पार्टीको सम्पर्कमा आइन् लुम्बिनीकी सांसद पुर्मती

साउन ११, २०७८ मा प्रकाशित
Published at 2021-07-26

85 views

बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य पुर्मती ढेंगामगर पार्टीको सम्पर्कमा आएकी छन् । केही दिनदेखि कपिलवस्तुको तौलिहवास्थित एक होटलमा पार्टीको निगरानीमा बस्दै आएकी उनी आइतबार बिहान साढे ११ बजेदेखि पार्टीसँग सम्पर्कविहीन भएकी थिइन् ।

उनी सम्पर्कविहीन भएपछि जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश समितिका मुख्य सचिव यज्ञ पोखरेलले इलाका प्रहरी कार्यालयमा खोजी गरिदिन निवेदन दिएका थिए । सोमबार बिहान ९ बजेतिर पोखरेलले गरेको फोन सांसद ढेंगाले रिसिभ गरेर आफू पार्टीमै रहेको जानकारी गराएकी छन् ।

ढेंगाले आफू निकै तनावमा भएकाले पार्टी नेताहरुको फोन रिसिभ नगरेको जानकारी गराएको पोखरेलले बताए । ‘आइतबार दिउँसोदेखि दर्जनौंपटक फोन र म्यासेज गरेका थियौं, तर रिसिभ नभएपछि अपहरणको आशंकामा प्रहरीमा खोजीका लागि निवेदन दिएका थियौं,’ पोखरेलले भने, ‘आज बिहान ९ बजेतिर मात्रै मेरो कल रिसिभ गर्नुभयो र म घरमै छु भन्नुभयो ।’

सांसद ढेंगाले घरमै छु भने पनि पार्टीका नेताहरु घर पुग्दा उनी रुपन्देहीको तिलोत्तमा महुबारीस्थित घरमा भने नरहेको नेता पोखरेलले जानकारी दिए । ‘उहाँले म निक्कै तनावमा छु, फोनमा धेरै कुरा नगरौं भन्नुभएकाले हामीले भेटेर कुरा गर्न उहाँलाई खोजी गरिरहेका छौं,’ पोखरेलले भने ।

पाल्पाबाट समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य भएकी ढेंगा विगतमा काठमाडौंमा होटल र वैदेशिक रोजगार व्यवसाय गर्ने गर्दथिन् । पार्टी स्रोतका अनुसार व्यवसाय गर्दाको ऋणका कारण पनि उनी तनावमा छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.