त्रिशुली बजारमा रहेको कपास उद्योगमा आगलागी

त्रिशुली । बिदुर नगरपालिकाको वडा नं.१ त्रिशुली बजारमा रहेको कपास उद्योगमा आगलागी हुदाँ करीब पाच लाख रुपैयाँ नोक्सान भएको छ ।

त्रिशूली बजार स्थित राममन्दिर नजिकै शान्ता तामाङले सञ्चालन गर्दै आएको कपास उद्योगमा विद्युतीय गढबढको कारण आगो लाग्दा सेतो कपास करिब ३०० किलो, कालो कपास करिब ६०० किलो जलेर नष्ट भएको नुवाकोट प्रहरीले जनाएको छ ।

यस्तै, उद्योगमा रहेको कपासको डस्ना, पल्ला र कपास पेल्ने एक थान उपकरण समेत जलेर पूर्ण रुपमा नष्ट भएको छ । आगो नियन्त्रणमा लिनको लागी विदुर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल सहित स्थानीयबासी खटिएका थिए ।

नुवाकोट र रसुवामा पूर्वाधार विकास कार्यालयले ४५६ योजना कार्यान्वयन गर्ने

त्रिशुली । नुवाकोट र रसुवा कार्यक्षेत्र रहेको पूर्वाधार विकास कार्यालय नुवाकोटले दुई जिल्लामा ४५६ योजना कार्यान्वयन गर्ने भएको छ । त्यसको लागी चालु आर्थिक वर्षमा करीब दुई अर्ब बजेट प्राप्त भएको कार्यालय प्रमुख बिरेन्द्रकुमार ब्रजाचार्यले जानकारी दिनुभएको छ ।

उहाको अनुसार सडक र पुल निर्माणको लागी कार्यान्वयनमा रहेका तेह्रवटा बहुवर्षीय सहित थप आएका समेत ४५६ योजनालाई एक अर्ब ९५ करोड रुपैयाँ बजेट प्राप्त भएको हो । बहुवर्षीय अन्तरगत नौ वटा सडक र चारवटा पक्कि पुललाई निरन्तरता दिन थप बजेट आएको छ भने बँकी अधिकांश योजना एक आर्थिक वर्षको लागी प्राप्त भएकाले अब काम सुरु गरेर समयमै सम्पन्न गर्न प्रक्रिया अघि बढाउन लाएिको छ ।

प्राप्त भएको बजेट, योजना तथा कार्यक्रम अनुसार बहुवर्षीय अन्तरगत नौ वटा योजनामा ५७ करोड रुपैयाँ, शहरी तथा स्थानीय सडकको ३४८ योजनामा ८८ करोड १० लाख रुपैयाँ, सडक मर्मतसम्भार र सुरक्षा तथा अन्य पूर्वाधारका २२ योजनामा तीन करोड ८० लाख रुपैयाँ, सडक पूर्वाधार विकास कार्यक्रम अन्तरगत १५ वटा योजनामा चार करोड १४ लाख रुपैयाँ प्राप्त भएको छ ।

यस्तै, सम्भावित प्रादेशिक सडक चारवटा योजनाको लागी ६ करोड, प्रादेशिक सडक एवम् झोलुङ्गे पुलको ४० वटा योजनालाई १८ करोड ११ लाख, सम्भावित रणनीतिक सडक तीनवटा योजनाको लागी चार करोड ५० लाख रुपैयाँ र बैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमको १७ वटा योजनाको लागी रु ११ करोड बजेट प्राप्त भएको छ ।

संघ सरकारबाट आएको सशर्त योजना र प्रदेश सरकारबाट नियमित कार्यक्रम अन्तरगत प्राप्त भएका योजनाको जिल्लास्थित पूर्वाधार विकास कार्यालयले ५० लाख रुपैयाँभन्दा ठूला योजनालाई निर्माण व्यवसायी मार्फत र सो भन्दाकमका योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन गरिने कार्यालय प्रमुख बिरेन्द्र ब्रजाचार्यले जानकारी दिनुभएको छ । उहाँको अनुसार उपभोक्ता समिति मार्फत गर्ने कामलाई सम्बन्धित पालिकाको सिफारिसको आधारमा सम्झौता गरेर काम सुरु गर्न योजनाहरु सम्बन्धित पालिकामा पठाइएको छ ।

चालु आर्थिक वर्षमा प्राप्त भएका योजनाहरु अधिकांश १० लाखदेखि ३० लाख रुपैयाँसम्मका रहेका छन् । ती योजना कार्यान्वयन गर्न कार्यालयलाई जनशक्तिको अभाव देखिएको छ । कार्यालयमा हाल प्रमुख सहित पाचजना इञ्जिनियर र छ जना सव–इञ्जिनियर गरेर कुल ११ जना प्राविधिक कर्मचारी कार्यरत रहेका छन् ।

प्रादेशिक कार्यालय भएकाले दुई पालिका तथा अन्तरजिल्ला जोड्ने ठूला स्वरुपका योजना कार्यान्वयन गर्नुपर्ने हो । तर, जनताको माग र जनप्रतिनिधिको सिफारिसमा टुक्रे योजनाले प्रश्रय पाएकाले पनि कार्यान्वयनमा चुनौती देखिएको हो ।

योजना सम्पन्न गर्न लागत मूल्याङ्कन, कार्यक्षेत्रको पहिचान, काम भइरहदाँको अनुगमन र भुक्तानीको लागी कार्यसम्पन्न पश्चात समेत गरेर एउटा योजनाको (कार्यक्षेत्र)मा कम्तिमा चारपटक प्राविधिक पुग्नुपर्ने भएपनि त्यसको लागी जनशक्तिको निकै कम भएकाले त्यो प्रक्रिया पूरागर्न कठिनाई भइरहेको छ ।

यसअघि साविक जिल्ला विकास समिति अन्तरगत रहने जिल्ला पूर्वाधार कार्यालयले गर्दै आएको कामको जिम्मेवारी हाल पूर्वाधार विकास कार्यालय मार्फत हुने गदै आएको छ ।

यस्तै, डिभिजन सडक मार्फत जिम्मेवारी सरेका सडकका स–साना योजना पनि हाल यही कार्यालयको जिम्मेवारीमा आएको छ ।

 

नुवाकोटका उम्मेदवारबाट ३० करोड जरिवाना असुलिने

त्रिशूली । तोकिएको समयसीमा भित्र निर्वाचन खर्च विवरण नबुझाउने नुवाकोटका उम्मेदवारहरुबाट करीब ३० करोड जरिवाना असुल हुने भएको छ ।

निर्वाचन आयोगले हालै सार्वजनिक गरेको समयमा निर्वाचन खर्च विवरण नबुझाउने जिल्लाका एक हजार ६९४ जना उम्मेदवारबाट २९ करोड ९७ लाख ५० हजार रुपैयाँ जरिवाना असुल गर्नुपर्ने जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार विदुर नगरपालिकामा प्रमुख पदका छ जना र उपप्रमुख पदका पाचजना रहेका छन् । बेलकोटगढीमा प्रमुख र उपप्रमुख पदका पाच–पाच जना गरेर दश जना उम्मेवारलाई जरिवाना तोकिएको छ । नगरपालिकाको प्रमुख र उपप्रमुखले जनही चार लाख ५० हजार रुपैयाँ तिर्नुपर्ने भएकाले निर्वाचन खर्च विवरण नबुझाएका २१ जनाबाट कुल ९४ लाख ५० हजार रुपैयाँ जरिवाना असुल गर्नुपर्ने देखिएको हो ।

नगरपालिकाको वडाध्यक्ष र वडा सदस्य पदका उम्मेदवार भएर समयमा निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारको सङ्ख्या ४२७ जना छन् । उनीहरुलाई निर्वाचन आयोगले जनही दुई लाख रुपैया जरिवाना तिनुपर्ने निर्णय गरेको छ ।

निर्वाचन आयोगको निर्णय अनुसार नगरपालिकाको वडाध्यक्ष र सदस्य पदका उम्मेदवारहरुबाट आठ करोड ५४ लाख रुपैया असुल गर्नुपर्ने देखिएको छ ।
यस्तै, गाँउपालिकातर्फ जिल्लामा रहेको दश गाँउपालिकामा अध्यक्ष र उपाध्यक्ष पदका ९० जना उम्मेदवारले निर्वाचन खर्च विवरण समयमा नुबझाएकाले जरिवानामा परेका छन् । उनीहरुबाट जनही तीन लाख ५० हजार रुपैयाका दरले तीन करोड १५ लाख रुपैया असुल गर्नुपर्ने जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिनुभएको छ ।

यस्तै, गाँउपालिकाको वडाध्यक्ष र वडासदस्य पदका उम्मेदवार भएर समयभित्र खर्च विवरण नबुझाएका उम्मेदवारको सङ्ख्या जिल्लाभरमा एकहजार १५६ जना रहेका छन् । उनीहरुलाई निर्वाचन आयोगले जनही एक लाख ५० हजार रुपैया जरिवाना लाग्ने निर्णय गरेको थियो । आयोगको निर्णय अनुसार गाँउपालिकाको वडाध्यक्ष र वडासदस्य पदका उम्मेदवारहरुबाट १७ करोड ३४ लाख रुपैया जरिवाना असुल गर्नुपर्ने देखिएको हो ।

गएको बैशाख ३० मा सम्पन्न भएको निर्वाचनको खर्च विवरण निर्वाचनको मत परिणाम सार्वजनिक भएको ३० दिनभित्र बुझाउनुपर्ने भनिएको थियो । त्यस समयमा खर्च विवरण नबुझाउने सूचीमा निर्वाचित जनप्रतिनिधिहरु समेत उल्लेख्य सङ्ख्यामा रहेका छन् ।

जरिवानाको निर्णय गरेको छ महिना भित्र भुक्तानी गरिसक्नुपर्ने जनाएको छ । निर्वाचित पदाधिकारीले उक्त अवधिमा भुक्तानी नगरे स्वतः पद जाने निर्णय भएकाले खर्च विवरण बुझाउन चासो नदिएपनि जरिवाना शुल्क भने समयमै दाखिला हुने विश्वास लिएको जिल्ला निर्वाचन अधिकारी गौतमले बताउनुभएको छ । उहाँको अनुसार निर्वाचन आयोगले गएको बैशाख ३० मा सम्पन्न स्थानीयतहको निर्वाचनको उम्मेदवारहरुको नामावली अहिले सार्वजनिक गरेको हो ।

कार्यपालिका र जिल्ला समन्वय समितिका अधिकांश उम्मेदवारले पनि खर्च विवरण बुझाउन बाँकी रहेकाले उनीहरुको हकमा के हुने भन्ने आयोगबाट निर्णय गर्न बाँकी रहेको छ ।

नुवाकोटमा स्थानीयतह निर्वाचन अन्तरगत पालिकातह, पालिकाको कार्यपालिका सदस्य र जिल्ला समन्वय समिति समेत गरेर तीन चरणको निर्वाचनमा दुई हजार १७३ जनाले उम्मेदवारी दिएका थिए । त्यो मध्ये तोकिएको समय भित्र खर्च विवरण बुझाउनेको सङ्ख्या ३१२ जना मात्र रहेको थियो ।

विदुर नगरपालिकाबाट त्रिशूली अस्पताललाई ‘न्यानो झोला’ र क्याल्सियम उपलब्ध

त्रिशूली । नुवाकोटको विदुर नगरपालिकाले त्रिशूली अस्पताललाई पचास हजार थान क्याल्सियम र तीनसय थान ‘न्यानो झोला’ उपलब्ध गराएको छ ।
अस्पतालमा परीक्षण गराउन पुग्ने गर्भवतीलाई क्याल्सियम तथा सुत्केरी र नवजात शिशुलाई लगाउने कपडा सहितको सरसफाईका सामाग्रि भएको न्यानो झोला नगरप्रमुख राजन श्रेष्ठले अस्पताललाई हस्तान्तरण गर्नुभयो ।

May be an image of 10 people and people standing
प्रादेशिक मन्त्रालय अन्तरगत रहेको त्रिशूली अस्पतालले जाँच गर्ने गर्भवतीलाई उपलब्ध गराउन क्याल्सियम र सुत्केरीलाई प्रदान गर्न कपडा सहितको सरसफाईका सामाग्रि अभाव भएको भनेर गरेको आग्रह अनुसार पहिलो चरणमा माग अनुसारको सामाग्रि उपलब्ध गराएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । अस्पतालको माग अनुसार अत्यावश्यक थप सहयोगका सामाग्रि नगरपालिकाको तर्फबाट उपलब्ध गराउने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

May be an image of 13 people, people standing and indoor
नगरपालिकाले अस्पताललाई उपलब्ध गराएको उक्त सामाग्रि रु.तीन लाख ६३ हजार लागतको रहेको छ । सामाग्रि हस्तान्तरणका क्रममा अस्पताल व्यवस्थापन तथा विकास समितिका अध्यक्ष राजु पण्डितले प्रदेशबाट प्राप्त हुने औषधि, जनशक्ती र उपकरण कटौती हुदाँ सेवा प्रवाहमा कठिनाई भएको गुनासो गर्नुभयो ।

May be an image of 9 people, people sitting and people standing
उक्त अवसरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.दिपेन्द्र पाण्डेले जाँच गराउन आउने गर्भवतीलाई क्याल्सियम खान पुर्जी दिएपनि फार्मेसीबाट खरिद गरेर खान वेवास्था गरेकाले अस्पतालले निःशुल्क उपलब्ध गराउदा उपभोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँको अनुसार कपडा र सरसफाई संलग्न रहेको न्यानो झोलाले अस्पतालमा सुत्केरी हुने आमा र नवजात शिशुको स्वास्थ्य सुनिश्चिततामा उल्लेख्य सुधार पुग्नेछ ।

May be an image of 10 people and people sitting
कार्यक्रममा त्रिशूली अस्पतालका पूर्वअध्यक्ष पारस अधिकारीले त्रिशूली अस्पतालको लागी पहिलो पटक विदुर नगरपालिका मार्फत प्रापतभएका सामाग्रिले गर्भवती, सुत्केरी र नवजात शिशुको लागी प्रत्यक्ष लाभ पुगेकाले आगामी दिनमा पनि नगरपालिका मार्फत थप सहयोगको अपेक्षा गरेको बताउनुभयो । उक्त न्यानो झोला र क्याल्सियम चक्की विदुर नगरपालिका मार्फत अस्पताललाई उलपब्ध गराउनको लागी पूर्व अध्यक्ष पारस अधिकारीले मुख्य भूमिका निर्वाह गरेर निरन्तरको प्रयासबाट सफलता मिलेको हो ।


नुवाकोट, रसुवा र धादिङ सहितका जिल्लाका बिरामीलाई सेवा पुराउदै आएको त्रिशूली अस्पताल बागमति प्रदेस सरकार मातहत सञ्चालित छ । यहाँ अत्यावश्यक सामाग्रि नुवाकोट र रसुवाका स्थानीयतह मार्फत सहयोग प्राप्त भएसगैँ सेवा विस्तार र गुणस्तर बनाउन मद्यत पुगेको अस्पतालले जनाएको छ ।

 

No photo description available.

No photo description available.

May be an image of 10 people and people standing

May be an image of 2 people and indoor

बनुवामा भासिएको सडक सञ्चालन

रसुवा । पहिरोको कारण गएको साउन २५ गतेदेखि अवरुद्ध बनेको पासाङल्हामु राजमार्गको रसुवा स्थित वेत्रावतीबाट कालिकास्थान पुग्ने बनुवामा भासिएको सडक सञ्चालनमा आएको छ ।

रसुवाको उत्तरगया गाउँपालिका वडा नं. ५ स्थित बनुवा घुम्ती नजिकै करिब ७० मिटर सडक क्षतिहुँदा सडक अवरुद्ध भएको सडक ४४ दिनपछि  बिहीबारदेखि सञ्चालनमा आएको हो । त्यस स्थानमा पुनः तारजालीको पर्खाल लगाएर सडक सञ्चालनमा ल्याउन सफल भएको सडक डिभिजन नुवाकोटका डिभिजन प्रमुख अमृतमणी रिमालले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार पासाङल्हामु मार्ग खुल्ला भएसँगै चीनबाट आयात भएका सामग्री रसुवाको टिमुरेदेखि काठमाडौँ लैजान, जिल्लामा सञ्चालित विकास निर्माणका सामग्री भित्र्याउन, खाद्य सामग्री ढुवानी गराउन, काठमाडौँ– रसुवा सिधा बससेवा सञ्चालन गराउन सहज भएको छ ।

सुरूमा त्रिशूली– सोम्दाङ सडकको नामाकरणबाट निर्माण भएको यस सडक अन्तर्गत बनुवा घुम्तीको क्षतिग्रस्त सडक २०४० सालमा निर्माण गरिएको थियो ।
त्यस स्थानमा नालीको भलपानीलाई उचित रुपमा निकास दिन नसक्दा साउन २४ गते रातिको भीषण वर्षाले सडक क्षति भएको थियो । यसबाट धानखेतसमेत नोक्सान भएको स्थानीय बासिन्दाले बताएका छन् ।

बनुवा घुम्तीको पहिरोस्थलमा ग्याबिन पर्खाल लगाई सतहको पुरै भागमा अनेत्रबाट ल्याइएको ढुङ्गा माटोले पुरेर सडकको जग तयार गरेर लगातार ढेड महिना गरिएको कामबाट सडक सञ्चालनमा ल्याउन सकिएको हो ।

नुवाकोटको त्रिशूली, बेत्रावति, धुञ्चे, स्याफ्रु रसुवागढी क्षेत्रमा अब आउजाउ गर्न सहज भएको छ । पहिरोले जगैदेखि बगाएको सडक निरन्तर ४४ दिनको प्रयासले ग्याबिन पर्खाल लगाएर सुचारु गराइएको हो । निर्माणमा संलग्न ठेकेदार कम्पनी सुन्धरादेवी निर्माण सेवाका प्रबन्ध निर्देशक रवीन्द्र बुढाथोकीको अनुसार पर्खाल उठाइएको सडकमा ग्राभेल हिलो भएकाले व्यवस्थापन गर्न केही समय लाग्ने देखिएको छ ।

राससको प्रधानसम्पादक एकराज पाठकसहित पत्रकारहरुलाई प्रेस काउन्सिल पुरस्कार प्रदान

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेस काउन्सिल नेपालले यस वर्ष घोषणा गरेका विभिन्न पुरस्कार आज शीतल निवासमा आयोजित एक समारोहमा प्रदान गर्नुभयो ।

सो समारोहमा यस वर्षको ‘प्रेस काउन्सिल गोपालदास बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार हरिबहादुर थापा र ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ अर्का वरिष्ठ पत्रकार माधव विद्रोहीलाई प्रदान गरियो । थापा इकागज डटकमका सम्पादक तथा विद्रोही राष्ट्रिय समाचार समितिका पूर्वबोर्ड सदस्य हुनुहुन्छ ।

त्यसैगरी यस वर्षको ‘प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार’ राष्ट्रिय समाचार समितिका प्रधानसम्पादक एकराज पाठकलाई प्रदान गरिएको छ । उहाँसँगै पत्रकारहरु दामोदरप्रसाद दवाडी, विमल योगी, मनोज जोशी, पुस्कर बुढाथोकी, भूपराज खड्का, कृष्ण केसी, निशा ओली, श्यामनाथ कुँवर र सुरेश धामीलाई सो पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरी राससकर्मी सञ्चिता घिमिरेलाई प्रेस काउन्सिल महिला सशक्तीकरण पुरस्कार र अर्का राससकर्मी रवीन्द्र काफ्लेलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्रदान गरियो । त्यस्तै प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार बालकृष्ण अधिकारी, नवराज छत्कुली, दिलबहादुर छत्याल र सुरेन्द्र काफ्लेलाई प्रदान गरिएको छ।

सो समारोहमा ‘प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार’ टेकराज थामी र ‘प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार’ मायामितु न्यौपाने, ‘प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार’ केशरराज क्षेत्री, दशरथ घिमिरे, प्रदीप परियार, महेश केसी, डिबी बुढा, शम्भु दङ्गाल, हरिबोल आचार्य, जीवन लामा, टपेन्द्र कार्की, राजेन्द्र धामी, हिमाकुमारी चेम्जोङ र मकर श्रेष्ठलाई प्रदान गरिएकोे छ ।

त्यसैगरी प्रेस काउन्सिल महिला सशक्तीकरण पुरस्कार रमा केसी, शारदा गैरे र सरिता ज्ञवालीलाई प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार हेमबहादुर (कमल) राना, अजय गोर्खाली र प्रवीणकुमार शर्मालाई प्रदान गरिएको छ । प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार जीवनकुमार पराजुली, आनन्द श्रेष्ठ र विजयरत्न तुलाधरले पाउनुभएको छ ।

त्यसैगरी यस वर्ष ‘प्रेस काउन्सिल आचारसंहिता पत्रकारिता पुरस्कार’ काठमाडौँबाट प्रकाशित हुने अन्नपूर्ण पोष्ट दैनिक र पर्साको आवाज एफएमलाई प्रदान गरिएको छ । सो पुरस्कार वितरण समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलगायत उपस्थित हुनुहुन्थ्यो ।

यी प्रदेशमा भइरहेको छ वर्षा

काठमाडौ । मनसुन न्यून चापीय प्रणालीको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चि प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिममा भारी वर्षाको सम्भावना छ । राति भने सुदूरपश्चिम र पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना छ ।

काठमाडौँ उपत्यकामा आज मौसम सामान्य बदली रहे पनि वर्षाको सम्भावना छैन । यद्यपि, शुक्रबार दिउँसो काठमाडौँमा हल्का वर्षाको सम्भावना रहेको मामौसमविद् मानन्धरले बताउनुभयो । उहाँले भन्नुभयो, “बागमतीमा आज वर्षाको सम्भावना छैन् आंशिकदेखि सामान्य बदली रहने छ, भोलि साँझ बागमतीमा वर्षाको सम्भावना छ ।”

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको महाशाखाले जनाएको छ । अहिले प्रदेश १, मधेश, गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । काठमाडौँको आज न्यूनतम तापक्रम २६ तथा अधिकतम तापक्रम ३० डिग्री सेल्सियस छ ।

मनाङको शैक्षिक अवस्था : शिक्षक छन्, विद्यार्थी छैनन्

मनाङ । हिमाली जिल्ला मनाङका अधिकांश विद्यालय बाल विकास कक्षाका भरमा मात्र अडिएका छन् । विद्यालय भए पनि विद्यार्थी न्यून छन् । अभिभावकले बालबालिकालाई अन्यत्र सार्ने गरेका कारण बाल विकास कक्षाबाहेकका विद्यार्थी न्यून भएका हुन् ।

शिक्षा विकास तथा समन्वय एकाइका अनुसार जिल्लाका २८ मध्ये १४ विद्यालयमा बाल विकास कक्षा मात्रै सञ्चालनमा छन् । नासों गाउँपालिकामा आठ, मनाङ ङिस्याङ गाउँपालिकामा दुई, चामे गाउँपालिकामा दुई र नार्पाभूमि गाउँपालिकामा दुई विद्यालयमा बाल विकास कक्षामा मात्रै विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख मतिलाल चपाईले जानकारी दिनुभयो । “भवन र शिक्षक भएका ती विद्यालयमा बालविकास कक्षाको पढाए सकिना साथ विद्यालय रित्तिने गरेका छन्”, उहाँले भन्नुभयो ।

मनाङमा बाढी पहिराको जोखिम र विद्यालय टाढा भएकाले विद्यार्थी घटेको हुनसक्ने अनुमान गरिएको छ । जोखिम अवस्थामा रहेका विद्यालयको अवस्थाले पनि विद्यार्थी अन्यत्र सरेको उहाँको भनाइ छ । शैक्षिक सुधारका विभिन्न कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयन गरिए पनि विद्यार्थी भने न्यून रहेको चपाईले बताउनुभयो । विद्यार्थी शून्य हुँदै जानुका विषयमा स्थानीय सरकारसमक्ष विभिन्न तवरबाट छलफल भइरहेको उहाँले बताउनुभयो ।

जिल्लाका चार पालिकाका विभिन्न विद्यालय विद्यार्थीविहीन भएका छन् । “विद्यालय भवन र शिक्षक छन् । विद्यार्थी छैनन् । यस्तो अवस्थामा विद्यालय बन्द गर्नुबाहेक कुनै विकल्प छैन”, चपाईले भन्नुभयो, “केही विद्यालयमा इसिडीका विद्यार्थी छन् ।” बाढीपहिराको जोखिम, विद्यालय टाढा हुँदा अभिभावकले बालबालिकालाई जिल्ला बाहिर आफन्तकोमा वा छात्रावासमा राखी पठनपाठन गराइरहेको अनुसन्धानका क्रममा पाइएको उहाँले बताउनुभयो ।

जोखिमरहित तवरबाट बालबालिकालाई पठनपाठनको व्यवस्था भएमा आफूसँगै राखेर पढाउने अभिभावकको भनाइ छ । बाल विकासदेखि कक्षा १२ सम्म कूल पाँच सय ४५ विद्यार्थी तथा एक सय ६१ शिक्षक रहेको शिक्षा विकास तथा समन्वय एकाइ मनाङले जनाएको छ ।

दाउरा काट्न गएका ११ किसानको गोली हानी हत्या

काठमाडौँ । नाइजरको दक्षिणपूर्वी क्षेत्रमा बोको हरामका संदिग्ध जिहादी लडाकूहरूले नाइजरका नौ र नाइजेरियाका दुई गरी ११ जना किसानको गोली हानी हत्या गरेको स्थानीय अधिकारीले बुधबार बताएका छन् ।

‘टौम्मौरबाट सात किलोमिटर टाढा बोको हराम निकट लडाकूले मङ्गलबार बिहान गोली हानेर ११ जना किसानको हत्या गरेका छन्,’ आक्रमणस्थल नजिकै रहेको सहरका मेयर इसा बोंगाले एएफपीलाई बताए ।

यो सहर लेक चाडको तल्लो क्षेत्र नजिकै डिफामा अवस्थित छ । यो एक क्षेत्र क्यामरून, चाड, नाइजर र नाइजेरिया गरी चार देशको सीमा एकाकार हुने क्षेत्र हो ।

बोको हराम र यसको प्रतिद्वन्द्वी ‘इस्लामिक स्टेट इन वेस्ट अफ्रिका प्रोभिन्स’ ले लेक चाड क्षेत्रका धेरै साना टापुहरूमा आफ्नो अखडा स्थापना गरेका छन् ।

हत्या गरिएका सबै ११ जना जङ्गलमा दाउरा काट्न गएका थिए ।

‘दाउरा खोज्न गएका अन्य १३ किसानलाई जिहादी समूहले बन्धक बनाइ राखेका छ भने ११ जनाको हत्या गरिएको छ,’ दक्षिणपूर्वी नाइजरको सुरक्षा समस्याबारे नजिकबाट रिपोर्टिङ गर्ने जेउनेस डिफा (डिफा युथ) नामक स्थानीय समूहले फेसबुकमा उल्लेख गरेको छ ।

चाड ताल छोड्ने आदेशको अवज्ञा गरेको भन्दै जिहादीहरूले यस महिनाको सुरुमा नाइजर र नाइजेरियाका कैयौँ मछुवाहरूको हत्या गरेका थिए ।

एक स्थानीय अधिकारीका अनुसार अगस्टको अन्त्यमा उनीहरूले स्थानीयलाई टापु छोड्न आदेश दिएका थिए र पालना नगर्ने केही मानिसहरूको हत्या गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घको मानव विकास सूचकाङ्कको मापदण्डका आधारमा विश्वको सबैभन्दा गरिब देश नाइजरमा सन् २०१२ मा उत्तरी मालीमा सुरु भएको जिहादी विद्रोहको चपेटामा परेको छ ।

नाइजेरियासँगको दक्षिणपूर्वी सीमामा पनि नाइजरले विद्रोहको सामना गरिरहेको छ । यो कुख्यात बोको हरामले सुरु गरेको अभियान हो ।

नाइजर, नाइजेरिया, क्यामरुन र चाडले सन् २०१५ मा बहुराष्ट्रिय संयुक्त कार्यदल (एमजेटीएफ) लाई पुनर्जीवित गरेका थिए ।

महिला एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौँ । बङ्गलादेशमा आउँदो असोज १५ अर्थात अक्टोबर १ तारिखदेखि सुरु हुने महिला एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

टी–२० महिला एसिया कप क्रिकेटको पहिलो दिनको खेलमा आयोजक बङ्गलादेश र थाइल्यान्ड तथा भारत र श्रीलङ्का खेल्ने छन् । प्रतियोगितामा आयोजक बङ्गलादेशसहित भारत, श्रीलङ्का, पाकिस्तान, यूएई, थाइल्यान्ड र मलेसिया सहभागी हुनेछन् ।

अक्टोबर १५ तारिखसम्म चल्ने प्रतियोगितामा २४ खेल हुनेछन् । यो प्रतियोगिताको सबैभन्दा सफल टोली भारत हो । भारत ६ पटक च्याम्पियन बनेको छ ।

आजदेखि अस्थायी मतदाता नामावली अद्यावधिक गरिने

काठमाडौँ । निर्वाचन आयोगले आजदेखि प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गतका समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने चुनावका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको छ ।

अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधि सभातर्फको समानुपातिक निर्वाचन प्रणाली तर्फमात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ । अस्थायी मतदाता नामावलीमा नाम समावेश हुन आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

सर्वोच्च अदालतले मतदाता नामावली ऐन, २०७३ मा भएको व्यवस्था बमोजिम अस्थायी मतदाता नामावली तयार गरी मताधिकार प्रयोग गर्न पाउने आवश्यक व्यवस्था मिलाउन निर्वाचन आयोगको नाममा यसअघि नै आदेश दिएको थियो ।

ऐनमा सरकारी कर्मचारी, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा, कैदी निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी सरकारबाट स्वीकृत लिइ सञ्चालन भएको वृद्धाश्रममा बसेका व्यक्तिको अस्थायी मतदाता नामावली सङ्कलन गरी मतदान गर्न पाउने व्यवस्था छ ।

असोज ८ गतेदेखि २६ गतेसम्म कार्यविधिमा उल्लेख भएअनुसार अस्थायी मतदाता नामावलीमा नाम समावेश गर्न (प्रदेश/जिल्ला निर्वाचन अधिकारी) को सम्बन्धित कार्यालय प्रमुखले प्रमाणित गरी प्रमुख दर्ता अधिकारीको कार्यालयमा पठाउनु पर्ने आयोगले जनाएको छ ।

आउँदो कात्तिक १ गते प्राप्त अस्थायी मतदाताको विवरण रुजु गरी सम्बन्धित निर्वाचन कार्यालयमा नामावली प्रकाशन गर्ने, कात्तिक २ देखि ३ गते अस्थायी मतदाता नामावलीमा नाम छुट भएका वा प्रकाशित विवरणमा त्रुटि भएका व्यक्तिले त्रुटि सच्याउन निवेदन दिने, कात्तिक ४ गते प्राप्त निवेदनउपर जाँचबुझ गरी संशोधित मतदाता नामावली प्रकाशन गर्ने, कात्तिक ५ देखि ६ गतेसम्म संशोधित अस्थायी मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिको सम्बन्धमा दाबी विरोधका लागि निवेदन पेस गर्ने व्यवस्था आयोगले मिलाउने भएको छ ।

दाबी विरोधको निवेदनउपर कात्तिक ७ देखि ११ गतेसम्म जाँचबुझ गरी निर्णय गर्ने, कात्तिक १२ देखि १३ गतेसम्म अन्तिम अस्थायी मतदाता नामावली तयार गर्ने र कात्तिक १४ गते अन्तिम अस्थायी मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ ।

यस्तै, निर्वाचन आयोगले आउँदो ११ गतेदेखि लागू हुनेगरी न्याय परिषद्को सिफारिसमा मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको सिफारिसमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव आउन अब ५९ दिन बाँकी छ ।

एमालेको तर्फबाट नुवाकोट क्षेत्र नं : १ ‘ख’ मा राजु लामाको दाबी

त्रिशूली । नेकपा एमाले प्रदेश कमिटी सदस्य राजु लामा आगामी मङ्सिर ४ मा हुने निर्वाचनमा नुवाकोटबाट प्रदेश सभा सदस्यको उम्मेदवार बन्ने तयारी थालेका छन् । लामो समयको पत्रकारितालाई बिट मार्दे सक्रिय राजनीतिमा होमिएका लामाले नुवाकोट क्षेत्र नं १ ‘ख’ तर्फबाट प्रदेश सभाको उम्मेदवार बन्ने बताएका हुन् ।

पार्टीले उनको नाम समानुपातिक उम्मेदवारको रूपमा सिफारिस गरेको भएपनि लामाले प्रत्यक्ष चुनाव लड्ने मनस्थिति बनाएको बताए । स्थानीय मतदाता र शुभेच्छुकहरूले आफूलाई प्रत्यक्ष उम्मेदवार बनेर चुनावमा होमिन सुझाव दिएकाले आफुले प्रदेश सभाका लागि प्रत्यक्षतर्फबाट उम्मेदवारी दिने तयारी थालेको उनको भनाई छ । नेपाल पत्रकार महासङ्घको पूर्व केन्द्रीय सदस्यसमेत रहेका लामा नुवाकोट एमालेभित्रका स्पष्ट भिजन दिन सक्ने बौद्धिक नेताका रूपमा चिनिन्छन् ।

पछिल्लो समय स्थानीय जनताकै बिचमा रहेर राजनीतिमा क्रियाशील उनी काठमाण्डौमा हुँदा समेत नुवाकोटवासीका सुख दुःखमा सहकार्य गर्दैआएकाले एमालेविरुद्धको महागठबन्धनलाई पराजित गर्नका लागि बलिया उम्मेदवार हुन सक्ने नुवाकोटका एमालेका नेताहरू बताउँछन् ।

नेकपा एकीकरणपछि एकताको निरन्तरता भन्दै एमाले उपाध्यक्ष बादलसँगै केपी ओलिको पक्षमा उभिएका नुवाकोटको ककनी गाउँपालिकाका लामाका कारण गएको स्थानीय निर्वाचनमा समेत एमालेले अघिल्लो निर्वाचनमा भन्दा उल्लेख मत बढाएको थियो ।

टिकटका लागि अन्य नेताहरूले समेत आकाङ्क्षा देखाएको भएपनि सो क्षेत्रमा तामाङ समुदायको उल्लेख बाहुल्यता रहेको र सबैभन्दा बढी मतभार ककनी गाउँपालिकामै पर्ने भएकाले प्रदेश सभाका लागि क्षेत्र १ को ख मा लामालाई अघि सार्दा पार्टीले जित निकाल्न सक्ने नुवाकोट एमालेभित्रका धेरैको बुझाई छ ।

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.