१ हजार २ सय ६८ जनामा कोरोना पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा एक हजार दुई सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ हजार आठ सय ७५ जनाको नमूना परीक्षण गर्दा एक हजार दुई सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमध्ये १३ दशमलव २४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएका सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ५३ हजार दुई सय ३२ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई हजार एक सय ९५ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख २५ हजार ६ सय ५१ जना पुगेको छ । थप नौ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।

योसहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार आठ सय १८ जना पुगेको छ । अहिले नेपालमा ३१ हजार आठ सय २६ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमित मध्ये पाँच सय ५४ जनाको आईसीयू र एक सय ७२ जनाको भेन्टीलेटरमा उपचार भैरहेको छ ।

भदौ २३ गते संसद अधिवेशन बोलाउन सरकारको सिफारिस

काठमाडौँ । सरकारले भदौ २३ गते संघीय संसद्को बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते दिउँसो चार बजे बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश पारित गराउन र अमेरिकी सहयोग एमसीसीको प्रस्तावबारे छलफल गर्न अधिवेशन बोलाएको बुझिएको छ । संसद अधिवेशन बोलाउनेबारे बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटा र सत्ता साझेदार दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दलका शीर्ष नेताहरुबीच छलफल भएको थियो ।

यसअघि गएको साउन ३२ गते संसद अधिवेशन अन्त्य गरेर सरकारले पार्टी फुटाउन सजिलो हुनेगरी अध्यादेश ल्याएको थियो । सरकारले ल्याएको अध्यादेशपछि नेकपा एमाले र जनता समाजवादी पार्टी फुटेका छन् ।

पहिरोका कारण गण्डकी प्रदेशका ४ जिल्लामा विद्युत अवरुद्ध

पोखरा । पर्वतमा शुक्रबार रातिको पहिरोले प्रशारण लाइनको टावर ढलाएका कारण गण्डकी प्रदेशका ४ जिल्लामा विद्युत आपूर्ति अवरुद्ध भएको छ । सदरमुकाम कुश्मा नजिकै मोदी खोला आयोजना र र मोदी खोला–१ जलविद्युत आयोजनाको बीचमा पर्ने प्रशारण लाइनको टावर ढालेको थियो ।

मोदी–१ जलविद्युत आयोजनाको विद्युत मोदी सबस्टेसनमा जोड्न युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निर्माण गरेको १३२ केभी प्रसारण लाइन अन्तर्गत पर्वतको चुवामा पर्ने ४ नम्बर टावरलाई पहिरोले ढालेको छ ।
यसबाट निजी क्षेत्रको स्वामित्वमा पर्वत, म्याग्दी र मुस्ताङमा सञ्चालित विद्युत गृहहरुको ६८.२ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बिच्छेद भएको छ । साथै, पर्वत, बाग्लुङ, म्यादी र मुस्ताङको विद्युत आपूर्ति बन्द भएको छ ।

टावर ढल्दा म्याग्दीमा रहेका ४२ मेगावाटको मिस्त्री खोला तथा ५ मेगावाटको घलेम्दी खोला, मुस्ताङमा रहेको ११.२ मेगावाटको थापाखोला र पर्वतको १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत आयोजनाको उत्पादन बन्द भएको हो ।

टावर मर्मतको काम तत्काल सुरु गर्न र विद्युत आपूर्ति नियमित गर्न वितरण तथा ग्राहक सेवा गण्डकी प्रादेशिक कार्यालय पोखराका प्रमुख केदार सिलवाल, पोखरा ग्रिड प्रमुख माधव पौडेललगायतको टोलीलाई पर्वततर्फ खटाएको छ ।

वैकल्पिक व्यवस्था गरी विद्युत आपूर्ति नियमित गर्ने प्रयास भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ‘लेदो आइरहेका कारण टावर ढलेको स्थानमा हाम्रो टिम जान सकेको छैन, इमर्जेन्सी रेस्टोरेसन टावर प्रयोग गरी जतिसक्दो छिट्टो लाइन नियमित गर्न प्रयास गरिरहेका छौं, यसका लागि बढीमा ५ दिन लाग्न सक्छ’, उनले भने ।

कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना सबस्टेसनमा जोडिएका मिस्त्री, थापाखोला र घलेम्दी आयोजनाको विद्युत कुश्मा सबस्टेसन हुदै मोदी–१ जलविद्युत आयोजनाको १३२ केभी प्रसारण लाइनमार्फत मोदी सबस्टेसन प्रवाह गरिएको छ ।

टावर ढलेका कारण अहिले विद्युत प्रवाह बन्द भएको छ । मोदी सबस्टेसनबाट स्थानीय रुपमा आपूर्ति गरी बाँकी रहेको विद्युत पोखरातर्फ प्रवाह गरिन्छ ।

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा. थापा नियुक्त

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा. मिलनकुमार थापा नियुक्त भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार थापालाई चार वर्षे कार्यकालका लागि सदस्य सचिवमा नियुक्त गरेका पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यसअघि चार वर्षे कार्यकाल कोषको कोषाध्यक्षका रुपमा काम गरेका थापाले शुक्रबार नै कार्यालयमा गई पदबहाली गरेका छन् । थापाले कोषाध्यक्ष हुँदा अपूरा रहेका कामलाई पूरा गर्ने प्रतिबद्धता जनाए ।

पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीको गन्तव्यस्थलका रुपमा विकास गर्न गुरुयोजनालाई अन्तिम रुप दिने उनको प्रतिबद्धता छ । पशुपति क्षेत्रको गुरुयोजना निर्माणका लागि विभिन्न चरणमा छलफल भइरहेको छ ।

अझै उठ्न सकेन काठमाडौँका मुख्य चोकका फोहर

काठमाडौँ । चार दिनदेखि फोहर उठ्न थाले पनि काठमाडौँका मुख्य मुख्य चोक अझै पनि सफा हुन सकेको छैन ।

अठार दिनदेखि व्यवस्थापन हुन नसकेको फोहर गत बुधबारदेखि उठाउन थाले पनि कलङ्की, कालीमाटी, खसीबजारलगायत सडक किनारामा फोहरको डङ्गुर अझै उस्तै नै छ ।

नियमित परेको पानी र हाल फोहर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलका स्थानीयवासीले अवरोध गरेपछि काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर गत साउन ३२ गतेदेखि उठ्न सकेको थिएन ।

लामो समयदेखि फोहर सङ्कलन भएर बसेकाले सबै एकैपटक व्यवस्थापन हुन नसकेको काठमाडौं महानगरपालिकाको भनाइ छ । आगामी तीन दिनभित्रमा यसअघि जम्मा भएर बसेका सबै फोहर सिसडोल लगिने कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।

अहिले साविकअनुसार नै फोहर व्यवस्थापनको काम भइरहको छ । ‘धेरै दिनको सङ्कलित फोहर एकैपटक व्यवस्थापन गर्नुपर्ने भएकाले केही ढिला भएको हो, अहिले नियमितरुपमा फोहर उठिरहेको छ’, प्रमुख श्रेष्ठले भने । अठार दिनको अवधिमा करिब १५ हजार मेट्रिकटन फोहर जम्मा भएको बताइएको छ ।

गत मङ्गलबार कामपा प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंक प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको बैठकले फोहर उठाउने निर्णय गरेको थियो ।

सिसडोलमा विसं २०६२ मा दुई वर्षको मात्र फोहर व्यवस्थापन गर्न सकिने क्षमताको ल्याण्डफिड साइट निर्माण गरिएको थियो तर पटकपटक त्यसैमा माटोले पुर्दै केही विस्तार गरेर अहिलेसम्म नै फोहर व्यवस्थापन गरिँदै आइएको छ ।

हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको मात्र ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिएको छ ।

हाल फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण गरिएको छ । निर्माण भइरहेको दीर्घकालीन ल्याण्डफिल साइट नुवाकोट र धादिङको सिमानामा पर्छ ।

सोह्र वर्षदेखि नुवाकोटको सिसडोलमा उपत्यकाको १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।

गृहमन्त्री खाँड बाढी प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको निरीक्षणमा

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँडले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ । गएकाे असार १ र साउन १६ गतेको बाढीको कारण यस क्षेत्रमा मानवीय तथा भौतिक रुपमा ठूलो क्षति पुगेको थियाे ।

गृहमन्त्री बालकृष्ण खाँड र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलसहितको टोलीले आज हेलम्बु गाउँपालिका–२ मा रहेकाे गणेश बगर र मेलम्चीका बाढी प्रभावितको अवस्था बुझ्नुभएको हाे ।

गृहमन्त्री खाँणसहितको टोलीले मेलम्ची नगरपालिकाको मेलम्ची बजार र त्यस वरपरका क्षेत्र तथा हेलम्बु गाउँपालिकाको वडा नम्बर–२ गणेश बजार क्षेत्रको स्थलगत निरीक्षण गरी तत्कालै सरकारबाट हुने सहयोगको प्रतिबद्धता समेत गर्नुभएको छ । यस्तै उहाँले भत्केका सडक, पुल, घर, कार्यालयलगायतका संरचना निर्माण तथा बाढीपहिरो प्रभावितको उचित व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ ।

निरीक्षण टोलीमा पूर्वमन्त्री मोहनबहादुर बस्नेत, पूर्व कानुनमन्त्री तथा सांसद शेरबहादुर तामाङ, योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेल, प्रदेशसभा सदस्य युवराज दुलाल र निमा लामा, गृहसचिव टेकनारायण पाण्डे, सडक विभागका महानिर्देशक अर्जुन थापा, सिँचाइ विभागका उपमहानिर्देशक प्रदीप थापा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेल र हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा सहभागी हुनुभएको थियो ।

मनकामना केबुलकार भोलिदेखि सञ्चालनमा आउने

काठमाडौँ । कोरोना सङ्क्रमण बढेसँगै बन्द रहेको मनकामना केबुलकार भाेलिदेखि सञ्चालनमा आउने भएको छ ।

निषेधाज्ञासँगै गएकाे वैशाख १६ गतेदेखि केबुलकार बन्द भएको थियो । मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर केबुलकार सञ्चालन गर्न लागिएको हो ।

उहाँले भन्नुभयो, ‘यात्रुले पनि सुरक्षा मापदण्डलाई पालना गर्नु पर्दछ ।’ इच्छाकामना गाउँपालिकाको चेरेसमा स्टेशन रहेको यस केबुलकार चढेर यात्रु एवं भक्तजन गोर्खाको मनकामना मन्दिर दर्शन गर्न जाने गर्दछन् ।

भक्तजनको भीडभाड हुने चाडपर्वमा एकै दिनमा नौ हजारभन्दा बढी यात्रुले केबुलकारको यात्रा गर्ने गरेको उहाँको भनाइ छ । मनकामना मन्दिर सञ्चालन गर्ने विषयमा छलफल भइरहेको श्रेष्ठले जानकारी दिनुभयो ।

तालिबानद्वारा अफगानिस्तानमा आज नयाँ सरकार घोषणा गर्ने तयारी

काठमाडौँ । अफगानिस्तानमा तालिबानले आज नयाँ सरकार घोषणा गर्ने तयारी गरेको छ । हिजो नै घोषणा गर्ने भनिए पनि छलफल नटुङ्गिएकाले आजका लागि सारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

नयाँ सरकारको घोषणाका लागि काबुलमा रहेको राष्ट्रपति कार्यालयमा एक समारोहको तयारी भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तालिबानका सर्वोच्च नेता हैबातुल्लाह अखुन्दजादा नै अफगानिस्तानको सर्वोच्च नेता घोषणा हुने सम्भावना रहेको खबरमा उल्लेख छ । केही दिनयता नयाँ सरकार घोषणा गर्न भन्दै तालिबानले छलफललाई निरन्तरा दिँदै आएको छ ।

छलफल लगभग टुङ्गिएकाले आज नयाँ सरकार घोषणा हुन सक्ने अनुमान गरिएको हो । तालिबानको सरकारमा राष्ट्रपति र प्रधानमन्त्री हुने खबरमा उल्लेख छ । तर, सरकारमा महिला सहभागी हुने/नहुने बारे केही खुलाइएको छैन । महिलाहरुले सरकारमा सहभागी हुन पाउने माग गर्दै प्रदर्शन गरिरहेका छन् ।

तालिबानहरूले यसअघि सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा इस्लामिक सरिया कानुनअनुसार शासन चलाएका थिए ।

बढ्न थाले स्क्रब टाइफस रोगका बिरामी

काठमाडौँ । स्क्रब टाइफस लगायतका किटजन्य रोगका बिरामी बढ्न थालेका छन् । काभ्रे लगायतका कतिपय जिल्लाका अस्पतालहरुमा स्क्रब टाइफस लगायतका किटजन्य रोगका बिरामी बढ्न थालेका हुन् ।

काभ्रेमा गएको १५ दिनमा स्क्रब टाइफसका कारण चार जनाको ज्यान गइसकेको छ । अहिले सरकार र सम्बन्धित निकायको ध्यान कोरोना नियन्त्रणमा केन्द्रित भएकोले काभ्रे लगायतका अरु जिल्लामा स्क्रब टाइफस लगायतका किटजन्य रोगका बिरामी बढेका र यसले जटिलता निम्त्याउन सक्ने भएकाले सावधानी रहन जनस्वास्थ्यविद् एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनीले आग्रह गर्नुभएको छ ।

कोरोना र स्क्रब टाइफसका बिरामीको लक्षण उस्तैउस्तै हुने भएकाले कतिपयले परीक्षण समेत नगर्ने गरेकाले समस्या निम्तिएको उहाँको भनाइ छ ।

लामो समय परीक्षण नगराउँदा यसले पनि कोरोनाले जस्तै फोक्सोमा असर पार्ने र बिरामीको ज्यान नै जान सक्ने उहाँको भनाइ छ । परीक्षण नगरिकनै स्क्रब टाइफस वा कोरोना भएको थाहा नहुने भएकाले समस्या हुने बित्तिक्कै परीक्षण गर्न पनि उहाँले सुझाव दिनुभएको छ ।

यो रोगबाट बालबालिका धेरै प्रभावित हुने भए पनि अरु उमेर समूहकाले पनि सावधानी अपनाउनुपर्ने उहाँले बताउनुभयो । सहरी क्षेत्रमा कहिलेकाँही लामो समयसम्म फोहोर नउठ्ने र त्यसमा मुसाका लागि चलखेल गर्ने राम्रो वातावरण बन्न सक्ने भएकाले स्क्रब टाइफसको जोखिम देखिन सक्छ ।

यो रोगबाट बच्न मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्न भण्डार गर्नुका साथै खेतबारीमा तथा वनजङ्गलमा काम गर्न जाँदा बाहुला भएको कपडा लगाउन, खुल्ला चउरमा बस्दा सुकुल ओच्छ्याएर बस्ने र साथै चउर ,बारीमा घाँसहरु बढ्न नदिने गर्नुपर्ने उहाँको भनाइ छ ।

गाडी दुर्घटना हुँदा एक जनाको मृत्युु

अर्घाखाँची । अर्घाखाँचीमा माइक्रो बस (हायस) दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ का सन्जय विक रहेको प्रहरीले जनाएको छ ।

काठमाडौबाट अर्घाखाँची जाँदै गरेको बा३ख ८६३९ नम्बरको गाडी शितगंगा-३ को आर्मी ब्यारेक नजिकै सडकबाट सय मिटर तल खसेर दुर्घटना भएको हो ।

चालक सहचालकसहित १३ जना यात्रु सवार रहेकामा दुर्घटनामा परी २ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई प्राथमिक उपचार केन्द्र ठाडामा सामान्य उपचारपछि बुटवल पठाइएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४०० शय्या बनाइने

बुटवल । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४०० शय्याको अस्पतालका लागि पूर्वाधार निर्माण गरिने भएको छ ।

प्रतिष्ठानको शुक्रबार बसेको चौथो सभा बैठकले आर्थिक वर्ष २०८१/०८२ भित्र ४०० शय्या बनाउने निर्णय गरेको हो ।

वैठकले लोकसेवा आयोगसँग समन्वय गरी तयार गरेको ‘शिक्षक तथा कर्मचारीहरु सेवा शर्त नियमावली, २०७८’ लाई सभाबाट स्वीकृत गरी आगामी दिनमा रिक्त दरबन्दीहरुको पदपूर्ति गर्दै जाने निर्णय भएको प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले जानकारी दिए ।

सभामा प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति शेरबहादुर देउवाले प्रतिष्ठानको आवश्यक विकास र विस्तारका लागि सरकारी स्तरबाट सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

त्यस्तै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले भौतिक पुर्वाधारको यथाशीघ्र विस्तार गरि शैक्षिक कार्यक्रम तथा अस्पताल सेवा विस्तार गर्न आवश्यक बजेट को श्रोत सुनिश्चित गर्नका लागि निर्देशन दिएका थिए ।

सो अवसरमा प्रतिष्ठानले आफ्नो कार्यकालमा अस्पतालले गरेको कार्य प्रगति, शैक्षिक कार्यक्रमका लागि भएका प्रयास, प्रतिष्ठानको लागि आवश्यक जग्गा प्राप्तिको विषयसहित समस्याका बारेमा प्रधानमन्त्री देउबालाई प्रतिष्ठानकी उपकुलपति संगीता भण्डारीले जानकारी गराएकी थिइन् ।

विङ्गर र अटो रिक्सा ठोक्किँदा ३ जनाको मृत्युु, ५ घाइते

कैलाली । कैलालीमा विङ्गर र अटो रिक्सा ठोक्किँदा तीन जनाको मृत्युुभएको छ भने पाँच जना घाइते भएका छन् ।

शुुक्रबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तरत कैलालीको गौरीगंगा नगरपालिका-४ राजीपुुरमा पूर्वतर्फ गइरहेको म१ज ३१९ नम्बरको विङ्गर र विपरीत दिशाबाट आइरहेको से१ह २५१० नम्बरको अटो रिक्सा ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख, प्रहरी उपरीक्षक वामदेव गौतमले दुुर्घटनामा परेर अटोमा सवार घोडाघोडी नगरपालिका-९ का २४ वर्षीय युुवराज चौधरी, २६ वर्षीय भीगम चौधरी र १९ वर्षीय जितेन्द्र चौधरीको मृत्युुु भएको जानकारी दिए ।

गम्भीर घाइते भएकाउनीहरु तीनै जनाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्युु भएको ट्राफिक प्रहरी उपरीक्षक गौतमले बताए ।

उनका अनुुसार दुुर्घटनामा परेर घोडाघोडी नगरपालिका-९ कै २३ वर्षीय दीपेन्द्र चौधरी, २२ वर्षीय सुरेन्द्र चौधरी, २९ वर्षीय हरी चौधरी, १९ वर्षीय आशन चौधरी र कञ्चनपुरको वेदकोट नगरपालिका-१० दैजीका २५ वर्षीय धने रावल घाइते भएका छन् । उनीहरुको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

घाइते मध्येका सुरेन्द्र चौधरी अटो चालक हुन् भने रावल विङ्गरका सहचालक हुन् । विङ्गरका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web