अस्पताल प्रभावित पारेर सेती थुन्न अनुमति

साउन १६, २०७८ मा प्रकाशित
Published at 2021-07-31

113 views

पोखरा । रामघाटमा स्थायी बाँध बनाएर सेती नदी थुन्दा पहिलो असर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई पर्छ । किनभने पूर्वतिर डिलैमा छ अस्पताल । त्यसैले बाँधका लागि प्रस्तावित योजनाको अस्पतालले विरोध गर्ला भन्ने अनुमान सामान्य सुझबुझ भएका जो कसैले गर्छ ।

तर, उदेकलाग्दो के भने अस्पतालले नै पोखरा महानगरपालिकालाई ‘सेती थुने हुन्छ’ भनेर अनुमति दिएको रहेछ, जसको रहस्योद्घाटन हुँदा पोखरेलीहरू चकित छन् । अस्पतालको संवेदनशीलतालाई बेवास्ता गर्दै प्रतिष्ठानका तत्कालीन उपकुलपति प्रा.डा. बुद्धिबहादुर थापाले आफू सेवानिवृत्त हुनु दुई दिनअघि सेती थुन्ने परियोजनालाई अनुमति दिएका हुन् ।

रामघाटको डिलसँगै अस्पताल जोडिएकाले गत माघमा महानगरपालिकाले सेती थुनेर नदीजन्य पदार्थ उत्खनन गर्ने परियोजनाबारे जानकारीसहित अस्पतालको धारणा माग्दै पत्र लेख्यो । परियोजना कार्यान्वयन गर्दा अस्पताललाई पर्न सक्ने असरबारे राय माग्दै सैद्धान्तिक स्वीकृति पनि मागेको थियो । तत्कालीन उपकुलपति थापाको पदावधि फागुन १६ मा सकिँदै थियो । उनले दुई दिनअघि कार्यकारी परिषद्को बैठक डाके । अस्पतालको आपत्ति नरहेको, बरु परियोजनाबाट हुने मुनाफाको केही प्रतिशत अस्पतालले पनि पाउनुपर्ने निर्णय बैठकबाटै गराएर महानगरलाई जवाफी पत्र पठाए ।

कार्यकारी परिषद्मा उनीसहित पाँच जना थिए– तत्कालीन डिन डा. नरेन्द्रविक्रम गुरुङ, निर्देशक डा. अर्जुन आचार्य, डा. रोहिणी सिग्देल र डा. ध्रुवबहादुर अधिकारी । डिन गुरुङ थापाकै ‘एस म्यान’ थिए भने सिग्देल उनकी आफ्नै बुहारी हुन् । अधिकारी, थापाकै साला नाता पर्छन् । परिषद्मा आफ्नै बहुमत भएपछि थापाले एकलौटी निर्णय गर्ने गरेको अस्पतालकै एक चिकित्सकले बताए । ‘सेती थुन्ने आयोजनालाई पनि उनकै जोडबलमा अनुमति दिने निर्णय गराइयो,’ ती चिकित्सकले भने, ‘जाँदाजाँदै गरिएको यस्तो निर्णय अस्पतालका लागि घातक छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.