दैलेखमा ग्यास र पेट्रोल खानी रहेको चिनियाँ अध्ययनको निष्कर्ष

भदौ २४, २०७८ मा प्रकाशित
Published at 2021-09-09

391 views

दैलेख । दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरिएको छ । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको हो । चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनमा यहाँ ग्यास र पेट्रोल भएको पुष्टि गरेको बताइएको छ ।

चिनियाँ टोलीले प्रतिवेदन पठाएपछि उत्खननका लागि थप प्रक्रिया अघि बढाइएको विभागका भूगर्भविद् डा. सुधीर रजौरेले बताउनुभयो । सर्भे गरिएको स्थानमा ग्यास र पेट्रोल छ भन्ने प्रमाणित भयो, उहाँले भन्नुभयो, अब कुन भू–भागमा कति परिमाणमा पेट्रोलियम पदार्थ वा ग्यास छ भनेर अन्तिम सर्भे हुनेछ ।

कोरोना भाइरस सङ्क्रमणको कारण देखाउँदै विज्ञ तथा प्राविधिकको टोलीलाई चीन सरकारले आउने अनुमति दिएको छैन । अहिले विज्ञ टोली चीनको प्राकृतिक स्रोत मन्त्रालयको अनुमति कुरेर बसेको उहाँको भनाइ छ । चार वटा क्षेत्रमा गरिएको सर्भेको नतिजा सकारात्मक देखिएको छ, उहाँले भन्नुभयो, टोली आउनासाथ धमाधम काम सुरु हुन्छ ।

दुवै देशका सरकारबीच जीटूजी सम्झौताअनुसार काम सुरु भएकाले यसलाई निरन्तरता पाउने विभागले जनाएको छ । विस्तृत सर्भे र ड्रिलिङको काम पनि अहिलेसम्म सकिन्थ्यो होला, भूगर्भविद् डा. रजौरेले भन्नुभयो, “कोभिडका कारण झन्डै डेढ वर्ष अन्वेषणको काममा ढिलाइ भएको छ ।

दैलेखका विभिन्न ठाउँमा २०७६ असोजदेखि अन्वेषणको काम सुरु गरिएको थियो । विभागले श्रीस्थान, पादुका, कोटिला, दैलेख बजार तथा कर्णाली राजमार्ग आसपासका क्षेत्रमा ड्रिलिङको काम सकिएको जनाएको छ ।

झन्डै १० वर्षअघि पनि दैलेखमा बलेको ग्यासकै कारण नेपालको कुनै भू–भागमा पेट्रोलियम पदार्थ हुन सक्छ भन्दै केही अन्तर्राष्ट्रिय कम्पनीले नेपालका विभिन्न १० वटा जिल्लामा अन्वेषण सुरु गरेका थिए । विभिन्न कारणले अन्वेषणका काम हुन नसकेपछि सरकारले सम्झौता रद्द गरेर चीनसँग नयाँ सम्झौता गरेको थियो । तत्कालीन समयमा ७२ लाख बढी अमेरिकी डलर खर्च गरिएको खानी तथा भूगर्भ विभागको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.