काठमाडौं,पुस २७ । निर्वाचन आयोग निर्वाचनको तयारीमा जुटेको छ । मतदाता नामावली अद्यावधिकदेखि निर्वाचन आचारसंहितासम्मको तयारी भइरहेको आयोगले जनाएको छ । आयोग तयारीमा जुटे पनि निर्वाचनका लागि आवश्यक ऐन बनेका छैनन् । दुईवटा कानुन बनेका छन् भने ११ कानुन बन्न बाँकी छन् । निर्वाचन आयोग अपूर्ण छ । संविधानअनुसार पाँच आयुक्त हुने भए पनि अहिले प्रमुख आयुक्तसहित दुईजना मात्रै छन् ।

आयोगले पूर्णता नपाए पनि काम भइरहेको आयुक्त इला शर्माले बताइन् । स्थानीय तहको निर्वाचन गराउन पाँचवटा ऐन बन्नुपर्ने हुन्छ । संसद्ले सोमबार निर्वाचन कसुर र सजायसम्बन्धी ऐन तथा स्थानीय तह निर्वाचन कार्यविधि ऐन पारित गरेको छ ।

बाँकी तीन ऐनको विधेयक सरकारले २५ जेठमै संसद्मा दर्ता गराएको छ । राजनीतिक दलसम्बन्धी, निर्वाचन आयोगसम्बन्धी र मतदातासम्बन्धी ऐनको विधेयक संसदमा दर्ता भएको हो । यी तीन विधेयक अहिले संसद्को राज्य व्यवस्था समितिमा छलफलमा छ ।

प्रदेश र संघको निर्वाचनसम्बन्धी ऐनका मस्यौदा गृहमा पुगेनन्

प्रदेश र संघको निर्वाचनसँग सम्बन्धित कानुनहरू अहिलेसम्म निर्वाचन आयोगबाट मस्यौदा भएर गृह मन्त्रालयमा पुगेका छैनन् ।

आयोगका सचिव गोपीनाथ मैनालीका अनुसार प्रतिनिधिसभा सदस्यसम्बन्धी र प्रदेश सभा सदस्यसम्बन्धी ऐनको मस्यौदा अन्तिम तयारीमा पुगेका छन् ।

निर्वाचन क्षेत्र निर्धारण आयोग गठन भएको छैन

संघ र प्रदेशको निर्वाचन क्षेत्र निर्धारण गर्न गठन गरिने आयोगको ऐन पनि अहिलेसम्म संसद्मा पुगेको छैन । सरकारले पनि आयोग गठन गर्नेबारे छलफल अगाडि बढाएको छैन । कानुन मन्त्रालयले ऐनको प्रारम्भिक मस्यौदा भने तयार गरिसकेको छ।

गोपीनाथ मैनाली, सचिव, निर्वाचन आयोग

निर्वाचन आयोग निर्वाचनको तयारीमा छ । मतदाता नामावली अद्यावधिक गर्ने, मतदाता परिचयपत्र तयार गर्ने, मतदान बाकसको तयारी र निर्वाचन आचारसंहिताका विषयमा आयोग गम्भीरतापूर्वक छलफल र तयारीमा जुटेको छ । विद्युतीय मतदान बाकसको प्रयोगबारे दलहरूसँग छलफल गरिरहेका छौँ । १७ माघभित्र राजनीतिक दललाई विवरण अद्यावधिक गर्न सूचना प्रकाशित गरिसकेका छौँ ।

निर्वाचन आयोगले मस्यौदा तयार गरेका ऐन

प्रदेश सभा सदस्यसम्बन्धी विधेयक

प्रतिनिधिसभा सदस्यसम्बन्धी विधेयक

राज्य व्यवस्था समितिमा रहेका ऐन

राजनीतिक दलसम्बन्धी व्यवस्था

मतदाता नामावलीसम्बन्धी

निर्वाचन अयोगसम्बन्धी

संसद्बाट पारित भएका ऐन

स्थानीय तहसम्बन्धी ऐन

निर्वाचन सजाय तथा कसुरसम्बन्धी ऐन

प्रदेश र संघको निर्वाचनका लागि आवश्यक ऐन

निर्वाचन क्षेत्र निर्धारण आयोग ऐन

प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी ऐन

राष्टिय सभा सदस्य निर्वाचन ऐन

प्रदेशसभा सदस्य निर्वाचन सम्बन्धी ऐन

प्रदेश प्रमुख र मुख्यमन्त्रीको पारिश्रमक सेवा र सुविधाका सर्तसम्बन्धी ऐन

प्रदेश सरकार गठनसम्बन्धी ऐन

तयारीका लागि के गर्दै छन् मुख्य दल ?

केन्द्रीय सदस्यको प्रतिवेदनपछि कांग्रेसले रणनीति बनाउने

केन्द्रीय सदस्यले निर्वाचनको वातावरण, पार्टीको अवस्था र गर्नुपर्ने कामबारे प्रतिवेदन दिएपछि केन्द्रमा समिति बनाएर चुनावी रणनीति तय गर्ने कांग्रेसको तयारी छ ।

२ सय ४० वटै निर्वाचन क्षेत्र, नगर, गाउँको समग्र विषय मूल्यांकन गरेर रणनीति बनाइने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

निर्वाचनकेन्द्रित चारमहिने जागरण अभियानमा एमाले

प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचनकेन्द्रित भएर चारमहिने राष्ट्रिय जागरण अभियान चलाएको छ ।

निर्वाचन घोषणा भएमा माथिदेखि तलसम्मको पार्टीपंक्तिलाई तत्काल परिचालन गर्ने गरी एमालेले अभियान चलाएको हो । अभियान सुरु भएको दुई महिनामै एमालेले बैठक, भेला, प्रशिक्षण र आमसभासम्मका एकसरो कार्यक्रम गरेको छ ।

परिमार्जनसहित संशोधन भए मधेसी दल चुनावमा

संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित भएमा निर्वाचनमा सहभागी हुने मधेसकेन्द्रित दलहरूको साझा धारणा छ ।

सोहीअनुसार मधेसी दलले जिल्लामा कार्यक्रम गर्दै आएका छन् । आफूहरूको चाहनाअनुसार संविधान संशोधन भएमा सबै तहको निर्वाचनमा मधेसी मोर्चा गठबन्धनकै रूपमा सहभागी हुने आन्तरिक सहमति भएको मधेसका सबैजसो दलका मुख्य नेताहरूले बताएका छन् ।

तमलोपा महामन्त्री जितेन्द्र सोनल भन्छन्, ‘मागअनुसार संविधान संशोधन भए तमलोपा पनि निर्वाचनमा सहभागी हुन्छ । शीर्ष नेताहरूको जिल्ला भ्रमण यसकै आन्तरिक तयारी हो ।

पार्टीको संगठन विस्तार, जागरण अभियानका काम पनि भइरहेका छन् ।’ त्यस्तै, सद्भावना महासचिव मनीष सुमन सरकारले संशोधन प्रक्रिया अगाडि बढाएकाले आपूmहरू पनि आन्तरिक रूपमा निर्वाचन तयारीमा जुटेको बताउँछन् ।

गाउँकेन्द्रित अभियान थाल्न माओवादी केन्द्रको सर्कुलर

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले पनि निर्वाचन तयारी सुरु गरेको छ । माओवादी केन्द्रले निर्वाचनलाई लक्षित गर्दै चुनावी नारा तय गरिसकेको छ । माओवादीले ‘गाउँ, नगर, घर–घर जाऊँ– माओवादी केन्द्रलाई विजयी गराऔँ’ भन्ने चुनावी नारा तय गरेको छ ।

त्यस्तै, माओवादीले निर्वाचन मिति घोषणा हुनुबित्तिकै गाउँस्तरबाट घरदैलो अभियान चलाउने, प्रचारप्रसार व्यवस्थित गर्ने योजना बनाउन जिल्ला कमिटीलाई आग्रह गरिसकेको छ ।

चुनावी तालमेलको सम्भाव्यता अध्ययनसमेत गर्न स्थानीय कमिटीहरूलाई निर्देशनसमेत दिइएको नेताहरूले बताएका छन् ।

चुनावकै तयारीस्वरूप दुई राप्रपाको एकीकरण

दुई पार्टी एकीकरणपछि राष्ट्रिय प्रजातन्त्र पार्टी महाधिवेशनमा केन्द्रित भएको छ । ६–९ फागुनमा महाधिवेशन भएपछि पार्टी निर्वाचनको तयारीमा जुट्ने राप्रपा नेता दिलनाथ गिरीले बताए ।

‘राप्रपाले ०७४ माघ ७ भित्र स्थानीय, प्रान्तीय र संघीय चुनाव हुनुपर्ने अडान राख्दै आएको छ । चुनावकै लागि हामीले पार्टी एकीकरण गरेका हौँ,’ गिरीले भने, ‘महाधिवेशन सकिएपछि हामी चुनावको तयारीमा लाग्छौँ, वैकल्पिक प्रजातान्त्रिक पार्टीका रूपमा हामी माहोल बनाउँछौँ ।’

राप्रपाले एक महिनायता पोखरा, झापा, नेपालगन्ज, महेन्द्रनगर, भक्तपुर, गोर्खा, सिन्धुपाल्चोकमा ठूला सभा गरेको छ । (नयाँ पत्रिका दैनिक)

29.12¡ÆC