पाँच तले मन्दिरको वर्षगाँठ मनाइयो

असार २८, २०७८ मा प्रकाशित
Published at 2021-07-12

102 views

भक्तपुर । विश्व सम्पदा सूचीमा रहेको प्रसिद्ध पाँच तले मन्दिरको तीन सय २० औँ वर्षगाँठ बनाएको छ । मन्दिरभित्र परम्पराअनुसार राजोपाध्याय, कर्माचार्य, जोशी र ताल्चाभडेल पुजारीले पूजा गरी मन्दिरको टुप्पोमा सेतो कपडामा रातो चन्द्राकार भएको ठूलो झण्डा फहराउँदै वर्षगाँठ मनाइएको हो ।

मन्दिर स्थापनाको सम्झनामा प्रत्येक वर्ष असार शुक्ल प्रतिपदाका दिन यसरी नै पूजाआजा गरी झण्डा फहराउने प्रचलन रहिआएको छ । आजको दिन पूजामा बोका बली दिने परम्परा रहे पनि कोभिड–१९ का कारण मन्दिरमा सामान्य पूजा गरी झण्डा फहराइ मनाइएको तलेजुका मूल नाइके नरेन्द्र जोशीले जानकारी दिनुभयो ।

पूजा सकिएपछि भक्तपुर नगरको तुछमला टोलका अवालको टोलीले मन्दिरको टुप्पोमा पुगेर झण्डा फहराएका थिए । मन्दिरमा झण्डा राख्नका लागि तुछिमलाको अवालबाहेक अरूलाई मन्दिरमाथि प्रवेश नदिने परम्परा चलिआएको छ ।

नेपाल संवत् आठ सय २२ मा तत्कालीन भक्तपुरका राजा भूपतिन्द्र मल्लले सिद्ध अग्नि कोत्याहुती होम सु–सम्पन्न गरी श्री सिद्धिलक्ष्मी देवीलाई पाँच तले मन्दिरमा प्रतिस्थापना गरी झण्डा फहराइएको इतिहास छ । त्यही बेलादेखि नै प्रत्येक वर्ष वार्षिकोत्सवका अवसरमा झण्डोत्तोलन गर्ने प्रचलन रही आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.