जापानकी राजकुमारीले गरिन सर्वसाधारण युवकसँग विवाह

कार्तिक ९, २०७८ मा प्रकाशित
Published at 2021-10-26

108 views

काठमाडौँ । जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग विवाह गर्नुभएको छ । विवादका बीच उहाँले आज मङ्गलवार सामान्य प्रक्रिया अपनाएर विवाह गर्दै राजदरबारबाट बाहिरिनुभएको छ । त्यसअघि उहाँले आफ्ना बुबा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर बिदाइ अभिवादन गर्नुभएको थियो भने आफ्नी बहिनीलाई अँगालो हाल्नुभएको थियो ।

जापानको शाही परिवारसम्बन्धी नियमअनुसार उहाँले सर्वसाधारणसँग बिहे गरेसँगै उहाँको राजकीय पद पनि गुमेको छ । विश्वविद्यालयमा सँगै पढेका साथीसँग सुरु भएको राजकुमारी कोकोको प्रेम सम्बन्ध आजदेखि वैवाहिक सम्बन्धमा रूपान्तरण भएको हो । उहाँहरूको मगनी गएकाे सन् २०१७ मा भए पनि विवाहकाे मिति तय भएको थिएन ।

जापानका राजा नारुहितोकी ३० वर्षीया भतिजी माकोले उही उमेरका केइ कोमुरोसँग विवाह गर्नुभएको हो । उहाँका पति अमेरिकामा रहेकाे एउटा ल फर्ममा काम गर्दै आउनुभएको छ । विवाहपछि राजकुमारी माको पनि अमेरिका जानुहुने भएको छ । उहाँहरूको विवाहमा राजपरिवारका सदस्यको विवाहका बेला गरिने परम्परागत विधि पनि अवलम्बन गरिएको छैन भने उहाँले राजपरिवारबाट बिदा हुँदा महिला सदस्यले पाउने नगद पनि त्याग्नुभएको छ ।

यी दुवै कुरा परित्याग गर्ने उहाँ जापानको राजपरिवारकी प्रथम महिला सदस्य भएको बताइएको छ । राजपरिवारकी सदस्यले सर्वसाधारणसँग विवाह गर्न लागेको भन्दै उहाँहरूको विवाहका बारेमा टिकाटिप्पणी हुदै आएको थियो । विरोधकाबीच पनि शाही पदवीसमेत गुमाएर राजकुमारी माकोले सर्वसाधारण एक युवासँग विवाह गरेको विषय विश्वभरि भने सकारात्मक चर्चाको विषय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.