भारतीय यात्रुबाहक गाडीलाई नेपाल प्रवेशको अनुमति

अशोज १५, २०७८ मा प्रकाशित
Published at 2021-10-01

250 views

काठमाडौँ । डेढ वर्षपछि सरकारले यात्रुसहितको भारतीय नम्बर प्लेटको सवारी साधनलाई नेपाल प्रवेशका लागि अनुमति दिएको छ । कोरोना महामारीका कारण सरकारले भारतीय नम्बर प्लेटको गाडीलाई २०७६ चैत्र १० गतेदेखि नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।

मन्त्रिपरिषद्को निर्णयपछि शुक्रबारदेखि भारतीय नम्बर प्लेटको निजी सवारी साधनहरुलाई यात्रुसहित नेपाल प्रवेश दिइएको भन्सार कार्यालयहरुले जनाएका छन् ।

विभागका निर्देशक एवम् सूचना अधिकारी पुण्यबिक्रम खड्काका अनुसार नजिकको सहरसम्म सुविधामा र नेपालभरका लागि भन्सार काटेर भारतीय यात्रुबाहक सवारी साधनलाई नेपाल प्रवेश खुला गरिएको बताए । ‘हामीले बिहीबार सबै भन्सारलाई परिपत्र गरिसकेका छौं । शुक्रबारदेखि यात्रु बोकेका वा नबोकेका भारतीय निजी सवारी साधन अब शर्तसहित नेपाल आउन सक्नेछन्’ खड्काले  भने । यात्रुहरुको नेपाल प्रवेशलाई सरकारले तोकेको कोभिड प्रोटकेकल (सावधानी शर्त) भने अनिवार्य गरिएको छ ।

माथिल्लो निकायको आदेशपछि शुक्रबार बिहानैदेखि यात्रुसहित भारतीय निजी सवारी साधन नेपाल प्रवेश खुला भएको मेचीनगर भन्सार कार्यालयका प्रमुख ध्रुब विश्वकर्माले बताए । ‘दुई देशबीचको सहमतिअनुसार सीमाबाट नजिकको बजारसम्म पहुँच सुविधाअनुसार र त्योभन्दा टाढा भने भन्सार काटेर भारतीय गाडी यात्रुसहित आजबाट जान सक्नेछन्’ भन्सार प्रमुख विश्वकर्माले भने । नाका खुलेको पहिलो दिन मध्यान्न १२ बजेसम्ममा कुनै पनि त्यस्ता सवारी साधन नआएको उनले बताए ।

यता रुपन्देहीको भैरहवा भन्सार कार्यालयले पनि शुक्रबारदेखि भारतीय गाडीका लागि नाका खुलेको जनाएको छ । कोरोना प्रोटकल पालना गरेर यात्रु बोकेका भारतीय नम्बर प्लेटका जिप, कार, मोटरसाइकल जस्ता सवारी साधन नेपाल प्रवेश गर्न सक्ने भैरहवा भन्सारका प्रमुख मनिराम पौडेलले बताए ।

नाका खुलेपछि भैरहवा भन्सारबाट सवारी साधन नेपाल प्रवेश शुरु भएको भन्सारका सूचना अधिकारी तीर्थराज पासवानले बताए । उनकाअनुसार एकै दिनमा फर्किने गरी बिना शुल्क नजिकको बजारसम्म भारतीय गाडी जान सक्नेछन् । यस्तै बढीमा ७ दिनका लागि एक पटकमा कारको लागि पाँच सय, मोटरसाइकलको लागि १५० र टेलरसहितको ट्याक्टरका लागि ७५० रुपैयाँ भन्सार काट्नु पर्ने सूचना अधिकारी पासवानले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.