बेलकोटगढीको नगरप्रमुख गुरुङले कामरुदेवी माविलाई एक लाख ६० हजार दिनुभयो

दुईपिपल,डबली । बेलकोटगढी नगरपालिकाको नगरप्रमुख जगतबहादुर गुरुङले कामरुदेवी माध्यमिक विद्यालयलाई एक लाख ६० हजार रुपैयाँ दिनुभएको छ ।

नगरप्रमुख गुरुङले आफ्नो व्यक्तिगत रुपमा विद्यालयको लागी एक लाख ६० हजारको चेक आज विद्यालयको ६०औं बार्षिक उत्सव कार्यक्रमको अवसरमा प्रदान गर्नुभएको हो ।

उहाँले उक्त रकम बराबरको चेक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बच्चुराम लामिछाने र विद्यालयका प्रधानध्यापक सावित्री अर्याल (नेपाल)लाई हस्तान्तरण गर्नुभयो ।

शिक्षा र स्वास्थ्य क्षेत्रको परिवर्तनको मुख्य एजेण्डा बोकेर सक्रिय रहनुभएका समाजसेवी नगरप्रमुखले विद्यालयको शैक्षिक गुणस्तर बृद्धिको लागी आफूले व्यक्तिगत रुपमा एक लाख ६० हजार रुपैयाँ प्रदान गरेको जानकारी दिनुभयो ।


“कामरुदेवी माविको शैक्षिक गुणस्तर क्रमश राम्रो हुदै आइरहेको र थप सुधारको लागी अझै धेरै श्रोत र साधनले भरिपूर्ण बनाउनुपर्छ ।” उहाँले भन्नुभयो “नगरपालिकाको तर्फबाट गर्नसकिने सहयोग पालिकाको सम्पूर्ण विद्यालयको लागी तोकिएको मापदण्डको दायरामा रहेर गर्नुपर्ने हुन्छ । आफूले चाहे अनुसार प्रदान गर्न नमिल्ने हुदाँ विद्यायको सुधारको लागी व्यक्तिगत रुपमा नगद प्रदान गरेको हो ।”

साविकको दुईपिपल गाविसको सबैभन्दा पूरानो र पहिलो मावि सञ्चालन गरेको कामरुदेवी माविमा हाल बालकक्षा देखि कक्षा १२ सम्म अध्ययन हुदै आइरहेको छ ।

२०२१ सालमा स्थापना भएको उक्त विद्यालयले आइतबार स्थापनाको ६०औं बार्षिक उत्सव विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाएको छ ।

नेपालकाे ‘ए’ टाेली क्यानडा–११ सँग ४ विकेटले पराजित

काठमाडौँ । क्यानडा–११ सँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपालको ‘ए’ टोली ४ विकेटले पराजित भएको छ ।

नेपालले दिएको २ सय १७ रनको लक्ष्य पछ्याएको क्यानडाले ३ बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायो । क्यानडाका नवनीत धलिवालले ८० र निखिल दत्तले नट आउट ६७ रन बनाए । नेपालका शाहब आलमले २ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय १६ रन बनायो । नेपालका बसिर अहमदले नट आउट ५० रन बनाए । यस्तै रशिद खानले ४०, मयन यादवले ३५ रन बनाए । क्यानडाका साद बिन जफरले ३ विकेट लिए ।

३ खेलको शृङ्खलामा दोस्रो खेल पर्सि मङ्गलवार र अन्तिम खेल बिहीवार हुनेछ ।

चिम्टेश्वरको संरक्षण र प्रबद्र्धन गर्न बृहत्त बनभोजको तयारी पूरा

त्रिशूली । नेकपा एमाले बेलकोगढी नगरकमिटीको आयोजनामा फागुन ७ गते सोमबार चिम्टेश्वरमा अयोजित बृहत्त बनभोजको तयारी पूरा भएको छ ।
धार्मिक तथा पर्यटकीय रुपमा प्रसिद्ध ऐतिहासिक स्थान चिम्टेश्वरको संरक्षण र प्रबद्र्धन गर्नको लागी नेकपा एमाले बेलकोटगढीले आयोजना गरेको बृहत्त बनभोजको लागी आवश्यक तयारी पूरा गरिएको नेकपा एमालेको भातृ संगठन लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नुवाकोटका अध्यक्ष तथा बेलकोटगढी नगरपालिकाको नेता सूर्यबहादुर तामाङले जानकारी दिनुभयो ।

उहाँको अनुसार बृहत्त बनभोजको लागी दुई हजार भन्दा बढीको सहभागिता हुने निश्चित भएसगैँ सो स्थानमा एकसय चारपाङ्ग्रे सवारीसाधन, चारसय मोटरसाइकल राख्न सक्ने स्थानको प्रबन्ध गरिएको छ । नुवाकोटको प्रत्येक पालिकाबाट दुई–दुई वटाको दरले ठूला सवारीसाधनमा सहभागीहरु चिम्टेश्वर पुग्ने तयारीमा रहेका छन् ।


नेकपा एमाले बेलकोगढी नगरकमिटीले बृहत्त बनभोजको कार्यक्रम मार्फत पार्टीका नेताहरु सहित जिल्लाका दुई हजार भन्दा बढी कार्यकर्ता, समर्थक तथा शुभचिन्तकलाई सोमबार चिम्टेश्वरमा पुराएर चिम्टेश्वरको संरक्षण र प्रबद्र्धन गर्नको लागी नयाँ अभियानको शुभारम्भ गर्न लागेको हो ।

चिम्टेश्वरको महत्व :
चिम्टेश्वर महादेवस्थान नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा पर्दछ । यो धार्मिक तथा पर्यटकीय ऐतिहासिक स्थल साविकको बेलकोट, कुमारी, जिलिङ, दुईपिपल गाविसको सिमानामा पर्ने ऐतिहासिक, धार्मिक, पुरातात्त्विक एवं पर्यटकीय महत्त्वको क्षेत्र हो ।
यस पवित्र तिर्थस्थलको आसपासमा जडिबुटी, लोपोन्मुख पशुपन्छी, चराचुरुङ्गी तथा पुतलीहरू पाइने छ भने उक्त स्थानबाट गणेश, लाङटाङ, जुगल, दोर्जेलाक्पा आदि हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ, त्यहाँबाट राजधानी उपत्यकाको तीनवटै सहर, काभ्रेपलञ्चोक, सिन्धुपाल्चोक, धादिङ, दोलखा, मकवानपुर, रसुवा, चितवन र गोर्खाको समेत दृश्यावलोकन गर्न सकिन्छ ।

विश्व सालक दिवसको अवसरमा नुवाकोटमा हाजिरी जवाफ प्रतियोगिता

त्रिशूली । ‘विश्व सालक दिवस’को पूर्वसन्ध्यमा डिभिजन वन कार्यालय नुवाकोटले विदुर नगरपालिकास्तरीय माध्यमिकतह हाजिरी जवाफ प्रतियोगिता मार्फत सचेतना जगाएको छ ।

विदुर नगरपालिका वडा नं. १ स्थित त्रिभुवन त्रिशुली मा.विमा शुक्रबार आयोजित कार्यक्रममा नगरपालिका भित्रका ८ वटा विद्यालयहरू बीच हाजिरी जवाफ प्रतियोगिता मार्फत सालक संरक्षणको लागी विद्यार्थी, शिक्षक सहित सरोकारवालाहरुलाई सचेतना गराइएको हो ।

प्रतियोगितामा त्रिभुवन त्रिशुली मावि पहिलो हुदै नगद पाँच हजार, विरेन्द्र मा.वि.दोश्रो हुदै नगद चार हजार, महेन्द्र मा.वि तेश्रो हुदै नगद तीन हजार र तीनघारे पिपलडाँडा मा.वि.ले सान्त्वना स्थान हासिल गर्दै नगद दुई हजार प्राप्त गर्न सफल भएको छ ।

उत्कृष्ठ भएका विद्यालयका विद्यार्थीको लागी नगद रुपैयाँ सहित प्रशंसा पत्र र मायाको चिनो कार्यक्रमका प्रमुख अतिथी विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले डिभिजन वन कार्यालयले वन, वन्यजन्तु र वनपैदावरको संरक्षणको लागी आयोजना गरेको रचनात्मक कार्यक्रम निकै प्रभावकारी भएको भन्दै प्रशंसा गर्नुभयो ।

हाजिरीजवाफ प्रतियोगिताको आयोजक डिभिजन वन कार्यालय नुवाकोटका डिभिजनल प्रमुख रोशना पोखरेल (गुरागाई)ले विश्वभर हालसम्म विभिन्न आठ जातिका सालक पाइने भएपनि नेपालमा भने संकटग्रस्त अजस्थामा रहेको कालो सालक र लोपोन्मुख तामे सालक मात्र पाइने भएकाले संरक्षणको लागी सरोकारवालाहरु सबैले ध्यान दिनुपर्ने बताउनुभएको छ ।

नेपालमा नुवाकोटसंगको छिमेकी राष्ट धादिङको थाङसिङबेसी, काभ्रेको बलथली, काठमाडौँको नागार्जुन, रामेछापमा सेतो सालक पाइने वन्यजन्तुविज्ञले बताएकाले हामीहरुको घर नजिकै समेत सालक हुनसक्ने भएकाले त्यसलाई संरक्षण गर्नको लागी नियन्त्रणमा लिन, आक्रमण तथा सिकार नगर्न, समातेर घरमा पाल्ने प्रयास नगर्नको लागी अनुरोध गर्नुभएको छ ।

सामान्यतया दुई हजार ५ सय मिटर उचाइको सालको जंगलमा भेटिने सालकको दाँत हुदैन भने यसले ६० देखि ७० सेन्टिमिटरसम्म फैलने जिब्रोको सहयोगले धमिरा र कमिला खाएर जीवन जिउने गरेको डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख रोशना पोखरेल (गुरागाई)ले जानकारी दिनुभयो ।

विशेष गरेर रातको समयमा आहार खोज्न निस्कने सालक माटोकै रंगको भएकाले छुट्टयाउन मुस्किल पर्ने गरेको छ । कहीकतैबाट आक्रमणको चाल पाउँदा डल्लो परेर बस्ने भएकाले नियन्त्रणमा लिन सजिलो पर्ने भएकाले यसको सरंरक्षणमा गम्भीर हुन सानै उमेरका बालबालिका समेतलाई जानकारी गराउनको लागी विद्यालयतहस्तरीय हाजिरीजवाफ प्रयोगिता गरिएको उहाँले जानकारी दिनुभयो ।

सालकको बासस्थान :
सालक मध्य पहाडी क्षेर्त्रको ओसिलो भेकमा पाइन्छ। नेपालमा यिनीहरू चुरे पहाडको छेउँछाउँमा भेटिन्छन्। महाभारत पर्वत र यस श्रृङ्खलाका भित्री खोँचहरू जस्तै : धादिङ, काभ्रेपलाञ्चोक,गोर्खा, रामेछाप, संखुवासभा र सिन्धुली आदि जिल्लाका पारिला भीरहरू, नदी किनार र बेसीहरूमा पनि पाइएका छन्। धादिङको केवलपुर थानसिङबीचको बेँसीमा, काभ्रेको बलथलीमा र सिन्धुलीको नाकाझोजीमा करीब दुई फिट लामा, त्यस्तै काठमाडौैंको नागार्जुन क्षेत्रमा पनि सेता सालक पाइने कुरा स्थानीयबासीहरू बताउँदछन्।

सालकको आहारा :
सालकले मुख्य रूपमा धमिरा खान मन पराउँछ। तर यसले कमीला लगायत साना कीराहरू पनि खान्छ । खास गरेरधमिरालाई नियन्त्रण गर्न सक्ने अर्को जीव हो सालक । सालक धमिराको शत्रु हो । यौटा सालकले वर्षमा ७ करोडभन्दा बढी धमिरा र कीरा कमिला खान्छ । सालक विश्वमै लोपोन्मुख प्रजातिको जंगली जीव हो ।

सालकले किसानहरूको बालीनाली नोक्सान गर्ने कीरा, कमिला र धमिरा खान्छ । हामीलाई नोक्सान गर्न सक्ने कीरा धमिरालाई प्राकृतिक तरिकाले नियन्त्रणमा लिने हुँदा सालक मानव समुदायका लागि हितकारी जीव हो । तर केही वर्षयता यो जीव संकटमा छ । आकारमा न्याउरी मुसोजस्तो देखिने सालकका शरीरभर बाक्ला र कडा कत्ला हुन्छ । रातिमा मात्रै चर्न निस्कने हुनाले यसलाई कमैले देख्ने गरेका छन् । राष्ट्रियनिकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले सालकलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ ।

सालक लोप हुने कारण :
साइटिसले यसको व्यापार व्यवसायलाई दण्डनीय बनाएको छ । तर केही वर्षअघिसम्म मासुका लागि मारिने सालक पछिल्लो समय कत्लाका लागि विदेश चोरी निकासी हुने गरेको छ । तस्करहरू सालकको पिछा गर्दै यसलाई मारेर छाला र कत्ला बेच्छन् । कैयौँ तस्कर समातिएका पनि छन् । यसले गर्दा सालकको संख्या घट्दै गएको छ । सालक एसियाको नेपाल, चीन, भारत र श्रीलङ्काका साथै अफ्रिकामा पाइन्छ । यो धादिङ लगायत नेपालका विभिन्न जिल्लामा फेला परेको छ ।


नेपालमा समुद्र सतहदेखि दुई हजार मिटर उचाइको क्षेत्रमा सालक भेटिएको छ । काठमाडौँ उपत्यका, धादिङ, चितवन, सुर्खेत, बर्दियालगायत ४३ जिल्लामा यसबारे अध्ययन थालिएको छ । विश्वमा ८ जातिका सालक छन् । तीमध्ये नेपालमा दुई जातिका मात्र पाइन्छन् । यहा पाइने सालक कालो र तामे रंगका हुन् । आईयूसीएनले सालकलाई जोखिमपूर्ण र लोपोन्मुखजीवको सूचीमा राखेको छ । यसको संरक्षणमा चेतना जगाउन हरेक वर्ष सालक दिवस पनि मनाइन्छ । सालक मारेमा वा यसको अंगको व्यापार गरेमा ४० देखि ७५ हजार रुपैयाँसम्म जरिवाना, एकदेखि १० वर्षसम्म कैद या दुवै सजाय हुन सक्ने निकुञ्ज ऐनमा व्यवस्था छ ।

कक्षा–१२ को परीक्षा तालिका सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले यस वर्षको कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको हो ।

बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षा वैशाख २६ गतेसम्म चल्नेछ ।

यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गते देखि २७ गतेसम्म हुनेगरी यस अघि नै तालिका सार्वजनिक भइसकेको छ ।

वित्तीय क्षेत्रमा भ्रम फैलाएर राजनीतिक उद्देश्य पूरा हुँदैनः अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय बैंकबाट बचत फिर्ता गर, यो बैंक खत्तम हुँदैछ भन्ने हौवा फैलाएर बाहिरी संकट ल्याउने दुश्प्रयास भइरहेको बताउनु भएको छ । चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा. महतले भन्नुभयो, ‘म सरकारको तर्फबाट खबरदारी गर्न चाहन्छु, त्यस्तो प्रवृत्तिलाई हामी कुनै पनि हालतमा कारबाही गर्न ढिलो गर्दैनौं ।’

समाजमा गलत सन्देश दिएर, भ्रम फैलाएर हाहाकारको अवस्था सिर्जना गरेर राजनीतिक उद्देश्य प्राप्ति हुन्छ भन्ने कसैलाई लागेको छ भने त्यो सफल नहुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘त्यो प्रवृत्तिलाई राज्यले सहन सक्दैन, म खबरदारी गर्छु । बचतकर्ता, लगानीकर्ता र समग्र अर्थतन्त्रलाई नै विचलनतर्फ लैजाने प्रयास हो, यो सम्भव छैन ।’

लघु वित्तलाई कसरी स्वस्थ्य बनाउने भन्ने विषय अहिले सबैको चासोको विषय रहेको मन्त्री डा. महतले उल्लेख गर्नुभयो । पछिल्लो समय लघु वित्तमा देखिएको विचलन र समस्याबाट फाइदा उठाएर राजनीतिक उद्देश्य पूर्ति गर्ने प्रयास भइरहेको छ । लघु वित्त र सहकारीबाट ऋण लिएकाहरुलाई उपयोग गर्न खोजिएको छ । यो एकदमै खतरनाक प्रवृत्ति रहेको मन्त्री डा. महतले उल्लेख गर्नुभयो । ‘यो खतरनाक प्रवृत्ति सरकारले हेरेर बस्दैन र लघु वित्तमा जोडिएको सबै बचतकर्ताहरु मिलेर यसको प्रतिवाद गर्नुपर्छ’ मन्त्री डा. महतले भन्नुभयो, सँगसँगै लघु वित्तलाई स्वस्थ्य, पारदर्शी र गरिब र विपन्नलाई केन्द्रित हुनुपर्छ । लघु वित्तले मूल उद्देश्य छोडेर जानु हुँदैन ।’

लघु वित्तलाई नाफा कमाउने औजारको रुपमा उपयोग गर्नुहुँदैन । फाइदा उठाइ हालौं भन्नेहरुलाई निरुत्साहित गर्न मन्त्री डा. महतले आग्रह गर्नुभयो । उहाँले दुःख सुख गरेर सानो सानो लघु वित्तमा बचत गरेको हुन्छ, ती बचतकर्ताको निक्षेप सुरक्षा गर्नु हामी सबैको कर्तव्य भएको बताउनुभयो ।

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बिहान ११ बजे बस्ने बैठकको संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

आजको बैठकका लागि संसद सचिवालयले सम्भावित ७ वटा कार्यसूची पेश सार्वजनिक गरेको छ। पहिलोमा प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धि पत्र सभामुखले पढेर सुनाउनेछन्।

दोस्रो कार्यसूचीमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको छ। आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई १३ सांसदले प्रश्न सोध्ने छन् ।

सांसदसँगको प्रत्यक्ष प्रश्न-उत्तर संवादअन्तर्गत आजको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले सांसद गोकर्ण विष्ट, किरणकुमार साह र कालुराम राईले सुशासन, ओरालो लागेको अर्थतन्त्र र विदेशमा अलपत्र नेपालीको उद्धार योजनालगायत विषयलाई उठाउने भएका छन् ।

प्रधानमन्त्रीसँगको प्रत्यक्ष संवादमा यसपटक १५ जनाको समूह रहे पनि एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले प्रश्न टिपाएका छैनन् ।

यस्तै नेपाली कांग्रेसका गगन थापा, कान्तिका सेजुवाल, किशोरसिंह राठोरले प्रश्न सोध्नेछन्। कल्पना चौधरी, कल्पना मियाँ कुसारी, कुसुमदेवी थापा, खमबहादुर गर्बुजा, गणेश पराजुलीले पनि संवादमा सहभागी हुन आफ्ना प्रश्न खामबन्दी गरेर संसद् सचिवालयलाई बुझाएका छन् ।

ती प्रश्नको प्रधानमन्त्री दाहालले संसद बैठकमा जवाफ दिनेछन् ।

प्रधानमन्त्रीको प्रश्नोत्तरपछि राष्ट्रियसभाबाट उत्पत्ति भएको शहीद दरशथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सन्देशसहित टेबुल हुनेछ। त्यसपछि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले राष्ट्रियसभाबाटै उत्पत्ति भएको अनुगमन तथा मूल्यांकन विधेयक सम्बन्धि प्रतिवेशन पेर गर्ने कार्यसूची छ ।

त्यस्तै सांसद प्रेम सुवालले आर्थिक कार्यविधि तथा वित्तीय उतरदायित्व पहिलो संशोधन अध्यादेशलाई अश्वीकार गरियोस् भनि राखेको प्रस्ताव सभामा निर्णायार्थ पेश हुनेछ । त्यसपछि अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उतरदायित्व सम्बन्धी अध्यादेलाई स्वीकृत गिरियोस भनि निर्णायार्थ पेश गर्ने छन् ।

त्यसपछि अर्थमन्त्री महतले नै बैंकिङ कसुर तथ सजाय (दोस्रो संशोधन) विधयेक २०८० माथि विचार गरियोस भनी प्रस्ताव पेश गर्ने छन् ।

यी बाहेक सांसदका कुरा सुन्न शून्य समयको व्यवस्था हुने संसद सचिवालयले जनाएको छ ।

पञ्चकन्या जिल्लाव्यापी क्रसकन्ट्री दौडमा एलिसा र सुदीप च्याम्पियन

नुवाकोट । पञ्चकन्या जिल्लाव्यापी क्रसकन्ट्री दौड प्रतियोगितामा पञ्चकन्या गाउँपालिका-३ की एलिसा तामाङ र लिखु गाउँपालिका–४ का सुदीप राई च्याम्पियन भएका छन् । पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ र ४ मा पर्ने घ्याङस्वाँरा पार्कलाई केन्द्रमा राखेर पञ्चकन्या पर्यटन प्रवर्द्धन र युवालाई खेलकुदप्रति आकर्षित गर्न पञ्चकन्या जनकल्याण युवा समाजले शनिबार गरेको क्रसकन्ट्री दौडअन्तर्गत् महिला ११ किलोमिटर दुरी एलिसाले १ घन्टा १३ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हात पारिन् ।

पञ्चकन्या–२ की मेलिना पौडेल १ घन्टा २२ मिनेट २२ सेकेन्डबाट दोस्रो र पञ्चकन्या ५ की सुष्मा कार्की १ घन्टा २४ मिनेट २८ सेकेन्डबाट तेस्रो भएका थिए ।

सोही दुरीको पुरुषतर्फ सुदीपले ४७ मिनेट १४ सेकेन्डमा दौड पूरा गरेर पहिलो स्थान हासिल गरे । पञ्चकन्या-३ का सविन थापा ४७ मिनेट ३३ सेकेन्डबाट दोस्रो र म्यागाङ गाउँपालिकाका वीरसिंह तामाङ ४९ मिनेट ११ सेकेन्डबाट तेस्रो भएका थिए । पञ्चकन्या-३ का भोजबहादुर कार्की चौथो र बेलकोटगढीका विमल थापामगर पाँचौं स्थानमा आए ।

महिला र पुरुष दुवैतर्फ विजेताले २२ हजार, दोस्रोले १६ हजार र तेस्रोले १० हजार रुपैयाँ पुरस्कार पाए । दुवैतर्फ पाँचौं स्थानसम्मलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

पञ्चकन्या पालिकास्तरीय छात्रछात्रा ५ किमि दौडमा पञ्चकन्या वडा नं. १ की सविना राईले ३४ मिनेट १३ सेकेन्डबाट छात्रातर्फ स्वर्ण जितिन् । वडा ४ की सवित्री थापा ३४ मिनेट ३१ सेकेन्डबाट दोस्रो र वडा ३ की रुविना तामाङ ३४ मिनेट ४० सेकेन्डबाट तेस्रो भए । वडा नं. ४ की गौरी सुनुवार चौँथो र अस्मिता तामाङ पाँचौं भए ।

सोही दुरीमा छात्रतर्फ किरण तामाङ २३ मिनेट १३ सेकेन्डबाट पहिलो भए । सुरज तामाङ २४ मिनेट २२ सेकेन्डबाट दोस्रो र सुदेश तामाङ २५ मिनेट २६ सेकेन्डबाट तेस्रो भए । वडा ४ का सुदेश तामाङ र युवराज तामाङ क्रमशः चौथो र पाँचौं स्थानमा विजयी भए । शीर्ष तीन स्थानका विजेताले क्रमशः ११ हजार, ७ हजार र ४ हजार रुपैयाँ पुरस्कार पाए ।

११ किमि दुरीको दौडमार्ग लाकुरीभन्ज्याङ, थुमडाँडा, डाँडाटोल, घलेभन्ज्याङ, झकडेभित्ता, गाङ्तानटोल, घ्याङस्वाँरा सोही रुट हुँदै घलेभन्ज्याङमा टुंगिएको थियो । भने ५ किमि दुरीको दौडमार्ग लाकुरीभन्ज्याङ, थुमडाँडा, डाँडाटोल, घलेभन्ज्याङ, झिँगानेटोल, झगडेभित्ता सोही रुट हुँदै घलेभन्ज्याङ रहेको थियो ।

प्रतियोगिता समापनमा नेपालका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरलाई नगद १५ हजारसहित सम्मान गरिएको थियो । ७२ वर्षको उमेरमा पनि दौडका प्रतियोगिताहरूमा सहभागी भएर युवालाई दौडमा लाग्न प्रेरित गरिरहेकाले उनको खेलप्रतिको समर्पणको कदर गर्दै सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष टीकाराम तामाङले बताए ।

प्रतियोगिताको उद्घाटन गर्नुका साथै विजेतालाई प्रमुख अतिथि पूर्वमन्त्री हितबहादुर तामाङलगायतले पुरस्कृत गरेका थिए । प्रतियोगितालाई एथलेटिक्स परिवार नेपालको प्राविधिक सहयोगमा रहेको थियो ।

उच्चको फैसलापछि १० फागुनभित्र सरुवाको काम सक्न तारकेश्वरका स्कुलहरुलाई निर्देशन

नुवाकोट । तारकेश्वर गाउँपालिकाले काज सरुवा भएका सबै शिक्षकलाई १० फागुनभित्र हाजिर गराइसक्न सम्बन्धित सबै विद्यालयलाई निर्देशन दिएको छ ।

२ फागुनमा उच्च अदालत पाटनले सरुवा विरुद्धको रिट खारेज गरेसँगै ३ गते बसेको गाउँ शिक्षा समितिको बैठक बसेको थियो ।

बैठकको निर्णयअनुरूप ३ गते नै सबै विद्यालयलाई पत्राचार गरी सरुवा कार्यान्वयन सम्पन्न गर्न एक साताको समय दिइएको शिक्षा समितिका संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले जनाएका छन् ।

अदालतले सदर गरेको विषयमा अब कुनै बहाना चल्दैन,’ हामीसँग संक्षिप्त संवादमा अध्यक्ष अधिकारीले भने, ‘१० फागुनसम्म पनि काम सम्पन्न नगर्ने प्रधानाध्यापक र व्यवस्थापन समितिउपर तत्कालै कानुनी कारबाही सुरु हुन्छ ।’

किन्तु परन्तुका लागि अब कुनै ठाउँ बाँकी नरहेको बताउँदै उनले तत् तत् स्थानमा हाजिर भई इमानदारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्न सम्बन्धित सबै शिक्षकलाई सुझाब दिए ।

शिक्षाको गुणस्तर सुधारका लागि सबै शिक्षकको सरुवा गर्ने निर्णय गर्दै गाउँ शिक्षा समितिले १८ भदौमा पहिलो चरणमा ८६ जना शिक्षकको काज सरुवा गरेको थियो ।

सरुवाप्रति असन्तुष्टि जनाउँदै केही शिक्षक संगठनको अगुवाइमा उच्च अदालतमा दायर मुद्धामा पहिलो सुनुवाइमा उच्चले सरुवा रोक्न अन्तरिम आदेश दिएको थियो । दोस्रो सुनुवाइमा गाउँपालिकाका तर्फबाट दलिल पेस भएलगत्तै उच्चले अन्तरिम आदेश खारेज गरिदिएको थियो ।

सरुवा कार्यान्वयनको बाटो त्यतिखेरै खुलिसकेको भए पनि आम सहमतिलाई मध्यनजर गर्दै गाउँपालिकाले अन्तिम फैसला नआएसम्म कार्यान्वयनमा लचिलो हुने नीति अख्तियार गरेको अध्यक्ष अधिकारी बताउँछन् ।

अन्तिम फैसलासँगै सबै सवालको अन्त्य भएकाले १० फागुनभित्रै सबै प्रक्रिया सम्पन्न हुने उनको विश्वास छ ।

नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हरायो

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ काे दाेस्राे खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएकाे छ ।

नेदरल्यान्ड्सले दिएकाे १ सय ३८ रनकाे सामान्य लक्ष्य नेपालले १५ ओभर २ बलमा मात्र १ विकेट गुमाएर भेटायाे । नेपालका आसिफ शेख र अनिल शाहले अर्धशतक बनाए । आसिफ ५४ र अनिल ५७ रनमा नट आउट रहे । यस्तै कुशल भुर्तेल २८ रन बनाएर आउट भए । नेदरल्यान्ड्सका भिभान किङ्माले १ विकेट लिए ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे नेदरल्यान्ड्सले ३९ ओभरमा सबै विकेट गुमाएर १ सय ३७ रन बनायाे । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले सबैभन्दा धेरै ३३ रन बनाए । यस्तै बास दी लिडेले २७, सायब्रान्ड एङ्गलब्रेचले २३ रन बनाए । नेपालका कुशल भुर्तेलले ४, ललित राजवंशीले २ तथा साेमपाल कामी र कप्तान राेहित पाैडेलले समान १ विकेट लिए ।

अस्ति बिहीवारदेखि शुरु भएको लिगको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । नामिबियासँग नेपाल १ सय ३२ रनमा नै अलआउट भएको थियो ।

आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत २०२४ देखि २०२७ सम्मको शृङ्खलामा लिग–२ का शीर्ष ४ वटा टोलीले सिधै विश्व कप छनोट खेल्न पाउनेछन् । पुछारका ४ वटा टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

नेपालमै हुलाक टिकट छाप्न शुरु

काठमाडौँ । नेपालमै हुलाक टिकट छाप्न शुरु भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडसँगको समन्वयमा हुलाक सेवा विभागले टिकट छपाइ शुुरु गरेको हो ।

६४ वर्षपछि नेपालमै छापिएको हुलाक टिकट हिजोदेखि प्रचलनमा आएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनक शिक्षा सामग्री केन्द्रमा मुद्रण गरिएका ११ प्रकारका हुलाक टिकटमा प्रकाशनको प्रथम दिवसीय टाँचा लगाउनुुभएको हो ।

विभागका महानिर्देशक प्रदीप अधिकारीले नेपालमै टिकट छापिन थालेसँगै समय र लागत बचत भएको जानकारी दिनुुभयो । यसअघि भारत, इण्डोनेसिया लगायतका देशमा हुलाक टिकट छापेर ल्याउने गरिएको थियो ।

२०१६ सालदेखि रोकिएको हुलाक टिकट छपाइ ६४ वर्षपछि पहिलोपटक नेपालमा छाप्न थालिएको विभागले जनाएको छ । पहिलोपटक प्रचलनमा ल्याइएको हुलाक टिकट नेपालमै छापिएको थियो । सरकारी र औपचारिक कागजातमा हुलाक टिकटको प्रयोग हुने गरेको छ ।

बालकुमारी घटनामा मन्त्री ज्वाला दोषी रहेको निष्कर्ष

काठमाडौँ । ललितपुरको बालकुमारी घटनामा जाँचबुुझ आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासहित तीनजना दोषी भएको निष्कर्ष निकालेको छ ।

आयोगले हिजो उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा मन्त्री ज्वाला प्रदर्शन भैरहेको ठाउँमा पुग्दा मानवीय क्षतिको घटना हुन पुगेको उल्लेख छ । आयोगले प्रदर्शन र हुलहुज्जत भइहेको गलत ठाउँमा सुरक्षा व्यवस्थाको यकीन नगरि विभागीय मन्त्री पुग्नु मुख्य कमजोरी रहेको जनाएको छ ।

मन्त्री ज्वालालाई कारबाहीका लागि समेत आयोगले प्रधानमन्त्रीलाई सिफारिस गरेको छ । घटनाको नैतिक जिम्मेवारी लिन र मन्त्री ज्वालालाई सचेत गराउन समेत प्रतिवेदनमा सिफारिस गरिएको छ ।

यस्तै, बालकुमारीमा घटना हुँदा फिल्ड कमान्डरको जिम्मेवारीमा रहेका नेपाल प्रहरीका डीएसपी उमेश लम्साल र मन्त्री ज्वालाका पीएसओ सई बोधराज दनुवार पनि दोषी भएको छानबिन आयोगले जनाएको छ ।

पीएसओ दनुुवारले सुरक्षा नजरअन्दाज गरेर गलत ठाउँमा मन्त्रीलाई पुर्याएको र डीएसपी लम्सालले सुरक्षा मिलाउन नसकेर बल प्रयोग गरेको आयोगको निष्कर्ष छ । गएको पुस १३ गते दुई युवाको ज्यान जाने गरी ललितपुरको बालकुमारीमा भएको घटनाको छानबिन गर्न मन्त्रिपरिषद् बैठकले पुस १६ गते उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो ।

घटनालगत्तै गृह मन्त्रालयले बालकुमारी घटनामा संयमता नराखेको भन्दै सातदोबाटो वृत्तका प्रमुख डीएसपी लम्साल र मन्त्री ज्वालाका पीएसओ दनुवारलाई निलम्बन गरेको थियो । ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई गृह मन्त्रालय र प्रहरी प्रमुख सिद्धिविक्रम शाहलाई प्रहरी हेडक्वार्टर सरुवा गरिएको थियो ।

बालकुमारीमा रहेको ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयमा युवाहरुले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा अछामका २१ वर्षिय वीरेन्द्र शाह र दैलेखका २३ वर्षीय सुजन रावतको ज्यान गएको थियो ।

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.