पासाङल्हामु राजमार्गमा जोखिम बढ्यो

अशोज २१, २०७८ मा प्रकाशित
Published at 2021-10-07

618 views

रसुवा । ठूलोे ढुंगा लच्किएका कारण उत्तरी रसुवास्थित याङयाङ खोलाको पासाङल्हामु राजमार्गमा जोखिम बढ्दै गएको छ । कुनातर्फ रहेको एक विशाल ढुंगाले माटोको भाग समेत केही मात्रामा छोडी राजमार्ग सतहतर्फ दब्बिन थालेका कारण जोखिम बढेको हो ।

सदरमुकाम धुञ्चेबाट करिब १३ किलोमिटर उत्तरमा अवस्थित उक्त याङयाङ खोलाबाट मालबाहकलगायत दैनिक दर्जनौँ सवारीसाधन ओेहोरदोहोर गर्दै आएका छन् । ढुंगा लड्ने सम्भावना बढ्दै गएकाले मानवीय क्षति हुन्छ कि भन्ने जनमानसमा त्रास समेत बढ्न थालेको छ ।

गोसाइँकुण्ड गाउँपालिका–५ मा पर्ने उक्त स्थानमा पुग्नासाथ ढुंगा पल्टिन्छ कि भन्ने डरले  गाडीको गतिलाई तीव्र रूपमा अगाडि बढाउने गरेको र आफूले रसुवागढीदेखि काठमाडौंसम्म नियमित सवारीसाधन चलाइरहेको चालक सुरेश श्रेष्ठले बताए । आफूले सवारी साधन गुडाउँदा ढुंगाको अवस्था हेर्ने गरेको र १०-१५ दिनको अवधिमा झण्डै एक मिटर लच्किन गई ढुंगा बसेको सतह भागमा चिराचिरा भइसकेको उनले बताए ।

नेपाल–चीनबीचको व्यापार व्यवसाय अभिवृद्वि गर्ने प्रमुख मार्गमा बढेको जोखिम न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समिति रसुवाले गृह मन्त्रालयमा पत्राचार गरिसकेको छ । राजमार्गको जोखिम व्यवस्थापन गरी जटिल समस्या समाधान गर्न गृह मन्त्रालय मार्फत भूगर्भविद्ले छिट्टै अध्ययन गर्नेमा आफू आशावादी रहेको रसुवाका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गा थापाले बताए ।

उक्त ढुंगा कुनबेला पल्टिन्छ भन्ने ठेगान छैन । ढुंगा पल्टिँदा मानवीय क्षति हुन सक्छ भनेर सर्वसाधारण त्रसित छन् । भिरालो भूभागको राजमार्गमा क्षति भएमा मालबाहक सवारीसाधन रोकिन गई भन्सार शुल्कबाट प्राप्त हुने नियमित राजस्व असुली समेत प्रवाभित हुने देखिएको भन्सार कार्यालयले जनाएको छ ।

ढुंगाभन्दा करिब पाँच सय मिटरको उत्तरतर्फ २०६० सालदेखि भूमिगत रूपले सञ्चालित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्र रहेको छ । ढुंगा झरेर भोटेकोशी थुनिएमा चिलिमे विद्युत केन्द्रले निकास लिइरहेको पानी प्रवाहमा असर पुर्‍याउन सक्ने भएकाले सो ढुंगालाई समयमै व्यवस्थापन गर्न जरूरी रहेको विद्युत क्षेत्रसँग सम्बन्धित प्राविधिकले जनाएका छन् ।

नेपाल–चीन बीचको व्यापार व्यवसाय अभिवृद्वि गर्ने मुख्य अन्तर्राष्ट्रिय राजमार्गको समस्या छिटोभन्दा छिटो समाधान गरिदिन नेपाली कांग्रेस रसुवाका सभापति पेम्वाछिरिङ तामाङले आग्रह गरेका छन् । सडक सुधार आयोजनाका प्रमुख नारायणदत्त भण्डारीका अनुसार सो ढुंगाको नियमित अध्ययन गर्न एक प्राविधिक स्याफ्रुबेंसीमा तैनाथ गरिएको र सडक सुधार आयोजनाको क्षेत्रभित्र पर्ने भएकाले कुन तरिकाले फुटाउने भन्ने विषयमा प्राविधिक अध्ययन समेत भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.