सांसद् केसीबाट प्रशासनदेखि अस्पतालसम्मको सेवा सुधार्न निर्देशन

त्रिशूली । नुवाकोट क्षेत्र नं २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जिल्लाको विकासमा चासो देखाउनुभएको छ । यही मंसिर ४ को निर्वाचनमा नुवाकोट क्षेत्र नं २ बाट निर्वाचित भएका केसीले जनताको समस्याहरुबारे छलफल गरि आवश्यक निर्देशन समेत दिनुभएको हो । जिल्ला प्रशासन कार्यालय नुवाकोटका राष्ट्रसेवक कर्मचारीहरुलाई प्रशासन कार्यालयबाट हुने कामकारबाही प्रभावकारी बनाउन निर्देशन दिनुभएको उहाँको स्वकीय सचिव सरोज केसीले जानकारी दिनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आज आयोजित परिचयात्मक तथा छलफल कार्यक्रममा पूर्वमन्त्री समेत रहनुभएका संघीय सासद् केसीले प्रक्रिया पूरा गरेपनि नागरिकता प्राप्त गर्न नागरिकले सास्ती पाउँदै आएको भन्दै त्यसलाई हटाउन निर्देशन दिनुभएको छ । यस्तै राष्ट्रिय परिचयपत्र सहज रुपमा उपलब्ध गराउने तथा पालिकास्तरबाटै राष्ट्रिय परिचयपत्र भर्ने व्यवस्था मिलाउने बारेमा आवश्यक परामर्श गर्न निर्देशन दिनुभएको हो ।

यसैगरी, जिल्लाका विभिन्न स्थानमा वर्षाैँदेखि बिग्रिएको सडक मर्मतका लागि तुरुन्तै पहल सुरु गरेर कुन कामलाई के कति समय लाग्ने हो त्यसको कार्ययोजना बनाएर काम गर्नको लागी पूर्वाधार विकास कार्यालय, सडक डिभिजन नुवाकोट सहितको निकायलाई निर्देशन दिनुभएको छ ।

उहाँले मुआब्जा विवादका कारण स्तरोन्नति रोकिएको गल्छी–रसुवागढी सडक अन्तरगत पिपलटारदेखि ढुङ्गेुसम्मको स्तरोन्तीको लागी कानूनी समस्या नहुने गरेर अहिले भएका खाल्डाखुल्डी पुर्न, भत्किएका ढलनाली बनाउनको लागी काम सुरु गर्न निर्देशन दिनुभएको छ भने निर्माण व्यावसायीको कारण अलपत्र परेको बालाजु–रानीपौवाहुदै  पिपलटार आउने सडकको स्तरोन्नतीका लागि सम्बन्धित पक्षसँग छलफल र सुधारमा आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
यसैगरी, सासद् केसीले खेतीपातीको समयमा कृषकले मल नपाएको विषयमा जिल्लामा थप मल ल्याउनको लागी पहल गर्ने आश्वासन दिनुभएको छ भने त्यसका लागि सरकारीस्तरबाट आवश्यक प्रतिवेदन अघि बढाउनको लागी पनि भन्नुभएको छ ।

यस्तै नुवाकोटको त्रिशूली अस्पतालले सामान्य उपचार सेवा समेत नगरी काठमाडौं लगायत अन्य अस्पतालमा पठाउने गरेको गुनासोहरु नागरिकस्तरबाट आफूलाई आइरहेकाले उत्कृष्ट भनिएको अस्पतालको सेवा सुधारको लागी अस्पताललाई निर्देशन दिन र अस्पतालमा अभाव रहेको दरबन्दी, उपकरण लगायतका समस्या भएमा त्यसको लागी आफूले पहल गर्ने बताउनुभएको छ ।

उहाँले संसदीय राजनीतिमा यो आफ्नो अन्तिम पटकको प्रतिष्पर्धाबाट प्राप्त नतिजा भएकाले जनताको अभिमतलाई सम्मान गरेर जनताको सेवकको रुपमा सक्रिय रहने भएकाले कही कतै जनतार्लाइ जिल्लाका सरकारी सेवा प्रवाह, स्थानीयतह, प्रहरी–प्रशासन, सहित जनताको दैनिक जीवनसंग जोडिएका समस्यामा भएमा समेत यथार्थ बुझेर समाधानको लागी पहल गर्ने आश्वासन दिनुभएको छ ।

समानुपातिकतर्फ ९७ लाख मत गणना

काठमाडौ । प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म कूल९७,७१,६५७ मतगणना भएको छ ।

आज 2:00  बजेसम्मको गणन अनुसार नेकपा(एमाले)ले २६,३७,६५५ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले २४,९२,९१५ मत प्राप्त गरेको छ । 

मधेश प्रदेशमा एमाले पहिलो, कांग्रेस दोस्रो दल

जनकपुरधाम । मधेश प्रदेशका सबै क्षेत्रको मतगणना सम्पन्न भएको छ । अन्य क्षेत्रमा हिजो नै मतगणना सम्पन्न भए पनि आज बिहान धनुषा ४ र धनुषा—४(२) को अन्तिम नतिजा आएसँगै प्रत्यक्षतर्फ प्रतिनिधिसभाका ३२ र प्रदेशसभाका ६४ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको निर्वाचन आयोग मधेश प्रदेश कार्यालयले जनाएको छ । मतगणना सकिएसँगै नेकपा एमाले प्रतिनिधिसभाका लागि नौ र प्रदेशसभाका लागि १५ स्थानमा विजयी भएर पहिलो पार्टी बनेको छ ।

विसं २०७४ को निर्वाचनमा प्रतिनिधिसभामा धनुषा ४ र सर्लाही ३ मा सीमित भएको एमालेले यो पटक ती दुवै स्थानलाई सुरक्षित राख्दै थप सात स्थानसहित नौ सिट जितेको हो । प्रतिनिधिसभाका लागि एमालेले सिरहा—१, धनुषा–३, सर्लाही–३, बारा—१,पर्सा—३,सिरहा—३, बारा—३ र महोत्तरी—१लगायत क्षेत्रमा जितेको छ । अघिल्लो पटक प्रदेशसभामा १४ सिट जितेको उक्त दलेले एक सिट थप्दै सप्तरी–१(१), सिरहा—१(१), सिरहा—२(२), सिरहा ३(१), धनुषा—१(१),धनुषा—२(१), धनुषा—३(२), धनुषा—४(२), रौतहट—२(१), बारा—१(१), बारा ३(१), बारा—४(१), बारा—३(२), महोत्तरी १(१) र महोत्तरी ४(१) गरी १५ स्थानमा जितेको छ।

नेपाली कांग्रेसले प्रतिनिधिसभामा सात र प्रदेशसभामा १३ स्थानमा विजयी भएर दोस्रो पार्टी बनेको छ । उक्त दलले प्रतिनिधिसभातर्फ सप्तरी—३, धनुषा—२, रौतहट–४, पर्सा—२, पर्सा—४, सप्तरी—४ र महोत्तरी—४ मा जितेको छ । त्यसैगरी प्रदेशसभामा कांग्रेसले सप्तरी–३(१), धनुषा— ३(१), धनुषा—४(१), सर्लाही—२(१), सर्लाही—२(२), सर्लाही—४(१), रौटहट—१(१), रौटहट—१(२), रौतहट—३(२), पर्सा—२(१), पर्सा—३(२), पर्सा—४(१) र धनुषा १(१) मा जितेको छ । अघिल्लो पटक कांग्रेसले प्रतिनिधिसभामा छ र प्रदेशसभामा नौ सिट जितेको थियो ।

जनता समाजवादी पार्टी (जसपा)ले प्रतिनिधिसभामा छ र प्रदेशसभामा नौ सिट जितेर तेस्रो पार्टी बनेको छ । उक्त दलले प्रतिनिधिसभामा सप्तरी—१, सिरहा—४,पर्सा—१, बारा–२, सिरहा–२ र धनुषा १ मा जितेको छ ।

त्यसैगरी प्रदेशसभामा जसपाले धनुषा—२(२), पर्सा—१(२), पर्सा—४(२), बारा—१(२), रौतहट—४(२), सर्लाही—३(२), सिरहा—१(२), बारा—२(२) र महोत्तरी ४(२) मा जितेको छ। विसं २०७४को निर्वाचनमा सङ्घीय समाजवादी फोरमको रुपमा रहेको जसपाले प्रतिनिधिसभामा ९ र प्रदेशसभामा १९ सिट जितेको थियो ।
यहाँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रतिनिधिसभामा तीन र प्रदेशसभामा सात स्थान जित्दै चौथो पार्टी बनेको छ । प्रतिनिधिसभामा लोसपाले महोत्तरी–२, सर्लाही–१ र महोत्तरी—३ मा तथा प्रदेशसभामा पर्सा—२(२), महोत्तरी—२(१), महोत्तरी—३(१), महोत्तरी—३(२), सर्लाही—१(१), सिरहा—४(२) र बारा—४(२) मा जितेको छ ।

विसं २०७४ को निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) हुँदा लोसपाले प्रतिनिधिसभामा १० र प्रदेशसभामा १५ सिट जितेको थियो । पहिलो पटक चुनावी प्रतिस्पर्धामा गएको जनमत पार्टीले प्रतिनिधिसभामा एक र प्रदेशसभामा छ स्थान जितेको छ । प्रतिनिधिसभामा पार्टी अध्यक्ष डा सिके राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सप्तरी—२ मा पराजित गर्नुभयो । सो पार्टीले प्रदेशसभामा सप्तरी–१ (२), सप्तरी–२(१), सप्तरी–२(२), सप्तरी–३(२), सिरहा—४(१) र सिरहा—२(१) मा जितेको छ ।

त्यसैगरी स्वतन्त्र उम्मेदवारले प्रतिनिधिसभामा तीन र प्रदेशसभा छ सिट जितेका छन् । प्रतिनिधिसभातर्फ सर्लाही—४,रौतहट—२ र रौतहट—३ मा स्वतन्त्र उम्मेदवारले जितेका हुन् यसैगरी प्रदेशसभातर्फ स्वतन्त्र उम्मेदवारले पर्सा—३ (१), बारा—२(१), महोत्तरी—२(२), रौतहट—३(१), सर्लाही—३(१) र सप्तरी—४(२) मा जितेका हुन् ।

नेकपा माओवादी केन्द्र भने २०७४ को तुलनामा कमजोर देखिएको छ । अघिल्लो निर्वाचनमा माओवादीले प्रतिनिधिसभामा पाँच सिट जितेकामा यसपटक एक र प्रदेशसभामा छ स्थान जितेकोमा यसपटक चार स्थानमा मात्रै चुनाव जितेको छ ।

प्रतिनिधिसभामा सर्लाही निर्वाचन क्षेत्र नं २ मा उक्त पार्टीको चुनाव चिन्हबाट महेन्द्रराय यादव निर्वाचित हुनुभएको छ । प्रदेशमा माओवादीले सर्लाही—४(२), महोत्तरी—१(२), रौतहट—४(१) र पर्सा—१(१) बाट मात्र जितेको छ । एमाले विभाजनपछि प्रतिनिधिसभा र प्रदेशसभाका लागि पहिलो पटक चुनावमा गएको नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रतिनिधिसभाका लागि रौतहट—१ र बाराबाट दुई सिट र प्रदेशसभामा रौतहट—२(२), सर्लाही—१(२), सिरहा—३(२) र सप्तरी—४(१) गरी चार सिट जितेको छ ।

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.