मान्छेको दुध संकलन केन्द्र स्थापना गरिने

साउन १७, २०७८ मा प्रकाशित
Published at 2021-08-01

104 views

काठमाडौ । सरकारले ‘ह्युमन मिल्क बैंक’ (मान्छेको दुध संकलन केन्द्र) स्थापना गर्नेभएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले आज आइतवार पत्रकार सम्मेलन गरी काठमाण्डाैकाे थापाथलीमा रहेकाे परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा ह्युमन मिल्क बैंक स्थापना गर्ने तयारी गरिएको जानकारी गराएको हो ।

जन्मिएदेखि ६ महिनासम्मका शिशुलाई अनिवार्य रूपमा आमाको दूध मात्रै खुवाउनुपर्ने भएकाले प्रशस्त दूध आउने आमाको दूध संरक्षण गरेर राख्न याे बैंक स्थापना गर्न लागिएको महाशाखाका पोषण शाखा प्रमुख केदारराज पराजुलीले जानकारी दिनुभयो ।

‘कम दूध आउने आमाका शिशुलाई चिकित्सकहरूको सल्लाहमा आमाकै दूधको व्यवस्था गर्न सरकारले ह्युमन मिल्क बैंक स्थापना गर्ने तयारी गरेको हो’, ‘विश्व स्तनपान सप्ताहको शुभारम्भ कार्यक्रमको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो, ‘जुन आमाको दूध तत्काल आउँदैैन वा कमी छ, त्यस्ता बच्चालाई याे बैंकमा राखिएको दूधको व्यवस्था गर्नेछौँ । याे बैंक यसै वर्ष काठमाण्डाैकाे परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा स्थापना गरिनेछ ।’

थापाथली अस्पतालमा शिशुका लागि 'ह्युमन मिल्क बैंक' राखिँदै (भिडियो) – Nepal  Press

शाखाले याे बैंकमा दूध राख्नका लागि झन्डै एक करोड रुपैयाँको मेशिन खरिद गर्ने तयारी गरिएको पनि जनाएको छ । कार्यक्रममा आमाको दूधलाई विस्थापित गर्ने गरी आएको ‘ल्याक्टोजिन’ को विज्ञापन नगर्न/नगराउन पनि सम्बन्धित सबै पक्षलाई सचेत गराएको छ । शाखाका प्रमुख पराजुलीले ल्याक्टोजिनको विज्ञापन गरेको पाइए कडा कारबाही गर्ने चेतावनीसमेत दिनुभयो । ‘ल्याक्टोजिनको विज्ञापन कहीँ भएको पाइए कडा कारबाही हुन्छ’, उहाँले भन्नुभयाे ।

आजदेखि सुरु भएको विश्व स्तनपान सप्ताह साउन २३ गतेसम्म चल्नेछ । 'हामी सबैको साझा जिम्मेवारी, स्तनपान संरक्षण हुन्छ प्रभावकारी' भन्ने मूल नाराका साथ मनाउन सुरु गरिएको याे सप्ताहमा सबै पालिकामा समेत जनचेतनामूलक कार्यक्रम आयोजना हुने व्यवस्था मिलाइएको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले स्पष्ट पारेको छ ।

शिशु जन्मेको ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनुपर्ने र त्यसभन्दा माथि उमेर पुगेपछि अन्य थप पोषणको पनि व्यवस्था गर्न याे सप्ताह मनाउने कामलाई जोड दिइएको पाेषण शाखाका प्रमुख पराजुलीले बताउनुभयो । स्तनपान संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यले सन् १९९२ देखि हरेक वर्ष विश्वभर विश्व स्तनपान सप्ताह मनाउँदै आइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.