चुनाव प्रचारका क्रममा अरु दलको झण्डा प्रयोग नगर्न आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले सम्बन्धित दल तथा दलका उम्मेदवार बाहेक अन्य उम्मेदवारहरुले अरु दलको झण्डा प्रयोग गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गठबन्धन गरेर चुनावमा गएका दल तथा केही स्वतन्त्र उम्मेदवारले समेत अन्य दलको झण्डा प्रयोग गरेका दृष्य विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जाल मार्फत देखिएको भन्दै आयोगले उम्मेदवारसँग सम्बन्धित दलका झण्डा मात्रै प्रयोग गर्न निर्देशन दिएको छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ ले राजनीतिक दलको झण्डा तथा चिन्ह अरु कसैले प्रयोग गर्न नपाउने व्यवस्था गरेको भन्दै आयोगले फरक दलको झण्डा बोकेर मतदातालाई भ्रमित नपार्न आग्रह गरेको छ ।

प्रचार प्रसारको क्रममा एउटा उम्मेदवारले अर्कै दलको झण्डा र चिन्ह प्रयोग गरेमा मतदातालाई भ्रम सिर्जना हुने भएकाले यस्ता क्रियाकलापलाई आचारसंहिता उल्लङ्घन गरेको मानी कानून बमोजिम कारवाही तथा सजाय हुने आयोगले चेतावनी दिएको छ । अहिले दलहरुले चुनावी गठबन्धनको नाममा फरक दलको झण्डा प्रयोग गरेका छन् भने दलबाट बागी उम्मेदवारी दिएर स्वतन्त्र उम्मेदवारको मान्यता पाएका उम्मेदवारले पनि पार्टीकै झण्डा प्रयोग गरेर प्रचार प्रसार गरिरहेका छन् ।

नेकपाको समर्थनका स्वतन्त्र उम्मेदवार भोट माग्न मतदाताको घरदैलोमा

त्रिशूली । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पाटी (नेकपा)ले नुवाकोटको
स्थानीयतहको चुनावमा जनपक्षीय उम्मेदवारहरुलाई स्वतन्त्र रुपमा उठाएसगैँ चुनावी प्रचार अभियानमा लागेको छ ।
नेकपाको केन्द्रीय सदस्य तथा नुवाकोट इञ्चार्ज सविता तामाङ ‘बिन्दु’ले दिएको जानकारी अनुसार नेकपा पाटीको १२ औँ केन्द्रीय समितिको दस्तावेज र परिपत्र अनुसार भएको निर्देशन अनुसार नुवाकोटको विदुर नगरपालिकाको मेयरमा सन्तोष बोगटी र उपमेयरमा चन्द्रमाया कुमालले स्वतन्त्र उम्मेदवारी दिएर चुनावी अभियान अघि बढाएका छन् । यस्तै, बेलकोटगढी नगरपालिकाको वडा नंं. ९ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार दिनेश विश्वकर्माले पनि चुनावी अभियान जारी राखेका छन् । मेयरमा सन्तोष बोगटी र उपमेयरमा चन्द्रमाया कुमालले स्वतन्त्र उम्मेदवारको रुपमा पुतली चुनाव चिन्ह र वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार दिनेश विश्वकर्माले गुलाफको फूल चुनाव चिन्ह लिएर चुनावी अभियानमा भोट माग्न लागिरहेका छन् ।
नेकपाले आसन्न चुनावको लागी अमेरिकी अनुदान सहयोग कार्यक्रम एमसिसीको विपक्षमा रहेका उम्मेदवारहरुलाई स्वतन्त्र रुपमा उठ्नको लागी प्रोत्साहन गर्ने तथा अन्य पाटीहरुलाई आसन्न चुनावमा उम्मेदवार बनाउदा भ्रष्टचारी, एम.सि.सी पक्षधर, तस्करी, दलाल, कालोबजारी, राष्ट्रघाती तथा जनघाती, व्यविचारीलाई उम्मेदवार नबनाउन आग्रह गर्ने नीति अनुरुप यो चुनावमा तीन पदका उम्मेदवारलाई समर्थन गरेको जनाएको छ । नेकपाको समथर्नमा रहेका उम्मेदवारहरुको प्रचार अभियान अघि बढाउन, जनमतको समर्थन बटुल्नको लागी नेकपाले नुवाकोटमा पाटीका नेता विष्णु खड्काको नेतृत्वमा बादल, फणिन्द्र र राम सदस्य रहेको निर्वाचन परिचालन समिति समेत गठन गरेर मतदाताको घरदैलो अभियान जारी राखेको छ ।
नेकपाले एमसिसी विरुद्धमा लागेका राष्ट्रवादी, स्वतन्त्र तथा स्वेच्छकारी असल नागरिकलाई आसन्न चुनावको लागी दक्षता र क्षमता हेरेर विभिन्न पदमा स्वतन्त्र रुपमा उठाउनको लागी प्रोत्साहन गर्ने र चुनाव जिताउनको लागी समर्थन गर्ने यसअघि नै जनाएको थियो । यसअघिको चुनवामा निर्वाचन विरुद्धको अभियान चलाउदै आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वमा रहेको नेकपाले यो पटकको चुनावमा भने सक्रियताको साथ सहभागिता जनाउदै शान्तिपूर्ण, निश्पक्ष र धाधलीरहित रुपमा सम्पन्न गराउन र यस निर्वाचन मार्फत जनपक्षीय उम्मेदवारलाई बिजयी गराउनको लागी चुनावी अभियानमा होमिएको छ ।

 

स्थानीयतह निर्वाचन नुवाकोटको दुप्चेश्वरमा माओवादी केन्द्र बलियो, यो छ कारण

त्रिशूली । आगामी स्थानीयतहको निर्वाचन लागी नुवाकोटका १२ वटै स्थानीयतहमा उम्मेदवारी दिएका उम्मेदवारहरुले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । नेपाली काँग्रेस दुप्चेश्वर गाँउपालिकाले आफ्नो घरदैलो अभियानलाई तिव्रता दिएको छ । घरदैलो अभियान अन्तरगत पछिल्लो समयमा घ्याङफेदी, शिखरबेशी, राउतबेशी लगायतका स्थानमा सहभागी भएर आफ्नो पार्टीलाई बिजयी गराउनको लागी आग्रह गरिएको नेपाली काँग्रेस दुप्चेश्वर गाँउपालिकाका अध्यक्षका उम्मेदवार पूर्णबहादुर तामाङले जानकारी दिनुभएको छ ।
घरदैलो कार्यक्रममा नेपाली काँग्रेसले नुवाकोटको विकासको लागी गरेको योगदानको प्रशंसा गर्दै गाँउपालिकाको विकासको लागी नेपाली काँग्रेसलाई मतदान गरी विजयी गराउनको लागी आग्रह गरिएको अध्यक्षका उम्मेदवार तामाङले आग्रह गर्नुभएको छ । कार्यक्रममा नेपाली काँगेसको गाँउकार्यसमितिका पदाधिकारी सहितको सहभागिता रहेको थियो ।


यस्तै, नेकपा एमाले दुप्चेश्वर गाँउपालिका उम्मेदवारहरुले पालिकाको बिभिन्न स्थानमा घरदैलो कार्यक्रम जारी राखेका छन् । घरदैलो कार्यक्रमको लागी आइतबार वडा नं. ५ बालकुमारीमा पुग्नुभएका नेकपा एमालेका उम्मेदवार योविन्द्रसिंह तामाङले यसअघि आफू फरक राजनीतिक दलको नेता भएपनि गाँउपालिकाको समुन्नत विकासको लागी इमान्दारपूर्वक भूमिका निर्वाह गरेको भन्दै यो पटक नेकपा एमालेको उम्मेदवारको रुपमा निर्वाचनमा सहभागी भएकाले आफ्नो पार्टीका उम्मेदवारलाई बिजयी गराउनको लागी मतदाता समक्ष आग्रह गर्नुभएको छ ।
साथै, घरदैलो कार्यक्रममा आफनो आकर्षक घोषणा पत्र, एजेण्डा, तथा भावी कार्य योजना लिएर मतदातासंग सहयोगको आग्रह गरेको यसअघि काँग्रेस र अहिले नेकपा एमालेमा प्रवेश गरेर अध्यक्षमा उम्मेदवार भएका योविन्द्रसिंह तामाङले जानकारी दिनुभएको छ ।

यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार शंकरबहादुर थापा र माकुरी तामाङ पनि दुप्चेश्वर गाँउपालिकाको विभिन्न स्थानमा चुनावीसभा र घरदैलो गर्दै मतादाताहरुलाई बैशाख ३० गते हुन लागेको चुनावमा आफ्नो पाटीका उम्मेदवारलाई बिजयी गराउनको लागी आह्वान गर्नुभएको छ ।
यसअघि भएको चुनावमा नेकपा माओवादी केन्द्रले थोरै मतले पराजित भएकाले त्यसपछि पनि निरन्तर जनताको सेवामा आफ्नो पाटी सक्रियताको साथ लागेकाले यो पटक भने पालिकाको अध्यक्षमा शंकरबहादुर थापा, उपाध्यक्षमा माकुरी तामाङ सहित सातवटै वडामा नेकपा माओवादीका उम्मेदवारलाई बिजयी गराउनको लागी उहाँहरुले अपिल गरेका छन् ।

May be an image of 9 people and text
यसअघिको स्थानीयतहको चुनावमा अध्यक्षमा योविन्द्रसिंह तामाङ नेपाली काँग्रेसबाट तीन हजार ७१४ मतको साथ बिजयी हुनुभएको थियो भने नेकपा माओवादी केन्द्रको उम्मेदवारले ३ हजार २९४ र नेकपा एमालेका उम्मेदवारले २ हजार २४१ मत ल्याएको थियो ।

पालिका अध्यक्ष जित्नुभएका योविन्द्रसिंह तामाङले काँग्रेस छाडेर एमाले तिर लागेसगैँ काँग्रेसको संगठन चुनावीमा संघारमा कमजोर बनेको छ भने नेकपा एमालेमा पनि यसअघिका अध्यक्ष सुरज शेर्पालाई बनाउने भनेर अन्तिम समयमा योविन्द्रसिंह तामाङलाई बनाएको र पाटी पनि विभाजन भएसगैँ कमजोर देखिएको छ ।
नेकपा माओवादी केन्द्रले भने चुनावमा पराजित भएपछि पनि निरन्तर सक्रिय रुपमा लागिरहेको, शीर्ष नेताहरु राधिका तामाङ, हितबहादुर तामाङको सक्रियता समेत दुप्चेश्वरमा पहिलो प्रथामिकतामा पर्ने भएकाले नेकपा माओवादी केन्द्रले अन्य पाटीको तुलनामा आफूलाई बलियो पाटीको रुपमा दाबी गर्दै आइरहेको छ । पछिल्लो समयमा संगठन विस्तारलाई बजबुद बनाएको राष्ट्रिय प्रजातन्त्र पाटीले पनि आफ्नो पक्षमा मत ल्याउनको लागी देखाएको सक्रियता र उम्मेदवारहरुको प्रचारले मुख्य तीन दलको नतिजाको समिकरण परिवर्तन हुने देखिएको छ ।

नुवाकोटका १२ वटै स्थानीयतहमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा लगायतका दलका उम्मेदवारले घरदैलो तथा मतदाता माझ पुगेर मत माग्न र चुनावमा सहभागी हुन निमन्त्रणा गर्न व्यस्त रहेका छन् । त्यसमध्ये दुप्चेश्वर गाँउपालिकाको चुनावी मुखमा उम्मेदवार परिवर्तन र तीन पाटीबीच बलियो प्रतिस्पर्धा र नयाँ शक्तिको रुपमा उदाउने अनुमान गरिएको राप्रापले आफ्नो पक्षमा मत लिदा दुप्चेश्वर गाँउपालिकामा यो पटकको चुनावको नतिजा रोचक हुने देखिएको छ ।
उम्मेदवारहरु मतदाताहरु मार्फत बिजयी तथा अनुमोदन भएर जनप्रतिनिधि बन्नको लागी आफ्नो पक्षमा मत तान्न आकर्षक घोषणा पत्र, एजेण्डा, तथा भावी कार्य योजना लिएर मतदातासंग सहयोगको आग्रह गर्दै आइरहदाँ मतदाताहरुले अहिलै नै कसलाई मत दिने भनेर निर्णय भने गर्न बाँकी नै रहेको पाइन्छ ।

 

२० जनामा कोरोना पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार दुई सय २२ जनाको नमुना परीक्षण गर्दा २० जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

थप २७ जना सङ्क्रमित निको भएसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सय २१ जनामा झरेको छ । २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन ।

यही अवधिमा २९ हजार पाँच सय ७४ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएकाे मन्त्रालयले जनाएकाे छ ।

सामाजिक सञ्जालमा मिथ्या सूचना राखे कारबाही गर्ने चेतावनी

काठमाडौँ । निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलहरुलाई मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिनेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति पोष्ट भइरहेको भन्दै आयोगले यस्ता काम रोक्ने चेतावनी दिएको छ । अन्यथा निर्वाचन आयोग ऐनको दफा २३ र निर्वाचन कसुर ऐन र प्रचलित कानुन अनुसार कारबाही गर्ने बताएको छ ।

आयोगले मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको परिभाषा गरेको छ, जसअनुसार भनिएको छ, निर्वाचनसम्बन्धी कुनै कार्य गर्दा गराउँदा कसैलाई हानी नोक्सानी पुर्‍याउने नियत राखी नराखी वा उक्त सूचना झुटो हो भन्ने बुझी नबुझी सम्प्रेसित गरिएको भ्रमक सूचनालाई मिथ्या सूचना भनिन्छ ।

१७ जिल्लामा मतपत्र ढुवानी गर्न बाँकी

काठमाडौँ । वैशाख ३० गते हुने पालिका चुनावका लागि मतपत्र ढुवानी गर्न अब १७ जिल्ला मात्र बाँकी रहेको छ । सिन्धुली, रामेछाप र दोलखामा १९ गते बिहान मतपत्र ढुवानी हुनेछ भने अन्य जिल्लामा यसै हप्तामा पठाइनेछ ।

वैशाख १७ गतेसम्ममा ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएकाेमा १८ गते लुम्बिनी प्रदेशका सबै जिल्लाका लागि मतपत्र पठाइएको छ । बाँकी रहेका जिल्लामा मधेस प्रदेशका आठ, प्रदेश नं १ को मोरङ, बाग्मती प्रदेशको रसुवा, चितवन, ललितपुर, काठमाण्डाै र भक्तपुर छन् ।

कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश नं १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै ठाउँ, बाग्मती प्रदेशका पाँच जिल्लामा मतपत्र पुगिसकेको छ । मनाङ र मुस्ताङमा हेलिकप्टरबाट मतपत्र ढुवानी गरिएको छ ।

निर्वाचन आयोगले यही वैशाख १३ गतेदेखि मतपत्र ढुवानी सुरु गरेको थियो । यसअघि ६ वटा महानगर र भक्तपुरबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ भइसकेकोमा आज भक्तपुरका लागि मतपत्र छपाइ सुरु भएको छ ।

महानगर र भक्तपुरका लागि छापिने मतपत्र उम्मेदवारी मनोनयनपत्र दर्ताको अन्तिम नामावलीका आधारमा पहिलेकै डिजाइनमा चुनाव चिह्न थपघट गरेर छपाइ हुँदैछ ।

१४ जनामा कोरोना पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार सात सय ७१ जनाको नमुना परीक्षण गर्दा १४ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप १९ जना निको भएसँगै कोरोना सङ्क्रमणका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सय ४३ जनामा झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएकाे छैन ।

यसैबीच थप दुई लाख नौ हजार ५६ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएकाे मन्त्रालयले जनाएकाे छ ।

यस पटक मतपत्र च्यात्छु र चपाउँछु भन्ने नसोचे हुन्छ : थपलिया

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पालिका चुनावका लागि मतपत्र कडा कागजमा छापिएकाले राजनीतिक दलहरूले मतपत्र च्यात्छु र चपाउँछु भन्ने सोच नराख्न आग्रह गर्नुभएकाे छ । आज शुक्रवार राष्ट्रिय तथा जिल्लास्तरका पर्यवेक्षकहरूका लागि अन्तरक्रिया र अभिमूखीकरण कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले विगतमा भएका गल्तीका कारण आयोगमाथि बत्ती निभ्छ कि निभ्दैन जस्ता आरोपहरू लागिरहेको भन्दै लोकतन्त्रमा विश्वास गरेर उम्मेदवारी दिने दल र उम्मेदवारहरूलाई मतपत्र च्यातेर र चपाएर जित्छु भन्ने सोचबाट मुक्त हुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयाे, ‘लोकतन्त्रलाई विश्वास गरेर उम्मेदवारी दिने राजनीतिक दल र उम्मेदवारहरू यत्ति कुरा हेक्का राखिदिनुहोस्, यो वर्षको मतपत्र अलिकति कडा कागजमा छापिएको छ, त्यस कारण यसलाई च्यात्ने र चपाउने सोचबाट मुक्त भइदिनुहोस् । यो अनुरोध हो । छाप्दै त्यसै गरी छापेको हो । यो कुरा बुझिदिनुभयो भने आउँदा दिनमा यस्ता प्रश्न उठ्दैनन् ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले पालिका चुनाव सुरक्षित, भयरहित, व्यवस्थित र मर्यादित बनाउन राजनीतिक दलहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयाे । संयमित भएर राजनीतिक दल र उम्मेदवारहरूले पालिका चुनावलाई व्यवस्थित र पारदर्शी बनाउन सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभएको हो ।

उहाँले विभिन्न राजनीतिक दलका नेताले स्वतन्त्र उम्मेदवारी दिँदा धम्की, त्रास र चेतावनी दिएको गोप्य सूचना आइरहेको भन्दै त्यो सह्य नहुने बताउनुभयो । उहाँले लोकतन्त्रलाई विश्वास गरेर चुनावमा गएको हो भने लोकतन्त्रमा चुन्ने र चुनिन पाउने अधिकारलाई कुनै पनि हालतमा कुण्ठित गर्न नमिल्ने स्पष्ट पार्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दलहरूले समानुपातिक समावेशिता सिद्धान्त र ऐन, कानुनलाई बिर्सिएर पालिकामा उम्मेदवारी मनोनयन दर्ता गरेको पनि बताउनुभयो । उहाँले आयोगले विभिन्न राजनीतिक दललाई संविधानको धारा ३८ को उपधारा ४ बमोजिम चुनावकाे प्रक्रियामा महिलाको ५० प्रतिशत सहभागिताको कुरालाई बिर्सिएको बताउनुभयो ।

प्रमुख आयुक्त थपलियाले यस वर्ष आचारसंहिता बनाउँदा पहिलो पटक सामाजिक सञ्जालको नियमन उठाएको र अहिलेसम्मको अध्ययनले समाजिक सञ्जालबाट झनै विकृति सिर्जना भएको पाएको बताउनुभयो । उहाँले सामाजिक सञ्जालमा चुनावसम्बन्धी भइरहेका असामाजिक कृत्यलाई निरुत्साहित गर्न आयोगको अनुरोधअनुसार आयोगको युट्युब वा सामाजिक सञ्जालमार्फत आयोगलाई सूचना दिन पनि पर्यवेक्षकहरूलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले कुनै पक्षले जितका लागि जे पनि गतिविधि गर्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन आयोगलाई सुझाव दिनुभयो । अर्का पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले अहिलेको समयमा निर्वाचन परीवेक्षण गर्न जरुरी रहेकोले आयोगले त्यसमा जोड दिनुपर्ने बताउनुभयो ।

क्यान्सर रोगबाट ग्रसित केन्द्रीय कार्यालयका सुरक्षा गर्ड गुरुङको उपचारमा समस्या, कांग्रेस बेखवर

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालय आफ्नै सुरक्षा गार्डको स्वास्थ्य स्थितिप्रति बेखवर बनेको छ । विगत २५ वर्षदेखि केन्द्रीय कार्यालयमा कार्यरत वीरबहादुर गुरुङ क्यान्सर जस्तो प्राणघातक रोगसँग जुधिरहेका छन ।

रक्त क्यान्सरबाट १५ वर्षदेखि पीडित गुरुङ सैनिक अस्पताल छाउनीमा उपचाररत छन । लामो समयदेखि क्यान्सरले ग्रसित गुरुङलाई आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । कृष्णप्रसाद भट्टराई सभापति हुदा केन्द्रीय कार्यालयमा सेवा प्रवेश गरेका गुरुङ हालसम्म पनि सुरक्षा गर्डको रुपमा कार्यरत छन । सरकारमा समेत नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस पार्टीले गुरुङको उपचार चासो नदिएको गुनासो उनकी छेरी कमला गुरुङले गरेकी छिन । उनको गुनासो अस्वभाविक पनि छैन । पार्टी कार्यालयका सचिवहरु सामान्य विरामी हुँदा पार्टीको नामबाट लाखौ रुपैयाँ खर्चिन गरेको रहस्य खुलेको छ ।
कयौपटक जीवन मरणको दोसाधमा अस्पतालको शैयमा छट्पटाएका उनी असधीको साहरामा जीउदै आएका छन । लामो समय पार्टी कार्यालयमा काम गरेका गुरुङ पाको उमेर र अस्वस्थ शरिर भएपछि खाली हात जागिरबाट निस्कन बाध्यात्मक अवस्था सिर्जना भएको गुनासो पोख्दै आएका छन । उनी जागिरबाट निस्कदा पार्टीले उपदानको व्यवस्था गरिदिनु पर्ने माग राख्दै आएका छन ।

चुनावका लागि मनोनयन दर्ता भएका उम्मेदवारको नामावली आज प्रकाशन हुने

काठमाडौँ । बैशाख ३० गते हुने पालिका चुनाव अन्तर्गत मनोनयन दर्ता भएका उम्मेदवारको नामावली आज प्रकाशन हुनेछ । मनोनयनपत्र जाँचसँगै उम्मेदवारविरुद्ध परेका उजुरीहरुको छानबिन गरी निर्णय गरेर आज बेलुकी पाँच बजेसम्म नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यसूची छ ।

भोलि १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । १७ गते उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ ।

आईपीएल क्रिकेटमा गुजरात शीर्षस्थानमा

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराईजर्स हैदरावादलाई हराउँदै नवप्रवेशी टोली गुजरात टाइटन्स शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा हैदरावादलाई ५ विकेटले हराउँदै गुजरात शीर्ष स्थानमा उक्लिएको हो ।

हैदरावादले दिएको एक सय ९६ रनको लक्ष्य गुजरातले २० ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । गुजरातका रिद्दिमान शाहले ६८ रनको अर्धशतकीय इनिङ खेले । हैदरावादका उम्रन मलिक एक्लैले ५ विकेट लिए । यस अघि मुम्बइमा पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर एक सय ९५ रन जोडेको थियो । हैदरावादका लागि अविशेक शर्माले ६५ तथा एडिन माक्र्रमले ५६ रनको अर्धशतकीय इनिङ खेले । गुजरातका मोहमद शामीले ३ विकेट लिए । यश डायल र अल्जारी जोसेफले १–१ विकेट लिए । आठ खेलमा सातौं जित निकालेर शीर्ष स्थानमा उक्लिएको गुजरातले १४ अंक जोडेको छ । हैदरावाद आठ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

उम्मेदवारको संख्या एक लाख ५२ हजारभन्दा धेरै

काठमाडौँ । पालिका चुनावको लागि उम्मेदवार दिनेको संख्या एक लाख ५२ हजार नाघेको छ । हिजो बेलुकी अबरेसम्म संकलन भएको तथ्याँकअनुसार एक लाख ५२ हजार ६ सय ७६ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगकाअनुसार केही जिल्लाका पालिकाबाट तथ्याँक संकलन बाँकी रहेकाले यो संख्या केही बढ्न सक्नेछ ।

आउँदो ३० गते हुने पालिका चुनावमा ३५ हजार २२१ पदका लागि मतदान हुँदैछ । दलगत र स्वतन्त्रसहित मेयरमा तीन हजार ४९९, अध्यक्षमा तीन हजार ३८७, उपमेयरमा दुई हजार १५८, उपाध्यक्षमा दुई हजार ४०२, वडाध्यक्षमा ३५ हजार ३१० र वडा सदस्यमा ५५ हजार ५५९ जनाको उम्मेदवारी परेको छ ।

दलहरुले प्रमुख पदमा महिला उम्मेदवार कम उठाएका छन् । उपमेयर र उपाध्यक्षमा भने पुरुषभन्दा बढी महिला उम्मेदवार छन् । एमालेले मेयरमा २९१ जनालाई उम्मेदवार बनाउँदा महिला २७ मात्रै छन् । यस्तै एमालेबाट २६० महिला र २६ पुरुष गरी २८६ जना उपमेयरका उम्मेदवार बनेका छन् । कांग्रेसले १२ महिला र २५३ पुरुष गरी २६५ मेयर तथा १८० महिला र ३१ पुरुष गरी २११ जना उपमेयरको उम्मेदवार उठाएको छ ।

अध्यक्षमा एमालेको तर्फबाट २८ महिला र ४१८ पुरुष गरी ४४६ जना उम्मेदवार छन् । उपाध्यक्षमा ४१० महिला र ३५ पुरुष गरी ४४५ जना छन् । कांग्रेसले अध्यक्षमा १९ महिला र ३६३ पुरुष गरी ३८२ तथा उपाध्यक्षमा २९२ महिला र ६७ पुरुष गरी ३५९ जना उम्मेदवार बनाएको छ ।

माओवादी केन्द्रबाट १८ महिला र १५६ पुरुष गरी मेयरमा १७४ जना तथा १३० महिला र ८४ पुरुष गरी उपमेयरमा २१४ जना उम्मेदवार छन् । यस्तै अध्यक्षमा २९ महिला र २६१ पुरुष गरी २९० जना तथा उपाध्यक्षमा २०३ महिला र ११२ पुरुष गरी ३१५ जना माओवादीका उम्मेदवार छन् ।

एकीकृत समाजवादीबाट मेयरमा २३ महिला र १२७ पुरुष गरी १५० जना तथा उपमेयरमा १०६ महिला र ७१ पुरुष गरी १७७ जना उम्मेदवार छन् । एकीकृत समाजवादीले १२ महिला र १७५ पुरुष गरी १८७ जना अध्यक्षमा तथा ११२ महिला र ६८ पुरुष गरी १८० जना उपाध्यक्षमा उम्मेदवार उठाएको छ ।

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.