प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ ।

सरकार गठन भएको ६ महिना पुगेको सन्दर्भमा उहाँले दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

देउवा गएको असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । ६ महिने कार्यकाल सन्तोषजनक नभएको गुनासो भइरहँदा प्रधानमन्त्री देउवाले सम्बोधनमार्फत सरकारका उपलब्धिबारे जानकारी दिन लाग्नुभएको हो ।

काठमाडौंमा भेरोसेल खोपको बुस्टर डोज कार्यक्रम स्थगित

काठमाडौं । काठमाडौं जिल्लामा बुस्टर डोज खोप कार्यक्रम स्थगित भएको छ । भेरोसेल खोप अभाव भएपछि हालका लागि बुस्टर डोज दिन कार्यक्रम रोकिएको स्वास्थ्य कार्यलयका प्रमुख शम्भु काफ्लेले जानकारी दिए । तर, कोभिशिल्डको हकमा भने बुस्टर डोज खोप अभियान सञ्चालन भइरहेको छ ।

‘हामीसँग भेरोसेल खोपको मौज्जात नै कम थियो । सबै अस्पताल तथा खोप केन्द्रलाई दुई–तीन सय पठाउँदा अस्ति नै सकियो,’ काफ्लेले अनलाइनखबरसँग भने ,’विभागले भेरोसेलको खोप पाइपलाइनमा छ भन्ने जानकारी आएको छ । भेरोसेलको बुस्टर डोज लगाउने मानिसले केही समय अझै कुनुपर्ने हुन्छ ।’

‘अहिले बुस्टर डोज लगाउने धेरै मानिसहरु भेरोसेलका खोप लगाएका छन् । हामीसँग खोपको अभाव भएकाले व्यवस्थापन गर्न सकेका छैनौं,’ काफ्लेले भने । हाल काठमाडौं जिल्लामा २२ वटा खोपकेन्द्र खोप दिइरहेको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा पनि स्थगित

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले पनि परीक्षा स्थगित गरेको छ । आइतबारदेखि माघ मसान्तसम्म सबै परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रक मोहन बस्नेतले जानकारी दिए ।

आज बसेको परीक्षा निर्देशन समितिको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको नियन्त्रक बस्नेतले बताए । उनले भने ‘आज हामी बैठक बसिरहेका छौं । नौ गतेदेखि माघ मसान्तसम्म हाललाई सबै परीक्षा स्थगित गर्ने निर्णय गरेका छौं ।’ पीयूले पाँच वर्षे बीएएलएलबीको परीक्षा सञ्चालन गरिरहेको छ ।

कोरोना भाइरसको तेस्रो लहर तीव्र गतिमा फैलन थालेपछि विश्वविद्यालयले परीक्षा स्थगित गरेको हो । त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले पनि परीक्षा स्थगित गरेका छन् ।

आयोजक सहारालाई हराउँदै एपीएफको सहज जित

पोखरा । पोखरा रंगशालामा बुधबारदेखि सुरु भएको २० औं आहारारा गोल्डकपमा आयोजक सहारा क्लबलाई २-० ले हराउँदै विभागीय टिम एपीएफले जित निकालेको छ। एपिएफको जितमा आवास लामिछाने र प्रदीप लामाले समान १-१ गोल गरेका छन् ।

प्रतियोगिताको उद्घाटन खेलको १३ औं मिनेटमा एपीएफका आवास लामिछानेले पहिलो गोल गर्दै खेललाई अग्रता दिलाएका थिए। युरोपियन फुटबल खेलको अनुभव बटुलेका लामिछानेले जारी प्रतियोगिताको पहिलो गोलकर्ता बनेका छन्।

खेलको शुरूवातमै गोल खान पुगेकाले सहारा दबाबमा पुगेको थियो । निर्धारित पहिलो हाफमा १-० ले अग्रता लिएको एपिएफले दोस्रो हाफको सुरुआतमै दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाएको थियो।

खेलको दोस्रो हाफ ५९ औं मिनेटमा एपीएफका शनिष श्रेष्ठको लामो पासलाई कन्ट्रोल गर्दै प्रदीप लामाले बललाई दोस्रो गोल चुमाएका थिए । खेलमा आवास लामिछाने म्यान अफ दी म्याच घोषित भएका छन् ।

मोफसलकै चर्चित फुटबल प्रतियोगिताका रुपमा लिइएको आहारारा गोल्डकपको यसवर्षको संस्करण दर्शकबिना नै भइरहेको छ । कोरोना महामारीका कारण प्रशासनले भिडभाड गर्न रोकेकाले दर्शक बिनै प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिताको दोस्रो खेल शुक्रबार हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ ।१० वटा टिम सहभागी रहेको प्रतियोगिताको विजेताले १० लाख र उप-विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

भू-माफियाले व्यक्तिको नाममा पारेको मस्जिदको जग्गा सरकारको नाममा ल्याउन माग

काठमाडौँ । काठमाण्डौको सुन्धारामा रहेकाे मदनी मस्जिद रहेको सरकारी जग्गा व्यक्तिको नाममा गरिएको भन्दै मुस्लिम समुदायका अगुवाहरुले त्याे जग्गा सरकारको नाममा ल्याउन माग गरेका छन् ।

बिहिवार मुस्लिम आयोग, विभिन्न राजनीतिक दलका मुस्लिम समुदायसँग सम्बन्धित भातृ संगठनका प्रमुख तथा प्रतिनिधिहरुले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई भेट गरी सुन्धाराको मदनी मस्जिद रहेको जग्गा सरकारको नाममा ल्याउन माग गरेका हुन् । त्याे सरकारी जग्गा मुस्लिम समुदायले लामो समयदेखि भोगचलन गर्दै आएको भए पनि पछिल्लो समय भू-माफियाहरुले व्यक्तिको नाममा पारी जग्गा हडपेको सरोकारवालाले बताएका छन् । मन्त्री श्रेष्ठलाई त्याे जग्गा मस्जिद कायम रहनेगरी सरकारको नाममा ल्याउन अनुरोध गरिएको र उहाँले सो जग्गा सरकारको नाममा फिर्ता आउने तथा मस्जिद कायम रहने आश्वासन दिनुभएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आउँदो आइतवारदेखिका सबै परीक्षा स्थगित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले एक सूचना निकालेर माघ ९ गतेदेखिका सबै परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको जानकारी गराएको हो । आज बसेको बैठकले कोरोना संक्रमणको बढ्दो जोखिमको कारण विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ ।

यस अघि बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका परीक्षामा स्वास्थ्यका मापदण्ड पालना भए-नभएको अनुमगन गरी नभएको भएमा परीक्षा रोक्न निर्देशन दिनुभएको थियो । काठमाण्डौ विश्वविद्यालयले यस अघि नै आफ्ना परीक्षा स्थगित गरिसकेको छ ।

लोकसेवा आयोगको लिखित परीक्षा स्थगित

काठमाडौँ । लोकसेवा आयोगले माघ महिनामा हुने भनिएका आफ्ना सबै लिखित परीक्षा स्थगित गरेको छ । आयोगको आज बसेको बैठकले माघ मसान्तसम्मका लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको उपसचिव एकनारायण शर्माले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

आयाेगमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको र माघ ११ गतेदेखि मसान्तसम्म सञ्चालन हुने पूर्वनिर्धारित सबै लिखित परीक्षा अहिलेका लागि स्थगन गर्ने र ती परीक्षा तथा फागुन एक गतेदेखि सञ्चालन हुने लिखित परीक्षा कार्यक्रम कम्तिमा ७ दिन पूर्व सूचनामार्फत पूनःतालिकीकरण गरी सञ्चालन गर्ने आयोगले जनाएको छ । लोक सेवाका अरु कार्यहरु भने यथावत सञ्चालन हुने विज्ञप्तिमा उल्लेख छ ।

१२ हजार तीन सय ३८ जनामा कोरोना पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा १२ हजार तीन सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २७ हजार चार सय ९७ जनाको नमूना परिक्षण गर्दा ४४ दशमलव ८७ प्रतिशत अर्थात् १२ हजार तीन सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज संक्रमण पुष्टि भएका मध्ये ६ हजार नौ सय ८१ जना काठमाण्डौ उपत्यकाका रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ६ सय ४९ जना निको भएका छन् । थप चार जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका मन्त्रालयले जनाएको छ ।

अहिले देशभर गरी ५७ हजार तीन सय २८ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख ३४ हजार दुई सय १४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

ढुङ्गा र हँसिया प्रहार गरी श्रीमानको हत्या

रोल्पा । एक महिलाले यहाँ आफ्नै पतिको हत्या गरेकी छिन् । सुनछहरी गाउँपालिका-६ फगाम झिरवाङकी ४१ वर्षीया मीना पुनले ४५ वर्षीय पति काले पुनको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

मानसिक सन्तुलन ठीक नभएकी मीनाले पति काले गोठमा सुतिरहेको अवस्थामा एक्कासि हँसिया र ढुङ्गा प्रहार गरेको बताइएको छ । पत्नी मीनाले पति कालेको हत्या गरेको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय जेल्वाङको प्रहरी टोली घटनास्थल पुगी अभियुक्त मीनालाई नियन्त्रणमा लिएको थियो ।

घटनामा संलग्न मीनालाई जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्ण रानाले जानकारी दिए ।

अभियुक्तलाई इलाका प्रहरी कार्यालय सुलिचौरको हिरासतमा राखिएको छ ।

आगो ताप्ने क्रममा जलेर एक जनाको ज्यान गयो

सर्लाही । सर्लाहीकाे गोडैता नगरपालिका-११,सिसौटियामा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धाको ज्यान गएको छ ।

घरमा आगो बालेर ताप्दै गर्दा शरीरमा आगो सल्किएरपछि गम्भीर घाइते हुनुभएकी ७५ वर्षीया देवकली देवीको उपचारको लागि जिल्ला अस्पताल मलंगवा ल्याउँदै गर्दा गए राति बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। चिसो छल्न अहिले गाउँघरमा आगो बालेर ताप्ने क्रम बढेको छ ।

ओमिक्रोन भेरियन्टलाई सामान्य रूपमा नलिन डब्ल्यूएचओको आग्रह

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डाक्टर टेड्रोस एड्नोम गेब्रेयससले कोभिड–१९ को नयाँ भेरियन्टलाई सामान्य रूपमा नलिन आग्रह गर्नु भएको छ ।

जेनेभामा आयोजित पत्रकार सम्मेलनमा उहाँले ओमिक्रोन भेरियन्टले यसअघिको डेल्टाभन्दा कम जटिल प्रकारको कोभिड गराउँछ भनेर बेवास्ता नगर्न विश्व समुदायलाई आग्रह गर्नुभएको हो ।

ओमिक्रोन अन्य भेरियन्टभन्दा कम घातक हुन सक्ने भए पनि यसलाई नजरअन्दाज गर्न नहुने उहाँको भनाइ छ ।

गेब्रेयससले ओमिक्रोनका कारण मानिसहरू अस्पताल भर्ना भइरहेको र ज्यान पनि गएकाले सचेत हुनु पर्नेमा जोड दिनु भएको छ । यस्तै, उहाँले तत्काल कोभिड महामारी अन्त्य नहुने पनि बताउनु भएको छ ।

सुनको भाउ एक हजार रुपैयाँले बढ्यो

काठमाडौं । सुनको भाउ आज एक हजार रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९२ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ आज बढेर ९३ हजार सात सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ३० रुपैयाँले बढेर तोलाको एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.