कोरोना बढेसँगै अस्पतालहरुमा चाप धेरै

साउन १७, २०७८ मा प्रकाशित
Published at 2021-08-01

182 views

टोकियो, जापान । कोरोना भाइरस संक्रमित भएपछि स्वास्थ्य खराबिले अस्पताल भर्ना हुनेको संख्यामा उच्च बृद्धि भएको छ । संक्रमितको दैनिक संख्या बढेसँगै अस्पतालहरुमा देशभर भर्ना भइरहेका र भर्ना हुन चाहनेको चाप थामिनसक्नुको देखिन थालेको छ । संक्रमित र अस्पताल भर्ना भएकाहरु मध्ये ग्लोबल हेल्थ एण्ड मेडिसिन राष्ट्रिय केन्द्रको एक समूहले संक्रमण मार्ग बारे जानकारी लिंदा कहाँबाट संक्रमण भएको भन्ने कुरामा अज्ञात भएकाहरुको संख्या बढ्दो छ । नेशनल सेन्टर फर ग्लोबल हेल्थ एण्ड मेडिसिनका डा. शिनिचिरो मोरियोकाको एक समूहले २० बर्ष वा सोभन्दा माथिका बिरामीहरुका बीचमा गरेको अध्ययनले अधिकाशं व्यक्ति कहाँबाट संक्रमित भए भन्ने अज्ञात देखिएको छ । जुन २२ को अन्त्य सम्म एक महिनासम्म नयाँ कोरोना भाइरसका कारण अस्पताल भर्ना भएका व्यक्तिहरुसँग गरिएको सर्वेक्षणले लगभग दुई तिहाई व्यक्तिले आफु कहाँबाट संक्रमित भएँ भन्ने अनुमान गर्न नसकेको पाइएको छ । धेरै जसो साथीहरुसंग डिनर, धेरै मानिसहरुसंग जन्मदिनको पार्टीहरु र मास्क बिना घरमा प्रत्यक्ष भेटघाटमा रहँदा संक्रमित भएको ठानिएको छ । केहि घटनाहरुमा मास्क नलगाई काम गरेको, काममा कुराकानी गरेको संक्रमितहरुले बताएका थिए । अनुसन्धान समूहका अनुसार जोखिम अत्यधिक संक्रामक डेल्टा भाइरसका कारण बढेको छ । डा. मोरियोकाले भने 'यो स्पष्ट भइसकेको छ कि खतरनाक भनिएका स्थानहरु अझै उच्च जोखिममा परेका छन् । यसमा रेष्टुरेण्टहरु, पार्टी, जमघट पहिलो नम्वरमा पर्छन् । उनीहरु सामान्य ठानेर गलत सोचको साथ काम गर्छन् र संक्रमित हुन्छन । केहि मानिसहरु गम्भीर बिरामी हुन्छन, कतिपयले सामान्य असावधानीले ज्यान गुमाउनुपर्ने हुन्छ ।' जापानमा चारदिन यता लगातार १० हजार भन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइरहेको छ । पछिल्लो पटक अगष्ट महिनाको पहिलो दिन आईतबार १० हजार १ सय ७७ संक्रमित थपिएको र संक्रमणबाट कम्तिमा ५ जनाले ज्यान गुमाएका छन् । दैनिक संक्रमितको संख्या उच्च पाइरहँदा निधनको संख्या कम देखिएपनि गम्भिर बिरामीको संख्या बढिरहेकाले निकट भविष्यमा मृतकको संख्यामा उच्च बृद्धिहुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.