विनियोजन विधेयक राष्ट्रिय सभामा पेस, बिहीवारदेखि छलफल सुरु हुने

अशोज ५, २०७८ मा प्रकाशित
Published at 2021-09-21

104 views

काठमाडौँ । नेकपा एमालेका सदस्यको विरोधकै बीच विनियोजन विधेयक अर्थात् आर्थिक वर्ष २०७८/०७९ को बजेट राष्ट्रिय सभामा पेस भएको छ ।

प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले पक्षपातपूर्ण व्यवहार गरेर पार्टी फुटाउने षड्यन्त्र गरेको र एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै एमालेका राष्ट्रिय सभा सदस्यहरू आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए । तर राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्थ मन्त्री जनार्दन शर्मालाई विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न अनुमति दिनुभएको हो । त्यसपछि सभामा निर्णयार्थ पेस गरिएको प्रस्ताव बहुमतले पारित भएको हो ।

अब विधेयकमाथि पर्सि बिहीवार ७ गतेदेखि छलफल हुनेछ । विनियोजन विधेयक हिजो साेमवार प्रतिनिधि सभाबाट पारित भएको थियो । प्रतिनिधि सभाबाट पनि एमालेको नाराबाजी र होहल्लाकै बीचमा विनियोजन विधेयक पारित भएको थियो । राष्ट्रपतिले प्रमाणित गरेपछि बल्ल सरकारले खर्च गर्न पाउनेछ ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट अस्वीकार गर्दै अर्थ मन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गर्नुभएको थियो ।

ओली सरकारले कार्यकर्तालाई बाँड्ने हिसाबले राखेका कार्यक्रम र अन्य विकृति हटाएर नयाँ र जनमुखी बजेट ल्याइएको अर्थ मन्त्री शर्माको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.