विदुरमा यात्रु चढ्न रोक लगाएको अटो सञ्जु पण्डितको चुनावी प्रचारमा भने निर्धक्क चल्यो

त्रिशूली । नुवाकोटको विदुर नगरपालिकामा चलाउन अनुमति नपाएर अन्यत्र जान बाध्य भएका तीनपाङ्ग्रे सवारीसाधन अटो अहिले चुनावी प्रचारमा भने निर्धक्क चलिरहेको छ । अझ रोचक पक्ष त के छ भने यसअघि अटो चलाउन कानूनले मिल्दैन भनेर ट्राफिक प्रहरी र नगरप्रहरी लगाएर खेद्ने विदुरका मेयर सञ्जु पण्डित अहिले उनी सहित उनको प्यानलका उम्मेदवारहरुको चुनावी प्रचारको लागी आधा दर्जन अटो निर्धक्कसंग घुमाइरहेका छन् ।
उम्मेदवारले चुनावी प्रचारको लागी तोकिएको सङ्ख्यामा भन्दाबढी सवारीसाधन प्रयोग गर्न नपाइने भनेपनि त्यसको समेत उल्लंघन गर्दै यसअघि विदुरमा अटो चलाउन नपाउने भन्दै यात्रुलाई सेवा दिन नपाएका अटो गाडीहरु अहिले भने उनै मेयरका उम्मेदवार पण्डितले निर्धक्कसंग आफ्नो चुनावी प्रचारमा गुडाइरहेका छन् ।

No description available.
विदुरमा सञ्चालन हुने सार्वजनिक यातायात भरपर्दो छैन । भित्रि सडक र थोरै यात्रु बोकेर जान मान्दैनन् । ट्याक्सीको सुविधा पनि छैन । त्यस्तो अबस्थामा विकल्पको लागी उपयुक्त माध्यम रहेको अटो गाडी चलाएर यहाँको जनतालाई सेवा दिन, रोजगारको सिर्जना स्थापना गर्न तथा आर्थिक क्षेत्रलाई चलायमान बनाउन आएका अटो गाडीहरुलाई ट्राफिक प्रहरी र नगरप्रहरी लगाई चल्न मिल्दैन भनेर लखेटेको भएपनि अहिले चुनावी प्रचारमा ने उनै सञ्जु पण्डितलाई जिताऔँ भन्ने माइकिङ गर्दै अटो गाडीहरु हिडिरहेको देख्दा नगरबासी छक्क परेका छन् ।

विदुरबासी अर्थात यहाँका मतदाताले अहिले नेकपा एमालेबाट मेयरका उम्मेदवार सञ्जु पण्डितले ल्याएको प्रतिवद्धता पत्रमा अटो गाडी चल्न दिएर यात्रुलाई सहज रुपमा सेवा दिने भन्ने बुदाँको खोजी गरेपनि त्यो नदेख्दा चुनाव पछि फर्कने अटो गाडीलाई रमाइलो मान्दै हेर्ने गरेका छन् । यो दृष्यले विदुरमा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार सञ्जु पण्डितलाई भने गिज्याइरहेका पाइन्छ ।

No description available.

विदुरमा सञ्जु पण्डितले बाढेको चुनाव लक्षित उधारो योजनाले उपभोक्ता समिति समस्यामा, आफूलाई जिताए मात्रै बजेट पाउने भन्दै दबाब दिएको खुलासा

विदुर । नुवाकोटको विदुर नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार बनेका सञ्जु पण्डितले उधारो योजना बढेर आफूले चुनाव जितेमा मात्रै बजेट उपलब्ध गराउने भन्दै मतदातालाई प्रभावमा परेको खुलासा भएको छ ।

यसअघि पाचवर्षसम्म विदुर नगरपालिकाको बजेट बिनियोजन गरेर बनाएका योजनाहरु आफूले बनाएको भन्दै भोट माग्न व्यस्त देखिएका पण्डितले चालु आर्थिक वर्षमा करीब ३८ करोड रुपैयाँ हाराहारीमा बजेटको श्रोत सुनिश्चित नभई योजनाको सम्झौता गरेर काम गर्न लगाएको र आफूले चुनाव जिते मात्रै उक्त बजेट उपलब्ध गराउने भनेर मतदातालाई प्रभावित बनाएको पाइएको छ । विषेश गरेर विदुर–११ मा मात्रै उनले आधा दर्जन उधारो योजना दिएको पाइएको छ ।

स्थानीयस्तराट योजनाको माग भएर आएको स्थानमा उक्त योजनाको शिर्षक खडा गरेर काम गर्नको लागी सम्झौता गर्ने र बजेट भने आफूलाई पुनः मेयर पदमा जिताएमा मात्रै उपलब्ध गराउने भनेर प्रभावित बनाएकाले विकासमा राजनीति गरेको पाइएको छ । योजना अन्तरगत विदुर–११ मा सडक र खानेपानी शिर्षकका उधारो योजना उपभोक्ता समितिलाई दिएको र अहिले फरफारक गर्न आउदा बजेट नभएकाले आफूलाई पुनः जिताएमा मात्रै बजेट दिने बताएसगैँ उपभोक्ता समिति समस्यामा परेका छन् ।
मेयरमा आफूले हारे बजेट उपलब्ध नहुने भन्दै २८ करोडको उधारो योजना वितरण गरेका नेकपा एमालेका मेयर पण्डितले आफूलाई जिताउनको लागी अहिले पनि चुनावी अभियानमा हिड्न, प्रचारप्रसारमा सहभागी हुनको लागी समेत दबाब दिदै आइरहेको उपभोक्ता समितिका पदाधिकारीको गुनासो छ ।

उधारो योजनाको बजेट सुनिश्चित हुने राजन श्रेष्ठको प्रतिबद्धता :
नेकपा एमालेबाट मेयरका उम्मेदवार बनेका सञ्जु पण्डितले उधारो योजना बाढेर उपभोक्ता समितिलाई राजनीति प्रभावमा पारेको खबर बाहिर आएसगैँ आफू बिजयी भएर नगरपालिका गएपछि त्यस्तो उधारो योजनामा भएको कामको बजेट उपलब्ध गराउने नेपाली काँग्रेसका उम्मेदवार राजन श्रेष्ठले प्रतिबद्धता जनाएका छन् ।

विदुरमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रुपमा रहेका नेपाली काँग्रेसबाट मेयरका उम्मेदवार राजन श्रेष्ठले चुनाव लक्षित गरेर मतादातालाई प्रभावित बनाउदै दिएको उधारो योजना बापतको बजेट आफू बिजयी भएर आएपछि पनि उपलब्ध हुने भएकाले उपभोक्ता समिति र मतदातालाई विवेक प्रयोग गरेर मतदान गर्न अपिल गरेका छन् । निर्वाचन प्रचारप्रसारको क्रममा मतदाताको घरदैलोमा पुग्दा एमालेबाट मेयरका उम्मेदवार सञ्जु पण्डितले योजना दिएको तर, बजेट नदिएकाले अहिले आफूहरुको पैसा लगानी गरेर सम्पन्न गरिएका योजनाको रकम पाउन उनीले नै जित्नुपर्ने नत्र नपाउने भन्ने गुनासो विभिन्न स्थानबाट आएपछि नेपाली काँग्रेसबाट मेयरका उम्मेदवार राजन श्रेष्ठले नगरपालिकाले सम्झौता गरेर काम गर्न लगाएका योजनाको जे जति बजेट उपलब्ध गराउन बाँकी रहेको, योजना पूरा गर्न बाँकी रहेको तथा सर्वे गरेर उपलब्ध गराउनुपर्ने योजनाहरु सबै उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

मेयरका उम्मेदवार राजन श्रेष्ठले यसअघि नगरपालिका मार्फत प्रक्रियामा रहेका योजनाहरु कुनै कटौती नहुने अर्थात सबै योजना पूरा गर्ने र थप योजनाहरु जनताको माग अनुसार उपलब्ध गराउने, यसअघि भएका कामको बजेट आगामी आर्थिक वर्षमा उपलब्ध गराउने भएकाले बैशाख ३० गतेको मतदानमा कसैको प्रभाव, करकापमा नपरी स्वतन्त्र भएर असल जनप्रतिनिलाई मतदान गर्नको लागी आग्रह गरेका छन् ।

सञ्जु पण्डितबाट आचारसंहिताको उल्लघंन गर्दै प्रचार, निर्वाचन आयोगमा पर्यो उजुरी

त्रिशूली । नुवाकोटको विदुर नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार सञ्जु पण्डितले आचारसंहिता विपरित प्रचार प्रसार गदै आएको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।
निर्वाचन आयोगले टिसर्ट छाप्न रोक लगाएको भएपनि विदुर नगरपालिका भित्र उनले टिसर्ट समेत वितरण गरेर आचारसंहिताको उल्लंघन गरिरहेका छन् । अहिले जारी रहेको चुनावी प्रचार अभियानको क्रममा उनले कार्यकर्तालाई टिसर्ट सहित तोकिएको भन्दा ठूलो आकारको पाटीको झण्डा समेत बोक्न लगाएर आचारसंहिताको उल्लंघन गर्दै आएको देखिएको छ ।

No description available.

No description available.

उनले आचारसंहिताको उल्लंघन गरेको भनेर निर्वाचन आयोगको कार्यालय काठमाडौमा तस्वीर सहितको उजुरी परेको र आयोगले जिल्ला स्थित निकायबाट बुझ्नको लागी परिपत्र गर्न भनेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

यसैगरी, विदुरमा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार सञ्जु पण्डितले आचार संहिताको उल्लंघन गर्दै कृषि सहकारी भवन, मन्दिर, धारा, चौतारो लगायतमा समेत भड्किलो प्रचार सामाग्रि राखेको पाइएको छ । विदुर–११ मा रहेको एक कृषि सहकारीको हालै निर्माण गरिएको भवनमा समेत सञ्जु पण्डितले केही दिन अघि घरदैलो कार्यक्रम गर्दा झण्डा फहराउन कार्यकर्तालाई दिएको निर्देशन अनुसार आचारसंहिताको उल्लंघन गर्दै चुनावी प्रचार अभियानमा लागेको भन्दै अर्को पनि उजुरी निर्वाचन आयोगमा परेको छ । उक्त उजुरीको पनि जिल्ला स्थित कार्यालयबाट स्थलगत अवलोकन गरेर प्रतिवेदन बुझाउन निर्वाचन आयोगले परिपत्र गरेको छ ।

No description available.

No description available.
नेपाली काँग्रेसको तर्फबाट मेयरमा राजन श्रेष्ठ र नेकपा माओवादी केन्द्रको तर्फबाट उपमेयरमा प्रभा बोगटी उठेसगै चुनावी प्रतिस्पर्धामा निकै आत्तिएका नेकपा एमालेका मेयरका उम्मेदवार जसरी पनि चुनाव जित्नुपर्छ भन्ने आशयले भड्किलो प्रचारशैली, कानूनले निषेधन गरेका प्रचारका सामाग्रि सहित चुनावी अभियानमा लाग्दै आएको देखिन्छ ।

विदुरमा गठबन्धन बलियो, बेलकोटगढी र तारकेश्वरमा बलियो प्रतिस्पर्धा

त्रिशूली । यही बैशाख ३० गते हुन लागिरहेको स्थानीयतहको निर्वाचनको लागी नुवाकोटका अधिकांश स्थानमा चुनावी नतिजा के होला भन्ने अनुमान लगाउन गारो देखिएको छ ।
बलियो मानिएको कुनै एक पाटीलाई हराउन विभिन्न पालिकामा विभिन्न स्वरुपका गठबन्धनन गरेको भएपनि सोही कारण चुनाव जितिन्छ भन्नेमा अहिलेसम्मको आधार कमजोर देखिएको छ । यसअघि नुवाकोटमा सात पालिकामा नेपाली काँग्रेस, तीनवटामा नेकपा एमाले र दुई वटामा माओवादी केन्द्रले बिजयी हासिल गरेको भएपनि अहिले सोही अनुसारको संरचना फेरबदल हुने देखिएको छ ।
विदुर र बेलकोटगढी नगरपालिका तथा तारकेश्वर गाँउपालिकामा नेकपा एमालेलाई हराउन प्रमुखदेखि वडातहसम्म नै गठबन्धनको कारण आधार बलियो भएपनि त्यो विदुरमा मात्रै देखिएको छ । बेलकोटगढी र तारकेश्वरमा पालिकाको प्रमुख र उपप्रमुख पदमा मात्रै तालमेल गरेको कारण प्रतिस्पर्धा बलियो देखिएको छ ।

May be an image of 5 people, people standing, people sitting and road
विदुरमा वडातहसम्म नै गठबन्धन गरेको कारण नेकपा एमालेको उम्मेदवार मेयरमा सञ्जु पण्डित र उपमेयर अम्बिका पौडेल भन्दा सांगठानिक, घरदैलो अभियान र चुनावीसभा, जनताबीचको लोकप्रियताले गठबन्धनको तर्फबाट नेपाली काँग्रेसको तर्फबाट मेयरका उम्मेदवार राजन श्रेष्ठ र नेकपा माओवादीको तर्फबाट उपमेयरको उम्मेदवार प्रभा बोगटीको प्रभाव निकै राम्रो देखिएको छ ।
पाचवर्ष सत्तामा बसेर पनि लोकप्रिय काम गर्न नसकेको तथा पाटी र संगठन प्रति इमान्दार नभई उल्टै पाटीको नेतृत्व विरुद्धको आन्दोलनको मार्चामा लागेको र अहिले मेयरको उम्मेदवारको टिकटको लागी मात्रै पुरानै घर नेकपा एमालेमा बसेको आरोप यसअघिका मेयर सञ्जु पण्डितलाई लाग्ने गरेको छ । त्यसको तुलनामा गठबन्धनबाट मेयरका उम्मेदवार राजन श्रेष्ठ र उपमेयरको उम्मेदवार प्रभा बोगटीले आफू आबद्ध संघसँस्था तथा जिम्मेवारीमा रहदाँ कर्तव्यबोध पूरा गरेको भन्दै अहिलेसम्म असल चरित्रको रुपमा लिने गरिएको छ ।
पालिकातहमा गठबन्धन गरेको बेलकोटगढी र तारकेश्वरमा नेकपा एमालेले यसअघि कै उम्मेदवारलाई उठाएको छ । यसअघि पनि मुख्यतः त्रिपक्षीय प्रतिस्र्धामा बिजयी हासिल गरेकोमा यो पटक उत्तिकै प्रतिस्पर्धा देखिएको छ । दुवै पालिकामा सांंगठानिक रुपमा नेकपा एमाले निकै बलियो छ भन यसअघि पुराएको योगदान, मतदाताबीचको आपसी समन्वयन लगायतले जित्नको लागी बलियो दाबेदारी देखाएको छ ।

May be an image of 5 people, people standing, tree and outdoors
यद्यपी, बेलकोटगढीमा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रको तर्फबाट जगतबहादुर गुरुङ र तारकेश्वरमा नेपाली काँग्रेसको तर्फबाट शिवप्रसाद अधिकारी दुई पाटीको भोटले चुनाव जितिन्छ भन्ने विश्वासमा रहेका छन् । दुवै पालिकामा नेकपा एमालेसंग नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धनबीच नै प्रतिस्पर्धा हुने भएपनि बेलकोटगढीमा नेकपा समाजवादीलाई गठबन्धनमा समावेश नगरी एक्लाए सगैँ नगरको प्रमुख र उपप्रमुख सहित वडातहसम्म नै उम्मेवदार उठाएको छ ।
सानो पाटी तर, नयाँ शक्तिको रुपमा देखिएको राप्रपाले समेत दुवै पालिकामा आफ्नो उम्मेदवार उठाएसगैँ मत विभाजनले नतिजाको समिकरण परिवर्तन हुनसक्ने पनि देखिएको छ ।

 

म्यागङको चुनावी रौनक उत्कर्षमा, काँग्रेसको पकड तोड्ने माओवादी केन्द्रको तयारी

देउराली । यही बैशाख ३० गते हुन लागिरहेको स्थानीयतहको निर्वाचनमा यसअघि नुवाकोटको गाँउपालिकाको बहुमत स्थानमा बिजयी हासिल गरेको नेपाली काँग्रेस यो पटक भने प्रतिस्पर्धामा अरु पाटी सरह देखिएको छ । यसअघिको चुनावमा काँग्रेसका उम्मेदवार अरु पाटीसंगको प्रतिस्पर्धामा निकै अग्रस्थानमा एकल शक्तिको रुपमा देखिने गरेको नेपाली काँग्रेस यो पटक भने नेकपा एमाले र माओवादी केन्द्र सरह त्रिपक्षीय प्रस्पिर्धामा देखिएको छ ।
नुवाकोटमा १२ स्थानीयतहमध्ये १० गाँउपालिकामा ७ वटामा काँग्रेस, दुई वटामा माओवादी केन्द्र र एकवटामा नेकपा एमालेले बिजयी हासिल गरेको थियो । अहिले नेकपा एमालेलाई एक्लाएर अघि बढ्ने नीति अनुसार सत्तारुढ दलहरुबीच तालमेल गरेर अघि बढ्ने बताएपनि दुई नगरपालिका र एक गाँउपालिका तारकेश्वरमा बाहेक अन्यत्र काँग्रेस र माओवादी केन्द्रबीच तालमेल नहुदाँ चुनावको नतिजा निकै बलियो प्रतिस्पर्धा हुने देखिएको छ ।
यसअघि काँग्रेसले जितेको म्यागङमा यो पटक कस्ले जित्ने मुख्य तीनदलबीचको प्रतिस्पर्धा देखिएको छ । नेपाली कांग्रेसका आसा तामाङ, नेकपा एमालेका मेघनाथ तामाङ र नेकपा माओवादी केन्द्रका सुकबहादुर तामाङ मुख्य प्रतिस्पर्धामा देखिएका छन् । नेकपा एमालेको लागी उम्मेदवारी दर्ताको दिन आन्तरिक विवाद र खुकुरी सहितको शक्तिप्रदर्शनले कमजोर बनाएको छ भने काँग्रेसका उम्मेदवारको लागी पाटी भित्रको गुट विवाद मुख्य बाधक देखिएको छ ।
फरक गुटको भएको भन्दै यसअघि वडाध्यक्ष जितेर सफल कार्यकाल चलाएको रुपबहादुर तामाङ, कमलबहादुर तामाङ र आतमसिंह तामाङले पुनः वडाध्यक्षको लागी टिकट नपाउदा कमलबहादुर तामाङले बागी उम्मेदवारी दर्ता गराएका छन् । यसअघिको उपाध्यक्ष शान्ति गुरुङले एकै गुटको भएपनि पुनः अपाध्यक्ष पदको लागी टिकट नपाएसगैँ यसअघिको चुनाव जितेको टिमलाई अब चुनाव जित्न कठिन देखिएको छ ।
नेकपा माओवादी केन्द्रका नेता काजीमान डंगोल सहितका एकसय जना कार्यकर्ताहरु नेकपा एमालेतर्फ लागेकाले कमजोर हुने अनुमान गरिएको नेकपा माओवादी केन्द्र भने सुधारात्मक देखिएको छ । यसअघिको चुनावमा तेश्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्र म्यागङमा यो पटक पार्टीका केही नेताहरु नेकपा एमाले तिर लागेपनि संगठन थप मजबुद, चलायमान, युवाहरुको सहभागिताले जितको लागी आवश्यक मत ल्याउनको लागी यो पटक अवसर र चुनौती दुवै देखिएको छ ।
साना पाटीको तर्फबाट म्यागङ गाँउपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका मानसिंङ तामाङ, जनता समाजवादी पार्टीबाट, विजय तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी र प्रदिक्षा वाइवा मंगोल नेशनल अर्गनाइजेसनको तर्फबाट दिएको उम्मेदवार ल्याउने मतले ठूला तीन दलको समिकरण परिर्वतन गराउन सक्ने पनि देखिएको छ ।
म्यागङको उपाध्यक्ष पदमा गंगामाया तामाङ नेकपा एमाले, सिता वाइवा–तामाङ नेपाली कांग्रेस, सम्झना गुरुङ नेकपा माओवादी केन्द्र, पैकु तामाङ जनता समाजवादी पार्टी र शन्तबहादुर तामाङ मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।
म्यागङमा बैशाख ३० गतेको चुनावको लागी १२ हजार ५७८ जना कुल मतदाता रहेका छन् । त्यो मध्ये ६ हजार १७७ जना पुरुष मतदाता र ६ हजार ४०१ जना महिला मतदाता रहेको निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।

किस्पाङमा एमाले र माओवादी केन्द्रबीच तालमेल, काँग्रेसलाई बनायो सकस

काहुले । यही बैशाख ३० गते हुन लागिरहेको स्थानीयतहको निर्वाचनमा पार्टीको केन्द्रीय परिपत्रलाई चुनौती दिदै नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच तालमेल भएको कारण नुवाकोटको किस्पाङ गाँउपालिकामा बलियो शक्तिको रुपमा रहेको नेपाली काँग्रेसलाई चुनाव जित्न यो पटक चुनौती देखिएको छ ।
यसअघि, नेपाली काँग्रेसले अध्यक्ष, उपाध्यक्ष सहित ५ मध्ये तीनवटा वडा जितेको भएपनि यो पटक भने बामगठबन्धनको रुपमा नेकपा एमाले र माओवादी केन्द्रको पलिकादेखि वडातहसम्मको तालमेलले बाहिरबाट हेर्नेलाई चुनावी प्रतिस्पर्धा रोचक र चुनाव खेल्नेलाई भने ठूलो चुनौती बनेको छ । यसअघिको चुनावमा अध्यक्षमा पराजित हुनुभएका वीरबल तामाङ पुनः नेकपा एमालेबाट अहिले पनि अध्यक्षमा नै उठ्नुभएको छ ।
यस्तै, यसअघिका बिजेता छत्रबहादुर लामा नेपाली कांग्रेसबाट अध्यक्षको उम्मेदवार उठ्नु भएको छ । नेकपा एमालेलाई माओवादीले समर्थन गरेको छ भने काँग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएको छ । यो सगैँ अध्यक्ष पदमा महेन्द्रमान तमाङ जनता समाजवादी पार्टी, सोममाया तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी, रामकृष्ण न्यौपाने स्वतन्त्र, शेरबहादुर तामाङ मंगोल नेशनल अर्गनाइजेसन र सुब बहादुर तामाङ जनसमाजवादी पार्टीबाट अध्यक्षका उम्मेदवार बनेका छन् ।
यस्तै, उपाध्यक्षमा दिलकुमारी मोक्तान नेपाली कांग्रेस र यसअघिको चुनावमा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार रहनुभएका अर्जुनप्रसाद न्यौपाने यो पटकको चुनाव नेकपा एमालेसंग तालमेल गर्दै नेकपा माओवादी केन्द्रको तर्फबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ ।
यस्तै, मिनमायाँ लामा जनता समाजवादी पार्टी, शर्मिला तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी, पुष्पा तामाङ मंगोल नेशनल अर्गनाइजेसनबाट उम्मेदवारी दिएका छन् ।
उपाध्यक्ष सहित वडा नं. १ देखि ३ सम्मको वडा नेकपा माओवादी केन्द्रलाई र अध्यक्ष सहित वडा नं. ४ र ५ को र्दुइ वटा वडा नेकपा एमालेले लिएर जसरी पनि चुनाव जित्ने र काँग्रेसको बलियो संगठन तोड्ने तयारीमा लागेको छ । तर, नेपाली काँग्रेसको उम्मेदवार छत्रबहादुर लामालाई हराउन केन्द्रिय परिपत्रको उल्लंघन गर्दै नेकपा माओवादी केन्द्रका पालिकादेखि जिल्लातहका नेताहरुले समेत नेकपा एमालेसंग गरेको तालमेल सफल हुनेमा चुनौती देखिएको छ ।
बामगठबन्धनले बनाएको रणनीति विरुद्ध नेपाली काँग्रेसको किस्पाङमा रहेको बलियो संगठन, यसअघि अध्यक्ष र उपाध्यक्ष सहितको ५ मध्ये तीनवटा वडामा बिजयी भएसगैँ जनप्रतिनिधिको रुपमा पाचवर्षे सेवा प्रवाहमा गरेको उत्कृष्ट कार्यसम्पादन, जनताको सुख–दुःखमा सदैव जहाँ पनि–जहिले पनि साथ दिदै आउनुभएका अहिलको नेपाली काँग्रेसबाट अध्यक्षका उम्मेदवार छत्रबहादुर लामा बलियो उम्मेदवारको रुपमा आफ्नो चुनावी अभियानलाई कायमै राख्नुभएको छ ।
यसअघिको चुनावको उम्मेदवारी दिने समयमा नेकपा एमालेबाट नेपाली काँग्रेसतिर लाग्नुभएका छत्रबहादुर लामाले सोही समयमा समेत नयाँ पाटी प्रवेशसगैँ सहजै चुनाव जितेको मनोबल यो पटक गठबन्धन हुदाँ पनि चुनाव जित्न सकिन्छ भन्ने विश्वासमा देखिनुभएको छ ।
त्यसको लागी किस्पाङमा रहेका १२ हजार १६१ जना कुल मतदाता जनता जनार्दनको रुपमा रहेका छन् । किस्पाङमा कुल मतदाता मध्ये ६ हजार ७९ जना पुरुष मतदाता र ६ हजार ८२ जना महिला मतदाता यो बैशाख ३० को चुनावमा मतदान गर्न योग्य देखिएका छन् ।

दुप्चेश्वरमा काँग्रेस र एमालेमा भाडभैलो, माओवादी केन्द्रका शंकर थापाको जित सुनिश्चित

समुन्द्रटार । स्थानीयतहको निर्वाचन २०७९ को लागी सत्तारुढ दलहरुबीचको तालमेल गरेर चुनावमा जने भनेपनि नुवकोटमा विदुर, बेलकोटगढी र तारकेश्वर बाहेक अन्य सबै पालिकामा नेपाली काँग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएको छ । नेपाली काँग्रेसले आफ्नो संगठन राम्रो रहेकाले अरु पाटीसंग तालमेल नगर्ने दम्भको साथ एक्लै चुनावमा उत्रिएसगैँ बाँकी पाटीहरुबीचको तालमेलले काँग्रेसको दम्भ र बलियो पहुँच रहेको पालिका मत परिणाम कमजोर हुने देखिएको छ ।
आफ्नो संगठन बलिया रहेको भन्दै तालेमेल नगरेको दुप्चेश्वर गाँउपालिकामा नेपाली काँग्रेसले यो पटक वडादेखि पालिका समेत गुमाउने देखिएको छ । उम्मेदवारी दर्ताको दिन नै उम्मेदवारको दाबेदारी रहेका योविन्द्रसिंह तामाङ नेकपा एमालेमा लाग्नु, यसअघिको उपाध्यक्ष रहेको अञ्जु आचार्यले आफ्नो दाबी अध्यक्ष भनेपनि अन्तिम समयमा पदको लागी पुनः उपाध्यक्षमा नै उम्मेदवारी दिनुले पनि दुप्चेश्वर काग्रेसमा पदीय लोभमा नेता र कार्यकर्ता देखिएसगैँ चुनावी माहोल काँग्रेसको कमजोर देखिएको छ ।
यसअघि राम्रो काम गरेको भनेर पुनः चुनाव जित्नेमा ढुक्क रहेका योविन्द्रसिंह सांगठानिक रुपमा कमजोर रहेको नेकपा एमालेमा लागेसगैँ चुनाव जित्न गाह्रो पर्ने देखिएको छ भने दुप्चेश्वरमा नेपाली काँग्रेसको लागी मुख्य ‘डोनर’ मानिएको नेता सुशील खड्का सहित काँग्रेसको ‘भोट बैंक’ रहेको घ्याङफेदीमा बलियो पहुँच बनाएका सुनबहादुर तामाङ, कृष्ण स्याङताङ लगायतका नेताहरु एमालेसगैँ दुप्चेश्वरमा काँग्रेसबाट अध्यक्षका उम्मेदवार पूर्णबहादुर तामाङ र उपाध्यक्षका उम्मेदवार अञ्जु आचार्यको माहोल खस्किएको छ । पूर्णबहादुर तामाङ केसी पक्षधर र अञ्जु आचार्य महत पक्षधर भएकाले पनि काँग्रेसका गुटको एक समूहले अर्को समूहलाई भोट दिनेमा आशंका छ ।
नेपाली काँग्रेस छाडेर नेकपा एमालेमा लागेकाहरुले धमाधम काग्रेसका थप कार्यकर्ता नेकपा एमालेमा समाहित गराउदै आएसगैँ चुनावी ्रचार अभियानको क्रममा काँग्रेसका उम्मेदवारहरु दुप्चेश्वर गाँउपालिकाको घरवस्तीमा पुग्दा यसअघि हुने गरेको जस्तो माहोल यो पटक ने निकै निराशाजनक देखिएको छ । महोल कमजोर भएसगैँ आत्तिएको नेपाली काग्रेसले आइतबार काँग्रेसका केन्द्रीय सदस्य अजुर्ननरसिंह केसी, जिल्ला सभापति रमेशकुमार महत, पूर्वजिल्ला सभापति जगदिश्वरनरसिंह केसी र सभापतिका प्रत्यासी डा.केदारनरसिंह केसी सहितलाई अतिथी बनाएर चुनावी सभा मार्फत काँग्रेसका उम्मेदवारलाई जुट गुटको भएपनि बिजयी गराउन आह्वान गरेका छन् । चुनाव सभामा निकै कम सङ्ख्यामा उपस्थित भएका कार्यकर्ताको सहभागिताले नेताहरुको अपिल पनि निरर्थक हुने देखिएको छ ।
नेपाली काँग्रेस भित्रको गुट र कलह, योग्य उम्मेदवारले टिकट पाउन नसक्नु, पाटीमा लागेकाहरु चुनावी मुखमा पाटी नै छाडेर अर्को पाटीको उम्मेदवार बन्नु लगायतको फाइदा नेकपा माओवादी केन्द्रलाई पुगेको छ । माओवादी केन्द्रबाट प्रभावशाली, सामाजिक व्यक्तित्व, पूर्व शिक्षक शंकरबहादुर थापा उम्मेदवार हुनुुहुन्छ । बेलायत पुगेका जेठो छोराबुहारीलाई बोलाएर आर्थिक कारोबारको जिम्मेवारी लगाउदै कान्छो छोराले अमेरिका बोलाएपनि राजनीतिक मार्फत समाजसेवा गर्दै शंकरबहादुर थापा दुप्चेश्वर गाँउपालिकालाई नमूना पालिका बनाउने अभियानमा होमिनुभएको छ । सोही कारण पनि उहाँको जित निश्चित देखिएको छ । समुन्द्रटार बजारमा बसेर व्यावसाय गर्दै आएको फाइदा, समुन्द्रटारबासी भएकाले सबै दल समर्थित मतदाताबाट पाएको साथ, इमान्दार छवी र यसअघिका पालिकाको अध्यक्ष र उपाध्यक्षले पुराएको सेवा पूर्वाग्रही र पाटीको गुट केन्द्रीय भएर दुःख पाएका जनताको लागी शंकरबहादुर थापा उत्कृष्ट उम्मेदवारको रुपमा मतदाता माझ लोकप्रिय रहनुभएको छ ।
नेकपा माओवादी केन्द्रले यसअघिको चुनावमा पराजित भएपछि निरन्तर रुपमा सक्रियताको साथ पुराउदै आएको सेवा, पाटीका शीर्ष तथा प्रवाशाली नेता राधिका तामाङ सहित हितबहादुर तामाङ लगायतको सक्रियता दुप्चेश्वरमा यो पटकको चुनावमा नेकपा माओवादी केन्द्रले उठाएको उम्मेदावार जितको लागी बलियो देखिएका छन् ।

 

विपक्षीको अराजक रोक्न नुवाकोटका प्रत्येक मतदान स्थलमा एकसय तरुण युवा परिचालन

त्रिशूली । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल नुवाकोटले आसन्न निर्वाचनलाई स्वच्छ र निश्पक्ष रुपमा सम्पन्न गराउन प्रत्येक मतदान स्थलमा एकसय जना तरुण युवाहरुलाई परिचालन गर्ने भएको छ ।
आसन्न स्थानीय तह निर्वाचनमा देशभरका मतदान केन्द्रहरुमा नेपाल तरुण दलले स्वयंसेवक परिचालन गर्ने केन्द्रिय कार्यसमितिको निर्णय अनुसार नुवाकोटमा पनि कायम रहेको १३२ मतदान स्थलमा एकसय जनाको दरले तरुण दलमा आबद्ध युवा खटाउन लागिएको नेपाल तरुण दल नुवाकोटका सचिव सुबन गिरीले जानकारी दिनुभएको छ । उहाँको अनुसार मतदानको दिन बैशाख ३० गते मतदातालाई सहज रुपमा मतदान गर्ने वातावरण तयार गर्नदेखि मतदाता शिक्षा सिकाउन, विपक्षी दलहरुबाट हुनेसक्ने अराजक गतिविधि रोक्न तथा खबरदारी गर्न प्रत्येक मतदान स्थलमा एकसय जना युवा परिचालन गर्न लागिएको छ ।
नेपाल तरुण दलको केन्द्रीय कार्य समितिको नीति अनुसार ‘एक बुथ : सय युथ’ अर्थात एक मतदान स्थलमा एक सयजना युवा परिचालन गरेर निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण र निश्पक्ष रुपमा चुनाव गराउन र त्यसक्रममा नेपाली काँग्रेस र काँग्रेस सहित अन्य दलहरुबीच तालमेल गरेर उठाएको उम्मेदवारलाई बिजयी गराउनको लागी भूमिका निर्वाह गर्ने खटिने युवाहरुलाई जिम्मेवारी तोकिएको छ ।
नेपाल तरुण दल नुवाकोटका सदस्य एंव विपी स्टडी युर्थ सर्कल नुवाकोटका अध्यक्ष सुवास पुरीको अनुसार मतदान स्थलमा खटिने तरुण युवाहरुले मतदातालाई भोट दिने तरिका सिकाउने, विपक्षी पाटी र उम्मेदवारबाट हुनसक्ने कानूनले निषेध गरेको गतिविधि भएमा रोक्ने तथा त्यसलाई रोक्न खबरदारी गर्दै प्रहरी–प्रशासनलाई सूचना उपलब्ध गराउनको लागी जिम्मेवारी तोकिएको छ ।
नेपाल तरुण दलको परिपत्र अनुसार स्थानीयतहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन तरुण दलले आ–आफ्नो सम्पूर्ण शक्तिलाई जिल्ला कार्यसमितिले वडा तहसम्म नै निर्वाचन परिचालन एवम् सहयोग समिति बनाई प्रत्येक बुथमा एक सयजना युवाहरुलाई खटाउन लागिएको तरुण दल जिल्ला सदस्य सुवास पुरीले स्पष्ट पार्नुभएको छ ।

काँग्रेसका उम्मेदवार बिजयी गराउन आह्वान :
यही बैशाख ३० गते हुन गिरहेको निर्वाचनमा उत्साहजजनक सहभागिा जनाएर नेपाली काँग्रेसका उम्मेदवारहरुलाई बिजयी गराउनको लागी नेपाल तरुण दल नुवाकोटका सचिव एंव नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासंघ बागमति प्रदेशका संयोजक सुवन गिरीले आग्रह गर्नुभएको छ ।


मतदान स्थलमा स्वंयम सेवकको रुपमा खटिने युवालाई निश्पक्ष रुपमा चुनाव सम्पन्न गराउने जिम्मेवारी पूरागर्न आग्रह गर्दै मतदान स्थल बाहिर रहने युवा र यातायात क्षेत्रका व्यवसायी तथा कर्मचारी लगायतलाई पनि व्यवसायी र श्रमिकहरुको साझा पाटीको रुपमा रहेको नेपाली काँग्रेसका उम्मेदवारलाई बिजयी गराउन नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासंघ बागमति प्रदेशका संयोजक सुवन गिरीले आह्वान गर्नुभएको हो ।
नेपाली काँग्रेसको युवा भातृ सँस्था नेपाल तरुण दल र समग्र यायायात व्यवसायीहरुको छाता सँस्थाको रुपमा रहेको नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासंघको समर्थनले नेपाली काँग्रेसका उम्मेदवारलाई जितको लागी मनोबल थप उच्च हुने विश्वास लिइएको युवा नेता ताथ व्यवसायी सुवन गिरीले विश्वास व्यक्त गर्नुभएको छ ।

कामी रिता शेर्पा २६औँ पटक सगरमाथाको चुचुरोमा

काठमाडौँ । आरोही कामी रिता शेर्पा २६औँ पटक सगरमाथा आरोहण गर्न सफल हुनुभएको छ ।

२६औँ पटक सगरमाथा चढ्ने उहाँ एकमात्र आरोही हुनहुुन्छ । सगरमाथाको चुचुरोसम्म बाटो बनाउने र डोरी टाँग्ने क्रममा सेभेन समिट ट्रेकिङ कम्पनीको टोलीका बाँकी १० जना सदस्यसहित कामी रिता पनि सगरमाथाको चुचुरोमा पुग्नुभएको हो । उहाँ पोहोर पनि सगरमाथाको चुचुरोमा जान लाग्नुभएको थियो तर परिवारको आग्रहपछि बीच बाटोबाटै फर्कनुभएको थियो ।

शेर्पाले आजभन्दा २८ वर्षअघि अर्थात सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गर्नुभएको थियो । २८ वर्षको अवधिमा २६ पल्ट सगरमाथा चढ्नुभएका कामी रिताले थुप्रै कीर्तिमान बनाउनुभएको छ । शेर्पाले दुई पटक केटू हिमाल, एक पटक ल्होत्से, तीन पटक मनास्लु र आठ पटक चोयु हिमाल आरोहण गर्नुभएको छ ।

थप १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एण्टिजेन गरी दुई हजार सात सय १६ जनाको नमूना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप २१ जना निको भएसँगै सक्रिय संक्रमितको संख्या दुई सय पाँच जनामा झरेको छ । २४ घण्टामा संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन् । थप ६९ हजार ६ सय ५६ जनाले कोरोनाविरुद्धको खोप लगाएको विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

१४ दिनपछि काठमाण्डौको फोहर व्यवस्थापन

काठमाडौँ । पासाङल्हामु राजमार्गअन्तर्गका स्थानीयको निरन्तरको अवरोधपछि सुरक्षाकर्मीको सहयोगमा आजदेखि काठमाण्डौ उपत्यकाको फोहर व्यवस्थापनको काम पुनः सुरु भएको छ ।

स्थानीयसँगको छलफलमा सहमति नजुटेपछि काठमाण्डाै महानगरपालिकाको पहलमा तीन सय जना सुरक्षाकर्मी खटाएर १४ दिनदेखि रोकिएको काठमाण्डौ उपत्यकाको फोहर व्यवस्थापन कार्य आजबाट गरिएको हो । पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण कम्पनीले समयमा नै काम सम्पन्न नगरेको भन्दै स्थानीयले उक्त स्थान भएर फोहरको गाडी जान नदिँदा काठमाण्डाैको १८ स्थानीय तहको फोहर सडकमा नै थियो ।

पटकपटकको छलफलमा पनि स्थानीयसँग सहमति जुट्न नसकेपछि कामपाले गृह मन्त्रालयको सहयोगमा मुड्कुखोलादेखि तीनपिप्लेसम्मको सडकखण्डमा उक्त सङ्ख्यामा सुरक्षाकर्मी खटाएको हो । पछिल्लो समय यही वैशाख ११ गतेदेखि पुनःकाठमाण्डाै उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य रोकिएको थियो । हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटस्थित सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाको अवरोधका कारण सडकमै फोहर रोकिएको हो ।

फोहर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा र लामो समयसम्म सडकमानै फोहोर रहँदा समस्या सुरु भएकाले सुरक्षाकर्मीको सहयोगमा व्यवस्थापन कार्य गरिएको कामपा वातावरण विभागका प्रमुख सरिता राईको भनाइ छ । उहाँका अनुसार विसं २०७० देखि सुरु गरिएको सडक हालसम्म पनि सम्पन्न हुन नसकेपछि स्थानीयको पटकपटकको अवरोधका कारण फोहर विसर्जनमा अवरोध हुँदै आएको छ ।

“यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ”, राईले भन्नुभयो, “त्यसका लागि बाटो छिटो मर्मत गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ ।” दुई वर्षको लागि भन्दै विगत १५ वर्षदेखि फोहर सिसडोलमा फोहर व्यवस्थापन भइरहेकाले उक्त स्थान पनि पूर्णरुपमा भरिएको छ । “तत्काल त्यसको पनि विकल्प खोज्नुपर्छ”, राईले भन्नुभयो ।

हाल फोहर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थलको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाले जनाएको छ । हरेक दिन उपत्यकाबाट एक हजार दुईसय मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिकटन फोहर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा दुईसय गाडी फोहर सिसडोल लैजाने गरिन्छ ।

उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । स्थानीयकै अवरोधका कारण गत फागुन र चैत महिनामा पनि ३२ दिन फोहरको अन्तिम व्यवस्थापन हुन सकेन । नियमित पानी पर्न सुरु भएको र वर्षाको समयमा अन्य समयकोभन्दा बढी फोहर निस्कने हुँदा आगामी दिन फोहर व्यवस्थापनका हिसाबले थप कठिनाइ हुने कामपाको भनाइ छ ।

यस्तै नेपाली सेनाले सगरमाथासहित चार वटा हिमालबाट १३ हजार सात सय ८१ किलो फोहर सङ्कलन गरेको छ ।

चुनाव प्रचारका क्रममा अरु दलको झण्डा प्रयोग नगर्न आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले सम्बन्धित दल तथा दलका उम्मेदवार बाहेक अन्य उम्मेदवारहरुले अरु दलको झण्डा प्रयोग गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गठबन्धन गरेर चुनावमा गएका दल तथा केही स्वतन्त्र उम्मेदवारले समेत अन्य दलको झण्डा प्रयोग गरेका दृष्य विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जाल मार्फत देखिएको भन्दै आयोगले उम्मेदवारसँग सम्बन्धित दलका झण्डा मात्रै प्रयोग गर्न निर्देशन दिएको छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ ले राजनीतिक दलको झण्डा तथा चिन्ह अरु कसैले प्रयोग गर्न नपाउने व्यवस्था गरेको भन्दै आयोगले फरक दलको झण्डा बोकेर मतदातालाई भ्रमित नपार्न आग्रह गरेको छ ।

प्रचार प्रसारको क्रममा एउटा उम्मेदवारले अर्कै दलको झण्डा र चिन्ह प्रयोग गरेमा मतदातालाई भ्रम सिर्जना हुने भएकाले यस्ता क्रियाकलापलाई आचारसंहिता उल्लङ्घन गरेको मानी कानून बमोजिम कारवाही तथा सजाय हुने आयोगले चेतावनी दिएको छ । अहिले दलहरुले चुनावी गठबन्धनको नाममा फरक दलको झण्डा प्रयोग गरेका छन् भने दलबाट बागी उम्मेदवारी दिएर स्वतन्त्र उम्मेदवारको मान्यता पाएका उम्मेदवारले पनि पार्टीकै झण्डा प्रयोग गरेर प्रचार प्रसार गरिरहेका छन् ।

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.