कांग्रेसले प्रमुख विपक्षी दलको सुविधा पाउने

काठमाडौँ । नेपाली कांग्रेसले प्रमुख विपक्षी दलको सुविधा पाउने सङ्घीय संसद् सचिवालयले जनाएको छ । सचिवालयका उपसचिव रामहरि थापाले हिजो बेलुका सिंहदरबारमा रहेको कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेखेर यसबारेमा जानकारी गराउनुभएको छ ।

संसद् सचिवालयले कांग्रेस संसदीय दलको कार्यालयलाई लेखेको पत्रमा प्रतिनिधि सभामा शेरबहादुर देउवाले प्रमुख विपक्षी दलको नेताको हैसियतले प्राप्त गर्ने सुविधा माग गरेको र त्यसअनुसार सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को सम्बन्धित दफाहरु र अनुसूची–१ तथा अनुसूची–२ बमोजिम हुने ब्यहोरा उल्लेख छ ।

सङ्घीय संसद् सचिवालयले यसअघि पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख विपक्षी दलको हैसियतमा प्राप्त गर्ने सुविधा माग गरेको आधारमा पत्र लेखिएको जनाएको हो । विपक्षी दलका नेताले प्रतिमहिना पारिश्रमिक ६० हजार ९ सय ७० रुपैयाँ पाउनेछन् ।

त्यस्तै विशेष भत्ता प्रतिमहिना १ हजार, बैठक भत्ता प्रतिदिन १ हजार, सञ्चार सुविधा प्रतिमहिना ३ हजार, आवास सुविधा प्रति महिना २५ हजार ६ सय ८ रुपैयाँ पाउनेछन् । त्यस्तै फर्निचर खर्च एकमुष्ट १५ हजार, निजी सचिवालय बन्दोबस्त १ हजार ७ सय ५०, गाडीकाे इन्धन प्रतिमहिना २३० लिटरलगायतको सुविधा पनि प्राप्त गर्नेछन् ।

त्यस्तै विपक्षी दलका नेतालाई स्वकीय सचिव, गाडी चालक र सुरक्षालगायतका सेवा पनि उपलब्ध हुन्छ । पुस २६ मा प्रतिनिधि सभामा उपस्थित २ सय ७० सांसदमध्ये २ सय ६८ जनाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएका थिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन बाहिरका कांग्रेस, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीको समेत मत पाउनुभएको थियो ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले विपक्षमा मतदान गर्नुभएको थियो । सरकारलाई विश्वासको मत दिएपछि कांग्रेसले प्रमुख विपक्षी दल बन्ने आधार नरहेको भन्दै नेमकिपाका सांसद प्रेम सुवालले सदनमै प्रश्न उठाएर आफ्नो दललाई प्रमुख विपक्षी दलको मान्यता दिन आग्रह गर्नुभएको थियो ।

फागुन अन्तिम हप्ता राष्ट्रपतिको चुनाव गर्ने तयारी

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति चुनावको लागि तयारी थालेको छ । फागुन अन्तिम हप्ता राष्ट्रपतिको चुनाव गर्ने गरी तयारी थालेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । सभामुख र उपसभामुख चयनसँगै दलहरूको ध्यान अहिले राष्ट्रपतिमा केन्द्रित भएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनावसम्बन्धी ऐनले पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि नै चुनाव गर्नुपर्ने व्यवस्था गरेको छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी गएको २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा चयन हुनुभएको थियो ।

नेपालको संविधान अनुसार राष्ट्रपतिको पदावधि पाँच वर्षको हुन्छ । त्यसअनुसार फागुन २९ गते भित्रै राष्ट्रपति निर्वाचित भइसक्नुपर्ने हुन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघि नै राष्ट्रपति, उपराष्ट्रपतिको चुनावका बारेमा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गर्नुभएको थियो । उहाँले राष्ट्रपति र उपराष्ट्रपति चुनावका लागि दलहरुले छलफल गरेर निष्कर्ष निकाल्ने भन्दै आवश्यक प्रक्रिया अगाडि बढाउन आयोगलाई आग्रह समेत गर्नुभएको थियो । मिति घोषणा गर्न आयोगले आज महान्यायाधिवक्ता, गृहसचिव र कानुन सचिवसँग परामर्श समेत गर्दैछ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगले मिति तोकेपछि चुनावी गतिविधि र प्रकृया अगाडि बढ्नेछ । अहिलेसम्म आयोगले राष्ट्रपति चुनावको मिति तोकेको छैन । आयोगले मिति तोक्न ढिलाइ गरेकोमा असन्तुष्ट नेपाली कांग्रेसले सरकार र निर्वाचन आयोगलाई समयभित्रै राष्ट्रपतिको चुनाव सम्पन्न गर्न दबाब दिएको छ । यसअघि सभामुख र उपसभामुखमा उम्मेदवार उठाएको विपक्षी दल कांग्रेसले राष्ट्रपति पदमा पनि उम्मेदवारी दिने तयारी गरेको छ । सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा हिजो बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले राष्ट्रपतिमा पनि उम्मेदवार उठाउनेबारे निर्णय गरेको हो ।

सङ्घीय संसद्को सदस्य हुन योग्य भएको, कम्तीमा ४५ वर्ष उमेर पूरा भएको र कुनै पनि कानुनले अयोग्य नभएका व्यक्ति राष्ट्रपतिका लागि उम्मेदवार हुन योग्य हुनेछन् । संविधानले राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्ग वा समुदायको हुनुपर्ने व्यवस्था समेत गरेको छ ।

राष्ट्रपतिको चुनावमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य मतदाता हुन्छन् । त्यसअनुसार राष्ट्रिय सभाका ५९, प्रतिनिधि सभाका २ सय ७५ र प्रदेश सभाका ५ सय ५० गरी कुल ८ सय ८४ जना मतदान गर्न योग्य हुनेछन् । जनसङ्ख्याको आधारमा मतभार पनि तोकिएको छ ।

०७८ सालमा भएको जनगणनाको अन्तिम तथ्याङ्क अहिलेसम्म सार्वजनिक नभएकाले ०६८ को जनगणनाअनुसारको मतभारअनुसार गणना हुनेछ । बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था रहेको छ । राष्ट्रपति निर्वाचित भएपछि मात्रै उपराष्ट्रपतिको चयनका लागि प्रकृया सुरु हुनेछ ।

शहीद सप्ताह सुरु, शहीदहरुको सम्झनामा विभिन्न कार्यक्रम हुँदै

जुम्ला । आजदेखि शहीद सप्ताह कार्यक्रम सुरु भएको छ । आजदेखि आउँदो सोमवारसम्म विविध कार्यक्रम गरी शहीदको सम्झना गरिन्छ ।

देश र नागरिकको मुक्तिका लागि जीवन बलिदान गर्ने शहीदहरुको सम्झनामा काठमाण्डौको शहीदगेटमा शहीद गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्दको शालिकमा माल्यार्पण गरिने छ भने र टेकुको पिपलबोटमा रहेको शालिकमा पनि माल्यार्पण गरिन्छ ।

जहानियाँ राणा शासनको विरुद्धमा आन्दोलनमा होमिँदा विस‌ं १९९७ साल माघ १० गते शुक्रराज शास्त्रीलाई टेकुमा रहेको पचलीमा, धर्मभक्त माथेमालाई सिफलमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो । त्यसै घटनालाई स्मरण गर्दै विसं २०१२ सालदेखि हरेक वर्ष माघ १६ गतेलाई शहीद दिवसका रुपमा मनाउने गरिएको छ । केही वर्षयतादेखि भने शहीदहरुको सम्झनामा सप्ताहव्यापी कार्यक्रम भइरहेका छन् ।

नेपालको पहिलो शहीद भने लखन थापालाई मानिन्छ । थापाको तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाविरुद्ध प्रचार गरेको आरोपमा १९३३ साल फागुन २ गते गोरखाको मनकामना मन्दिर नजिकै रुखमा झुण्ड्याएर हत्या गरिएको थियो ।

जुम्लामा हिउँपरेपछि किसानहरु खुशी

जुम्ला । जुम्लामा हिमपात भएकाे छ । आज बिहानदेखि जुम्लाका विभिन्न ठाउँमा हिउँ पर्न थालेकाे हाे।

अहिले जुम्ला सदरमुकाम खलङ्गासहित जिल्लाभरि हिउँ परिरहेको छ । अहिलेसम्म यस क्षेत्रमा करिब आधा फिट हिउँ परिसकेको स्थानीयले बताएका छन् । हिउँपरेपछि किसानहरु खुशी भएका छन् । हिउँदेबालीका लागि हिउँ उत्तम सिँचाइको माध्यम हो ।

हिउँदे सिजनमा विशेषगरी जुम्लामा जौ, गहु लगायतका बाली लगाइन्छ। ‘पानी नपर्दा, हिमपात नहुँदा बाली सुक्न थालेको थियो । हामीहरु हिउँ पर्ने प्रतिक्षामा थियाैँ । अब सिँचाइमा सहज हुने आश छ ‘चन्दननाथ नगरपालिका-८ का किसान धनराशि भण्डारीले भन्नुभयाे ।

जुम्लामा निकै चिसो हुँदै गएको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय जुम्लाका अनुसार अहिले यहाँकाे माइनस १ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । हिउँ नपर्दा तापक्रम झन् कम थियो । तीन दिनअघि जुम्लाको तापक्रम माइनस ७ डिग्री सेल्सियसमा झरेकाे थियाे ।

सुनको भाउले अहिलेसम्मकै उच्च

काठमाडौँ । सुनको भाउले अहिलेसम्मकै उच्च भएकाे छ । सुनको भाउ आज एक हजार रुपैयाँले बढेर अहिलेसम्मकै महँगो भएको छ ।

आज सुनको भाउ तोलामा १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको छ । हिजो सुनको भाउ तोलामा १ लाख ५ हजार ३ सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको माग र कारोबार बढेकाले भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि २०७८ साल फागुन २५ गते सुनको भाउ बढेर नयाँ रेकर्ड कायम भएकाे थियो । त्यतिबेला सुन तोलामा १ लाख ५ हजार ५ सय रुपैयाँमा पुगेको थियो । त्यसयता भने बिस्तारै घटेको सुनको भाउ फेरि बढेको हो ।

सुनको भाउ बढे पनि चाँदीको भाउ भने आज घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड पराजित

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल विजयी भएको छ । गएराति भएको खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । इमिरेट्स स्टेडियममा भएको खेलमा सुरुआती अग्रता बनाए पनि त्यसलाई कायम राख्न नसक्दा युनाइटेड पराजित भयो ।

खेलको १७औं मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको २४औं मिनेटमा एड्डी एनकेटीहले गोल गर्दै आर्सनललाई १–१ गोलको बराबरीमा ल्याए । यस्तै, खेलको ५३औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई २–१ को अग्रता दिलाए ।

खेलको ५९औं मिनेटमा युनाइटेडका लिसान्द्रो मार्टिनेजले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए । खेलको इन्जुरी समयमा आर्सनलका एनकेटीले दोस्रो गोल गर्दै ३–२ को जित दिलाए । जितसँगै आर्सनलले १९ खेलमा ५० अङ्क जोडेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २० खेलमा ४५ अङ्क छ । म्यानचेस्टर युनाइटेड भने २० खेलमा ३९ अङ्क जोडेर चौथो स्थानमा रहेको छ ।

६ महिनामा एक करोड ७५ लाख राजश्व सङ्कलन

रसुवा । रसुवा, नुवाकोट र सिन्धुपाल्चोक समेत गरेर तीन जिल्लामा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्जले यो आर्थिक वर्षको ६ महिनामा करीब दुई करोड रुपैयाँ राजश्व संकलन भएको जनाएको छ ।

आर्थिक वर्ष २०७९÷०८० को साउनदेखि पुस मसान्तसम्म निकुञ्ज घुम्न पुगेका आन्तरिक तथा विदेशी पर्यटकबाट आएको राजश्व र दण्ड–जरिवाना लगायतका शिर्षकमा प्राप्त रकम समेत गरेर कुल एक करोड ७५ लाख रुपैयाँ सङ्कलन भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार यो ६ महिनाको अवधिमा घुम्न पुगेका आन्तरिक तथा विदेशी पर्यटकको सङ्ख्या १७ हजार ४३८ जना रहेका छन् । भने निकुञ्जको राजश्वको संकलनमा पर्यटक प्रवेश शुल्क सहित वन पैदावारको विक्री र चोरी–तस्कीरीबाट जरिवाना तथा क्षतिपूर्ति समेतलाई लिने गरिएको छ ।

नेपालको संघीय राजधानी काठमाडौँबाट सबैभन्दा नजिकैको लाङटाङ राष्ट्रिय निकुञ्ज पदयात्राका लागि तेस्रो गन्तव्यको रूपमा समेत लिने गरिएको छ । नेपालमा सगरमाथा राष्ट्रिय निकुञ्ज र अन्नपूर्ण संरक्षण क्षेत्र पछि निकुञ्ज घुम्न जाने पर्यटकको तेश्रो रोजाई लाङटाङ राष्ट्रिय निकुञ्ज रहेको छ ।

कोरोना रोगको जोखिमको कारण लगातार दुई वर्ष प्रभावित भएको पर्यटन क्षेत्रको प्रभावले निकुञ्ज पुग्ने पर्यटकको सङ्ख्या घटेको थियो भने रावश्व असुली समेत प्रभावित भएकोमा यो वर्ष भने सुधारको संकेत देखिएको छ ।

यो निकुञ्ज समुन्द्री सतहको एकहजार मिटर देखि ७ हजार २४५ मिटर सम्म फैलिएको छ भने जैविक विविधताको भण्डारण समेत मान्ने गरिएको छ ।

निकुञ्ज भित्र लाङटाङ उपत्यका, क्याङन्जिङ उपत्यका गोसाईंकुण्ड सहितका ताल शृङ्खला पर्यटकको रोजगाईमा पर्ने गरेको छ ।

यस्तै, दोर्जे लाक्पा पास, मेलम्ची ध्याङ, हेलम्बु, तार्के घ्याङ, ह्योल्मो आमा याङ्ग्रि, शेर्माथाङ, घ्याङफेदि, पाँचपोखरि लगायत यस निकुञ्जको प्रमुख पर्यटकीय आकर्षणहरू मानिएको छ ।

सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली भएको बताउनुभएको छ । २८५९औँ सोनाम ल्होछार पर्वको उपलक्ष्यमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालको कला, संस्कृति र सभ्यताको आफ्नै मौलिकता र विशेषता रहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘ तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिको राष्ट्रिय ल्होछार पर्व–२८५९ ह्योई/तावर ल्हो (बिरालो वर्ष) को पावन अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी, दाजुभाइ सबैलाई सु–स्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगतको कल्याणका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

नेपाल पूर्व, पश्चिम, उत्तर र दक्षिणका प्रमुख सभ्यताको सङ्गमस्थल भएको उल्लेख गर्दै उहाँले यहाँ एक सय २५ जातजाति, एक सय २३ भाषाभाषी र १० भन्दा बढी धर्म मान्ने समुदाय बसोबास गर्ने बताउनुभयो । नेपालमा बसोबास गर्ने सबै जातजातिको आ—आफ्नो परम्परा, रीतिरिवाज र संस्कृति रहेको र यी सबै संस्कृतिको समग्रता तथा एकीकृतस्वरुप नै नेपालको राष्ट्रिय संस्कृति भएको प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभयो । ‘हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीका लागि गौरवको कुरा हो,’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले त्यसलाई राष्ट्रिय सम्पत्तिको संज्ञा दिनुभयो । उहाँले भन्नुभयो, ‘नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति हो । ल्होछार विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो ।’

मानव जातीले पशुपालन र कृषिको सुरुआत गरेदेखि नै प्रकृतिको स्वभाव र गतिको नियम पत्ता लगाउने प्रयत्न गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सांस्कृतिक पाटोको बारेमासमेत जानकारी दिनुभयो ।

उहाँले चन्द्रमाको गतिको आधारमा समय गणना हुन थालेको र सोही पद्दति अंगालेर तामाङ सभ्यताले सूर्य दक्षिणबाट उत्तरतिर फर्कने छेका अर्थात् चन्द्र पात्रोको माघ शुक्ल प्रतिपदाको दिनदेखि नयाँ वर्ष सुरू हुन्छ भन्ने मान्दछन् भन्नुभयो । कृषिको थालनीसँगै विकास भएकोले यो पर्वलाई सोनाम (किसानको) ल्होछार पनि भन्दछन् भन्ने तथ्य स्थापित भएको प्रधानमन्त्री दाहालले बताउनुभयो ।

‘ल्होको अर्थ साल, सम्बत्, वर्ष, उमेर र छारको अर्थ नयाँ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष हो । यो परम्परामा विभिन्न बाह्र पशुपक्षीको नामबाट १२ ल्हो को नाम राखिएको हुन्छ र बाह्र वर्षको चक्र बनाइन्छ’ उहाँले भन्नुभयो, ‘बाह्र ल्होमध्ये प्रत्येक वर्ष एक–एक ल्हो फेरिन्छ । ल्हो (वर्ष) सँग खाम (पाँच तत्व)हरू—आगो, पानी, माटो, फलाम र काठसँग जोडिएका हुन्छन् । यही ल्हो फेरिने दिनलाई तामाङ समुदायले ल्होछार पर्वको रुपमा मान्दै आएका छन् ।’

तामाङ समुदायले मान्ने ल्होछार (नयाँ वर्ष) तामाङ मत्तजुश्री पात्रोको पहिलो महिनाको पहिलो दिनको रुपमासमेत लिइने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘हिजो ताकल्हो (बाघ वर्ष)लाई बिदा गरियो । आजदेखि ह्योई (खरायो वर्ष) ल्हो सुरु भयो । यसैले यो तामाङ सभ्यताले मानव र प्रकृतिको जीवनलाई बुझ्ने विज्ञान र दर्शन पनि हो । यसले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाईसमेत प्रतिविम्बित गर्दछ । तामाङ जीवन र संस्कृतिको यही ल्हो परम्परा र विश्वासबाट सञ्चालित हुँदै आएको छ भन्ने मैले बुझेको छु ।’

नेपालमा मात्र नभएर चीन, मङ्गोलिया, जापान, कोरिया, भियतनाम, लाओस, थाइलैण्ड, ताईवान, मलेसिया, सिङ्गापुरलगायत मङ्गोल—चिनियाँ सभ्यता पुगेका संसारका सबै महादेश र देशमा मनाइन्छ । कामको सिलसिलामा विश्वका विभिन्न मुलुकमा रोजगारी वा अन्य कामको सिलसिलामा पुगेका नेपाली तामाङ सङ्घ,संस्थालेसमेत ल्होछार पर्व धुमधामसँग मनाउँदै आएका छन् ।

तामाङ जीवनमा ल्हो परम्पराको ज्यादै ठूलो महत्व छ । यो परम्पराले धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक र स्वास्थ्य जीवनको क्षेत्रमासमेत विशेष महत्व राख्ने प्रधानमन्त्री दाहालको भनाइ छ । उहाँले भन्नुभयो, ‘ल्होछार पर्व केवल तामाङ समुदायको मात्र होइन, यो राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व पनि हो । नेपालमा यस्ता ऐतिहासिक एवं वैज्ञानिक महत्व बोकेका थुप्रै पर्व छन् । तर विगतको सामन्ती राज्यले एउटालाई काखा र अरुलाई पाखा गर्नाले नेपालका धेरै संस्कृति लोप भएर जादैँछन् । मानव सभ्यता मर्दैछ । अर्कातिर पाश्चात्य संस्कृतिले राष्ट्रिय संस्कृतिलाई विस्थापन गर्दैछ । यो परिप्रेक्ष्यमा राज्यले ती सबै राष्ट्रिय संस्कृतिको प्रवर्द्धन गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।

जडीबुटी मिसाएको खाजा खाँदा एक जनाको मृत्यु

जुम्ला । जुम्लामा जडीबुटी मिसाएको खाजा खाँदा एक जनाको ज्यान गएको छ । तीन जना बिरामी भएका छन् । जुम्ला चन्दननाथ नगरपालिका-८ रोकायाबाडामा खाजा खाने क्रममा बिरामी भएका चार जनामध्ये ३५ वर्षीय दीपक रोकायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको हाे ।

प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार चन्दननाथ-८ का तिल धरालाको घर बनाउने क्रममा खाजा खाँदा बिरामी भइ अस्पताल आएकामध्ये दिपकको ज्यान गएको हो । यस्तै, बिरामी भएका ३८ वर्षीय तिल रोकाया, २८ वर्षीय टङ्क रोकाया, ३० वर्षीय पारष धरालाकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको छ ।

हिजो दिउँसो खाजामा जडीबुटी मिसाएर खाएपछि उनीहरु बिरामी भएका जानकारी पाएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । घटनाको थप अनुसन्धान भइरहेको छ ।

आज सोनाम ल्होसार विभिन्न कार्यक्रम गरी मनाउँदै

काठमाडौँ । आज सोनाम ल्होसार । तामाङ समुदायले नयाँ वर्षको रुपमा विशेष कार्यक्रम गरी मनाउँदै छन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९औँ वर्ष सुरु भएको छ । ल्होसारका १२ वटै वर्ष पशुपक्षीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाताको भनाइ छ । सोनाम ल्होसारको अवसरमा आज देशैभर सार्वजनिक बिदा दिइएको छ ।

यस्तै, दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्ने बताउनुभएको छ ।

यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न दलका शीर्ष नेताले पनि सोनाम ल्होसारको शुभकामना व्यक्त गरेका छन् ।

नुवाकोटमा मनाइयो सोनाम ल्होछार

त्रिशूली । बाग्मती प्रदेशसभा सदस्य राधिका तामाङले तामाङ समुदायको भाषा, रितिरिवाजको संरक्षण तथा प्रबद्र्धनमा जोड दिनुभएको छ ।

तामाङ समुदायको महान पर्व २८५९ औ सोनाम ल्होछार पर्वको अवसरमा नेपाल तामाङ घेदुङ नुवाकोटले हिजो शनिबार बट्टारमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रदेससभा सदस्य राधिका तामाङ समुदायको हक अधिकार संबिधानमा सुनिश्चित भएपनि उनीहरु ती अधिकार पाउनबाट बञ्चित रहेको गुनासो गर्नुभएको छ ।

ल्होछार पर्वमा मात्र तामाङ भाषा, संस्कृति, अधिकार र पहिचानको संरक्षणको बिषय उठेपनि ती तामाङ समुदायका ब्यक्तिहरु नै देशको प्रमुख अंगमा पुगेपछि पार्टीको दबाबमा तामाङ समुदाय अधिकारको निम्ती लड्न नचाहने प्रबृति देखिएको भन्दै भाषा र रितिरिवाजको संरक्षणको लागी आवाज उठाउनुपर्ने समय आएको प्रदेशसभा सदस्य तथा पूर्व राज्यमन्त्री राधिका तामाङले बताउनुभएको छ ।

कार्यक्रममा तामाङ खाना र भेषभूषा तथा सँस्कृतिको प्रदर्शनी सहित लामा नाच, बोन्पो अर्थात झाँक्री नाच, म्हेन्दोमाया, सेलो लगायत प्रस्तुतिहरु आकर्षकको रुपमा रहेको थियो । केन्द्रीय घेदुङको नीति, निर्णय अनुसार तामाङको धर्म, संस्कार संकृति, भेषभूषाको संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष नुवाकोटमा ल्होछार कार्यक्रम गरिदै आएकोमा कोरोना रोगको जोखिमको कारण प्रभावित भएकाले तामाङ संस्कृतिको जगेर्ना गर्न यो वर्ष विशेष रुपमा मनाईएको ल्होछार समारोह समितिका संयोजक तथा नेपाल तामाङ घेदुङका केन्द्रीय सचिव जयमान वाइवा तामाङले बताउनुभएकोे छ ।

May be an image of 11 people and people standing

कार्यक्रममा स्थानीय, प्रदेश र संघको निर्वाचनमा नुवाकोटबाट निर्वाचित भएका तामाङ समुदायका जनप्रतिनिधिहरूलाई सम्मान समेत गर्न गरिएको छ ।

तामाङ समुदायले यो वर्ष ताक/च्यान ल्हो अर्थात (बाघ वर्ग) को बिदाई गर्नेछन् । ह्योयी/तावर ल्हो अर्थात (बिरालो वर्ग)को स्वागत गर्दै यही माघ १ गतेदेखि नै ल्होछार पर्व मनाउन सुरु गरेका छन् ।

May be an image of 7 people and people standing

तिब्बतमा हिमपहिरोमा परी २८ जनाको ज्यान गयो

काठमाडौँ । चीनको स्वशासित क्षेत्र तिब्बतको निङ्ची शहरमा शुक्रबार गएको हिमपहिरोमा परी २८ जनाको ज्यान गएको छ । हिमपहिरोमा परेकाहरुको उद्धार सकिएको र २८ जनाको ज्यान गएको तिब्बतका अधिकारीहरुलाई उद्धृत गर्दै चिनियाँ समाचारसंस्था सिन्हवाले जनाएको छ ।

हिमपहिरोपछि काउन्टीलाई नइङ्चीको प्याड टाउनशिपसँग जोड्ने सुरुङबाट बाहिर निस्कने राजमार्ग बन्द भएको थियो । बाटो बन्द हुँदा गाडी तथा यात्रुहरु बाटोमै रोकिएका थिए । अहिले बाटोमा फसेका सबैको उद्धार सकिएको सिन्ह्वाले जनाएको छ ।

हिमपहिरो गएको क्षेत्रका सडक कच्ची रहेको तथा भू–धरातल समेत उबडखाबड रहेकाले उद्धारमा कठिनाइ भएको उद्धारमा खटिएकाहरुले बताएका छन् ।

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.