दाङको घोराहीमा चितुवाको छालासहित दुई जना पक्राउ

साउन ७, २०७८ मा प्रकाशित
Published at 2021-07-22

66 views

दाङ । दाङको घोराहीमा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम पश्चिम जिल्लाको मुसिकोट नगरपालिका वडा नं. १० चौखाबाङका ४५ वर्षीय पूर्णसिंह सुनार र जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं.९ का ३२ वर्षीय रामबहादुर दमाई रहेका छन् ।

उनीहरूलाई बुधबार बिहान साढे तीन बजेतिर घोराही उपमहानगरपालिका वडा नं. ३ गोग्लीमा चेकजाँचका क्रममा पक्राउ गरिएको दाङ जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिएका छन् ।

गोप्य सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएकाे हाे ।

"गजराज सिमेन्ट लेखेको बोरा भित्र संरक्षित वन्यजन्तु चितुवाको छालासहित दुई व्यक्ति हिँडिरहेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो," डीएसपी रिजालले भने ।

उनीहरूको साथबाट टाउकोदेखि पुच्छरसम्मको ५ फिट २ इञ्च लम्बाई र छातिको भागको चौडाई १ फिट ४ इञ्चको चितुवाको छाला बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएकाे छ ।

पछिल्लो समय वन्य जन्तुको छाला ओसार पसारमा संलग्न तथा लागु औषधका कारोबारीहरूलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.