खाने तेलको मूल्य वृद्धि

भदौ २७, २०७८ मा प्रकाशित
Published at 2021-09-12

123 views

काठमाडौँ । गत साउन २३ देखि भदौ २१ गतेको बीचमा नेपाली बजारमा खाने तेलको मूल्य अस्वाभाविक रुपले वृद्धि भएको छ । जेठ अन्तिमतिर कार्टुनमा केही सयले घटाइएको तेलको मूल्य झण्डै १० दिन बीचमा प्रतिलिटरमा १० देखि ३५ रुपैयाँसम्मले बढ्यो । करिब दुई साता चुप बसेका तेल व्यापारीले फेरि तेलको भाउ प्रतिलिटर १० रुपैयाँले वृद्धि हुनेगरी कार्टुनमा पुनः एक सय रुपैयाँले बढाए ।

नेपाल खुद्रा व्यापार संघकाअनुसार साउन २३ देखि भदौ २१ सम्मको एक महिनामा तेलको मूल्य लिटरमा ४५ रुपैयाँ र कार्टुनमा ४५० रुपैयाँले बढेको छ । जसअनुसार दुई साता अघि प्रतिकार्टुन दुई हजार दुई सय रुपैयाँमा पाइने फेमिली, अमृत, सुनौलो किरण लगायत ब्राण्डका तेलको मूल्य दुई हजार तीन सय रुपैयाँ पुगेको छ ।

सनफ्लो नामक तेलको प्रतिकार्टुन मूल्य २४ सयबाट बेढेर २५ सय रुपैयाँ पुर्‍याइएको छ भने धारा हेल्थको मूल्य २८ सयबाट बढाएर २९ सय रुपैयाँ प्रतिकार्टुन पुर्‍याइएको संघले जनाएको छ । ‘ठीक १२ दिनमा तेलको मूल्य फेरि बढेर आयो, अहिले लिटरमा १० रुपैयाँ मूल्य बढेको छ,’ असनमा किराना पसल चलाउने संघका सदस्य कबिन्द्र श्रेष्ठले भने । महँगिएका कारण धारा नामक तेल बिक्री गर्नै नसकिएको उनले बताए ।

नेपालमा एक वर्षमा मूल्य दोब्बरले वृद्धि हुँदा भारततर्फ खाने तेलको निकासी भने अर्बौंको रहेको भन्सार विभागको विवरणमा देखिएको छ
‘एक वर्षमा तेलको मूल्य दोब्बर भएको छ, उपभोक्तालाई हरेक साता मूल्य बढ्यो भन्न पनि लाज लाग्ने अवस्था आइसक्यो,’ श्रेष्ठले भने । गत वर्ष भदौंमा प्रतिलिटर १२० देखि १३० रुपैयाँ अधिकतममा बिक्री गरेका सबै प्रकारका तेलको मूल्य अहिले २४० रुपैयाँ भन्दा माथि रहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.