रसुवा भन्सारमा लक्ष्यको आधा पनि राजस्व सङ्कलन भएन

साउन १, २०७८ मा प्रकाशित
Published at 2021-07-16

40 views

धुञ्चे । आर्थिक वर्ष २०७७/०७८ मा रसुवा भन्सारमा लक्ष्यको आधा पनि राजस्व सङ्कलन हुन नसकेको पाइएको छ । अघिल्लो आर्थिक वर्ष साउनदेखि असार मसान्तसम्म लक्ष्यको तुलनामा ४८ दशमलव ९ प्रतिशत मात्र राजस्व सङ्कलन भएको छ ।

सात अर्ब ५४ करोड २७ लाख ९३ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा तीन अर्ब २४ करोड ३३ लाख २२ हजार रुपैयाँ मात्र राजस्व उठेको कार्यालयले जनाएको छ । कोरोना महामारीका कारण रसुवागढी नाकाबाट आयात तथा निर्यातमा कडाइ गरिएसँगै राजस्व सङ्कलन प्रभावित बनेको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताउनुभयो ।

‘कोरोनाका कारण चीनबाट सामग्रीको आयात घटेको छ’, उहाँले भन्नुभयो, ‘हाम्रो राजस्व सङ्कलनमा वृद्धि हुन सकेन ।’ २०७६ माघयता नाकाबाट आयात निकै कम भएको उहाँको भनाइ छ ।

२०७६ माघ १५ गतेदेखि २०७७ जेठ तेस्रो हप्तासम्म नाका बन्द गरिएको थियो । अहिले एकतर्फी रूपमा सञ्चालन भइरहेको नाकाबाट दैनिक आठ वटा चिनियाँ गाडीले सामग्री आयात गरिरहेका छन् । कोभिड–१९ का कारण नाकामा आयात सहज नभएको, निर्यात ठप्प भएको र पटक–पटक नाका बन्द हुँदा राजस्व सङ्कलन पनि प्रभावित भएको हो ।

कार्यालयले आर्थिक वर्ष २०७२/०७३ मा ७४ करोड ३३ लाख २६ हजार, २०७३/०७४ मा दुई अर्ब ९२ करोड १८ लाख दुई हजार, २०७४/०७५ मा चार अर्ब ५९ करोड २३ लाख १९ हजार, २०७५/०७६ मा १० अर्ब ६० करोड २४ लाख १९ हजार र गएकाे आर्थिक वर्ष २०७६/०७७ मा आठ अर्ब २७ लाख ७७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

चीनबाट रेडिमेड, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, टेलिकमका सामग्री र फलफूललगायत आयात हुँदै आएको छ । त्यसैगरी नेपालबाट बाँसको मुढा, काठको टेबल, अम्रिसोको कुचोलगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ । तर कोभिड–१९ का कारण निर्यात लामो समयदेखि ठप्प छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.