त्रिशूली । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटको आयोजनामा १५० जना सवारी चालकको निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
ट्राफिक प्रहरी कार्यालय नुवाकोटको आयोजनामा सापकोटा मेडिकल हल तथा पोलिक्लिनिक र पूजा चस्मा पसलको प्राबिधिक सहयोगमा सवारी चालक तथा सह-चालकलाई लक्षित गरी आयोजना गरेको स्वास्थ्य परीक्षण शिविरमा १ सय ५० जना चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गरिएको हो ।
नुवाकोटको बिदुर नगरपािलका वडा नं २ बिदुरस्थित ट्राफिक प्रहरी कार्यालय भवन अगाडी स्वास्थ्य परीक्षण तथा परामर्श शिविर संचालन गरेर चालक र सहचालकको स्वास्थ्य परीक्षण गर्नुका साथै उनीहरुलाई विभिन्न प्रकारका रोगबाट बच्न परामर्श दिईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख, वरिष्ठ प्रहरी नायब निरीक्षक गुणनिधी खकुरेलले बताउनुभएको छ ।
परीक्षणका क्रममा जाँच गराउन आएका ब्यक्तिहरुमा उच्च रक्तचाप र आँखामा समस्या देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । लामो तथा छोटो दुरीका सवारी चालकहरुलाई समय अभावका कारण नियमित स्वास्थ्य परीक्षणमा समस्या देखिरहेको समयमा ट्राफिक प्रहरी आफैले निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दा उनीहरुलाई प्रत्यक्ष लाभान्बित भएका छन् ।
तस्वीर सौजन्य : जिल्ला ट्राफिक प्रहरी कार्यालय, नुवाकोट ।




रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ गोसाइँकुण्ड तीर्थबाट घर फर्कनेक्रममा लेक लागेर बेहोस भएका तीन जनाको सकुशल उद्धार गरिएको छ ।
मेला सकेर घर फर्कने क्रममा हिजो लेक लागेर बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो ।
नुवाकोट ककनी गाउँपालिका–८ बस्ने ४५ वर्षीय नारायण भण्डारी, विदुर नगरपालिका–११ बस्ने २० वर्षीया साधना प्याकुरेल र धादिङको निलकण्ठ नगरपालिका–३ बस्ने १० वर्षीय निर्जीव दुवाडीको उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म रसुवाबाट गएको टोलीले उनीहरुलाई पिठ्यूँमा बोकी धुन्चे अस्पताल ल्याउने क्रममा उनीहरुको स्वास्थ्यमा सुधार आएको र पछि आफन्तको जिम्मा लगाएर पठाइएको थियो । जनैपूर्णिमा पर्वका अवसरमा स्नानका लागि पवित्र तीर्थ रसुवाको गोसाइँकुण्ड पुगेका भक्तजन फर्कन थालेका छन् ।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक झलक शर्मा पौडेलका अनुसार गोसाइँकुण्ड गएका केही सामान्य बिरामी भएका थिए । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डीएमका अनुसार यसवर्ष झण्डै १० हजार भक्तजनले गोसाइँकुण्ड दहमा स्नान तथा पूजा आराधना गरी गन्तव्यतर्फ फर्किन थालेका हुन् ।
काठमाडौँ । नेपाली कांग्रेसको निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान सरेको छ ।
भदौ २ गतेदेखि २४ गतेसम्मका लागि तय भएको अभियान ८ दिन छोट्याएर १० गतेलाई सारिएको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान बसेको बैठकले अभियानलाई छोट्याएर केही दिन पछि सार्ने निर्णय गरेको हो ।
१० गतेदेखि सुरु भए पनि अभियान २४ गते नै सकिनेछ ।
भदौ महिनामै पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएकोले निर्वाचित केन्द्रित कार्यक्रमलाई छोट्याइएको हो ।
कांग्रेसका जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रम ३० र ३१ गते हुँदैछ ।
काठमाडौँ । घरेलु टोली वेस्टइन्डिजसँगको तीन खेलको टी–२० क्रिकेट शृङ्खला न्युजिल्यान्डले एक खेल अगाडि नै जितेको छ ।
दोस्रो टी–२० मा वेस्टइन्डिजलाई ९० रनले हराउँदै न्युजिल्यान्डले शृङ्खला २–० ले जितेको हो ।
जितका लागि २ सय १६ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २५ रन मात्रै बनायो । वेस्टइन्डिजका ओबेद म्याककोय सर्वाधिक २३ रनमा अविजित रहे । न्युजिल्यान्डका मिचेल सान्टनार र माइकल ब्रेसवेलले ३/३ विकेट लिए ।
टिम साउथी र इश सोधीले एक/एक विकेट लिए । त्यसअघि सविना पार्कमा टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय १५ रन बनाएको थियो । न्युजिल्यान्डका ग्लेन फिलिप्सले सर्वाधिक ७६ रन बनाए ।
वेस्टइन्डिजका ओबेद म्याकोयले ३ विकेट लिए । रोमारियो शेफर्ड र ओडेन स्मिथले एक/एक विकेट लिए । पहिलो खेलमा न्युजिल्यान्ड १३ रनले विजयी भएको थियो । तेस्रो खेल आइतवार हुनेछ । त्यसपछि यी दुई देशबीच तीन खेलको एकदिवसीय शृङ्खला हुनेछ ।
काठमाडौँ । महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका–८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया सङ्गीता टमटा रहेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
शुक्रबार दिउँसो एक बजे नहाउने क्रममा महाकाली नदीस्थित नगतडीबाट बेपत्ता भएका भए पनि प्रहरी र प्रशासनलाई भने बेलुका खबर गरिएको जनाइएको छ ।
किशोरी बेपत्ता भएका खबर पाउनासाथ सुरक्षा निकाय परिचालन गरिएको छ । घटनाबारे बुझ्नका लागि सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीसमेत घटनास्थलतर्फ गएका छन् ।
काठमाडौँ । विश्व प्रसिद्ध उपन्यासकार सलमान रुस्दीमाथि आक्रमण भएको छ ।
अमेरिकाको न्युयोर्कमा एक कार्यक्रममा मञ्चमा बसिरहेका बेला रुस्दीलाई छुरा प्रहार गरिएको हो । उहाँको घाँटीमा छुरा हानिएको न्युयोर्क प्रहरीलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
रुस्दीलाई हेलिकप्टरबाट तत्कालै नजिकैको अस्पतालमा लगिएको छ । उहाँको भेन्टिलेटरमा उपचार चलिरहेको र बोल्न नसक्ने अवस्था रहेको अस्पताललाई उद्धृत गरी बीबीसीले जनाएको छ । आक्रमणकारीलाई प्रहरीले पक्राउ परेको छ ।
भारतमा जन्मिएका उपन्यासकार रुस्दी सन् १९८१ मा प्रकाशित कृति ‘मिडनाइट चिल्ड्रेन’बाट चर्चित हुनुभएको हो । ७५ वर्षीय रुस्दीले अहिलेसम्म चार वटा पुस्तक लेख्नुभएको छ । सन् १९८८ मा लेखेको ‘द सटानिक भर्सेस’का कारण उहाँ नौ वर्षसम्म भूमिगत हुनुपरेको थियो ।
पुस्तक प्रकाशित भएको एक वर्षपछि इरानका तत्कालीन सर्वोच्च नेता अयोतोल्लाह रुहोल्लाह खोमिनीले रुस्दीको हत्या गर्न आह्वान गरी उहाँको टाउकाेको मूल्य ३० लाख अमेरिकी डलर तोकिएको थियो।
काठमाडौँ । मिटरब्याजी पीडितहरुले सरकारी कार्यदलमा आफूहरुको पनि प्रतिनिधित्व हुनुपर्ने माग गरेका छन् ।
सरकारले माग पूरा गर्न भन्दै कार्यदल गठन गरे पनि आफूहरु विश्वस्त हुन नसकेको उनीहरुको भनाइ छ । यसअघि पनि सरकारले माग पूरा गर्ने आश्वासन दिएको, तर पूरा नभएको भन्दै अब त्यत्तिकै घर नफर्कने उनीहरुले अडान लिएका छन् ।
काठमाण्डौमा धर्ना बसेका नवलपरासीका मिटरब्याजी पीडितहरुसँग सरकारी कार्यदलले हिजो वार्ता गरेको थियो । कार्यदलले प्रमाण सङ्कलन र अनुसन्धान अगाडि बढाउने आश्वासन दिँदै घर फर्किन आग्रह गरे पनि पीडितहरूले यसअघि पनि सरकारसँग सम्झौता गरेर फर्किँदा धोका भएको भन्दै अहिले त्यतिकै घर नफर्किने अडान लिएका हुन् ।
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्यासँग खेल्ने ५ खेलको टी–२० र ३ खेलको एकदिवसीय शृङ्खलाको तालिका सार्वजनिक भएको छ ।
नेपाल र केन्याबीच सुरुमा ५ खेलको टी–२० र त्यसपछि एकदिवसीय खेल हुनेछ ।
शृङ्खलाका लागि नेपाली टोली भदौ ७ मा केन्या पुग्ने तालिका रहेको छ । ५ खेलको टी–२० शृङ्खला भदौ ९ गतेदेखि १४ गतेसम्म हुनेछ । त्यस्तै ३ खेलको एकदिवसीय शृङ्खला भदौ १७ देखि २० गतेसम्म हुनेछ । यी खेल नैरोबीमा रहेकाे जिमखाना मैदानमा हुनेछन् ।
यसैबीच राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक भारतीय पूर्व क्रिकेटर मनोज प्रभाकर आज नेपाल आउँदैछन् । उनी बेलुका काठमाण्डौ आइपुग्ने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।
काठमाडौँ । आज देशभरको मौसम बदली रहेको छ । आज, भोलि र पर्सि मौसम बदली रही धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज वाग्मती र कर्णाली प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले मनसुन न्यून चापीय रेखा नेपालको तराई पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिणमा रहेको छ ।
मनसुन सुरु भएपछि अहिलेसम्म देशका धेरै ठाउँमा सरदर वर्षा भएको छ । यो वर्ष जेठ १८ देखि साउन २६ अर्थात् जुन १ देखि अगष्ट ११ सम्म ८ सय ५८ दशमलव पाँच मिलिमिटर वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार अहिलेसम्म विशेषगरी देशका पहाडी भेगमा बढी वर्षा भएको तथा तुलनात्मक रूपमा तराई क्षेत्रमा कम वर्षा भएको छ ।
प्रदेश-१, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा सरदरभन्दा बढी वर्षा भएको छ । तर मधेस प्रदेश र लुम्बिनी प्रदेशका धेरैजसो भू–भागमा सरदर भन्दा कम वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा धेरै वर्षा हुने यसअघि नै प्रक्षेपण गरेको थियो।
विभागको हावापानी शाखाका मौसमविद् सुदर्शन हुमागाईँका अनुसार यो वर्षको मनसुनको औसत सरदर वर्षा १ हजार ४ सय ६२ मिलिमिटर हुने प्रक्षेपण छ । मनसुन अवधिमा १ हजार ५ सय मिलिमिटर हाराहारी वर्षा हुनेगर्छ । अझै दुई महिना वर्षा हुने भएकाले बढी वर्षा हुने आकलन गरिएको उहाँको भनाइ छ ।
नेपालमा यो वर्ष गएको जेठ २२ गतेदेखि मनसुन प्रवेश गरेको थियो । जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली क्षेत्रमा मनसुनको अवधि मानिन्छ।
काठमाडौँ । नेपालमा एक वर्षको अवधिमा ८ लाख करदाता थपिएका छन् । अर्थ मन्त्रालयको तथ्यांक अनुसार स्थायी लेखा नम्बर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कमा दर्ता हुने करदाता आर्थिक वर्ष २०७८/७९ को एक वर्षको अवधिमा ८ लाख ४ हजार ४१५ ले थप भएको हो ।
अर्थ मन्त्रालयका अनुसार २०७८ असार मसान्तसम्म नेपालमा ४४ लाख ६१ हजार २७ करदाता रहेका थिए । यो संख्या २०७९ असार मसान्तसम्म आइपुग्दा ५२ लाख ६५ हजार ४४२ रहेको मन्त्रालयको तथ्यांकले देखाएको छ । नेपालमा सबैभन्दा धेरै करदाता स्थायी लेखा नम्बर लिनेहरु छन् ।
सरकारले व्यावसायिक स्थायी लेखा नम्बर र व्यक्तिगत स्थायी लेखा नम्बर बढी वितरण गरेको पाइएको छ । करकट्टी गर्ने निकायले लिनु पर्ने स्थायी लेखा नम्बरमा समेत वृद्धि भएको छ ।
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले साफ यू–१७ च्याम्पियनशिप र एएफसी यू–१७ एशियन कप छनोटका लागि प्रशिक्षणमा रहेका १५ जना खेलाडी बाहिरिएका जनाएको छ ।
बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडी मध्येबाट १५ जना बाहिरिएका एन्फाले जनाएको हो । अब प्रशिक्षणमा ३० जना खेलाडी रहेका छन् । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले सम्हालेको टोलीबाट शुक्रवार बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट १५ खेलाडी बाहिरिएको एन्फाले बताएको छ ।
यससँगै अब यू–१७ को बन्द प्रशिक्षणमा ३० जना खेलाडीमात्र रहेका छन् । श्रीलङ्कामा सेप्टेम्बर ५ मा आयोजना हुने साफ यू–१७ च्याम्पियनशिपमा नेपाल समूह बी मा रहेको छ । नेपाल रहेको समूहमा भारत र भुटान रहेका छन् भने समूह ए मा आयोजक श्रीलङ्का, बङ्गलादेश र माल्दिभ्स छन् ।
यस्तै यू–१७ को अर्को प्रतियोगिता एशियन कप छनोट अक्टोबर १ देखि ९ सम्म हुँदैछ । त्यसका लागि पनि यही टोलीले सहभागिता जनाउने तालिका रहेको छ । छनोट खेल भियतनाममा आयोजना हुँदैछ ।
काठमाडौँ । पछिल्लो २४ घण्टामा सात सय ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार सात सय १२ जनाको नमुना परीक्षण गर्दा सात सय ८१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा पाँच सय ११ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ । अहिले नेपालमा पाँच हजार सात सय ७५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा २३ हजार आठ सय एक जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।