धानबाली भित्र्याउने बेला पानी परेपछि किसान चिन्तित

कार्तिक १, २०७८ मा प्रकाशित
Published at 2021-10-18

108 views

काठमाण्डौ – धानबाली भित्र्याउने बेला पानी परेपछि धेरै ठाउँका किसान चिन्तित भएका छन् । दशैँ सकिएलगत्तै धान भित्र्याउने योजना बनाएका किसानलाई समस्या भएको छ ।

दशैँको बेला धान पाक्ने समय हुने र घर गाउँमा जनशक्ति पनि धेरै हुने भएकाले धान पाकेको ठाउँमा यही बेला धान काट्ने र भित्र्याउने गरिन्छ । तर अस्तिदेखि पानी पर्न थालेपछि टीका सकिएलगत्तै धान काट्ने किसानको योजना बिफल भएको छ । कतिपय ठाउँमा त काटेर खेतमै सुकाएको धान पानीले भिजाएको छ । धान काट्ने बेलामा पानी पर्ने संकेत नदेखिए पनि धान काटेर सुकाउनेबित्तिकै पानी परेपछि नोक्सानी भएको किसानको गुनासो छ । धान नकाटेको ठाउँमा पनि वर्षाले धानको बोट ढलेको छ ।

मौसमको अवस्था बुझेर मात्रै धान भित्र्याउन कृषि विज्ञको सुझाव छ । मौसमविदले पर्सि बुधबारसम्म नै पानी पर्ने बताएका छन् । धान पाके पनि पानीले भिजाउनुभन्दा केही दिन पर्खनु नै उपयुक्त हुने कृषि विज्ञको भनाइ छ । धान काटेर खेतमै छोड्दा नोक्सान हुन सक्ने भएकाले सकेसम्म धान नकाट्न धानबाली विज्ञ हरिकृष्ण उप्रेतीले सुझाव दिनुभयो ।

धान धेरै नै पाकेर काट्नै पर्ने अवस्था भएमा काट्दै झार्दै गरेर सुरक्षित ठाउँमा लगेर राख्न सकिने उहाँले बताउनुभयो । उहाँका अनुसार धान काट्ने बित्तिक्कै पानी नपर्ने ओभानो ठाउँमा लगेर फिँजाएर राख्नुपर्छ र पछि घाम लागेका बेला सुकाउनुपर्छ । ओभानाे ठाउँमा लगेर राखेको धानलाई पनि बेला बेलामा चलाउने गर्नु पर्छ । त्यसो गर्न सकेमा नोक्सान हुन बाट जोगाउन सकिने उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.