एजेन्सी ।
डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

निर्वाचन अघिका सर्वेक्षण र मिडिया विश्लेषणलाई चकित पार्दै रिपब्लिकन उम्मेदवार ट्रम्पले आफ्ना प्रतिद्वन्दी डेमोक्रेटिक उम्मेदार हिलारी क्लिन्टनलाई पराजित गरेका हुन् ।

निर्वाचित भएपछि न्युयोर्कमा आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आफुलाई हिलारी क्लिन्टनले टेलिफोन मार्फत् बधाई दिएको बताएका थिए ।

क्लिन्टनको राष्ट्रप्रतिको सेवाको प्रशंसा गर्दै ट्रम्पले आफु सबै अमेरिकीको राष्ट्रपति रहने र एकतावद्ध बनाएर लैजाने प्रतिवद्धता जनाए ।

डेमोक्रेटिक पक्षले आफ्नो हारको सङ्केत पाउने वित्तिकै समर्थकहरुलाई विदावारी गरेको थियो ।

सत्तरी बर्षिय ट्रम्प ब्यवसायी हुन् । आफ्नो कर विवरण खुलासा नगरेको भनेर विपक्षीले चुनावी अभियानमा ट्रम्पको चर्को आलोचना गरेका थिए ।

शुरुमा मुसलमानहरुलाई अमेरिका प्रवेशमा रोक लगाउने नारा उठाएपछि ट्रम्पको आलोचना भएको थियो ।

अमेरिकी नागरिकलाई रोजगारीमा प्राथमिकता दिन उत्तर अमेरिकी, स्वतन्त्र ब्यापार क्षेत्र लगायतका सम्झौता खारेज गर्ने ट्रम्पले बताउँदै आएका छन् ।

बैध आप्रवासीले आफ्नो नितिप्रति कुनै आशङ्का लिनु नपर्ने ट्रम्प अभियानले स्पष्ट पारेको थियो ।

सिरियाली गृहयुद्धमा विद्रोहीलाई समर्थन गर्ने यस अघिको अमेरिकी नीतिलाई परिवर्तन गर्ने सङ्केत ट्रम्पले दिइसकेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मिलेर काम गर्ने ट्रम्पको भनाइ पछि अमेरिकी विदेश नीतिमा परिवर्तन आउने अनुमान गरिएको छ ।

अमेरिका भरिको कुल लोकप्रिय मतले नभई राज्य स्तरमा उम्मेदवारले पाउने मतले अमेरिकी राष्ट्रपतिको निर्वाचनको परिणाम निर्धारण हुने गर्छ ।

कुल ५ सय ३८ इलेक्टोरल मत मध्ये ट्रम्पले २ सय ८९ मत र क्लिन्टनले मात्र २ सय १८ इलेक्टोर मत प्राप्त गरेका थिए ।

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि विश्व समुदायले ट्रम्पको नेतृत्वमा अमेरिकासँग सहकार्य गरेर अघि बढ्ने चाहना ब्यक्त गरेका छन् ।

ट्रम्पको विजय घोषणा लगत्तै टेलिग्राम सन्देश पठाउँदै रसियाका राष्ट्रपति भ्लादमिर पुटिनले दुई देशको सम्बन्ध ट्रम्पको कार्यकालमा थप उचाईमा पुग्ने विश्वास ब्यक्त गरेका छन् ।
पुटिनले दुई देशका आन्तिरिक समस्या सहित विश्वका सबै मुद्दामा ट्रम्पको नेतृत्वमा अमेरिकासँग सहकार्य गर्न रसिया तत्पर रहेको बताएका छन् ।

त्यसैगरी, चीनको विदेश मन्त्रालयले नवनिर्वाचित राष्ट्रपति ट्रम्पको नेतृत्वमा अमेरिकासँग सम्बन्ध थप बलियो र प्रगाढ हुने विश्वास व्यक्त गर्दै बधाई दिएको छ ।

आज बेइजिङ्गमा पत्रकार सम्मेलनमा चीनिया विदेश मन्त्रालयका प्रवक्ता लु काङ्गले चीन र अमेरिकाबीच व्यापारलगायतका साझा फाइदाका सम्बन्धमा रहेको बताउँदै सबै विषयमा दुई देशबीच थप मित्रबत् व्यवहार हुने विश्वास ब्यक्त गरे ।

त्यसैगरी, बेलायकी प्रधानमन्त्री क्षेरेसा मेले दुई देशबीचको विषयमा विशेष सम्बन्ध थप प्रगाढ हुने विश्वास ब्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति बराक ओवामाले आज टेलिफोन गरी नवनिर्वाचित राष्ट्रपति ट्रम्पलाई बधाई दिएका छन् ।

त्यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई दिएको बताइएको छ ।

उनले ट्विटरमा आफुले नवनिर्वाचित राष्ट्रपतिलाई भारत र अमेरिकाबीचको सम्बन्ध थप सुधार हुने विश्वाससहित शुभकामना दिएको लेखेका छन् ।

इरान, जापान, टर्की, इजरायल, युरोपियन युनियन, फिलिपिन्स लगायतका विभिन्न देशले नवनिर्वाचित राष्ट्रपति ट्रम्पको नेतृत्वमा अमेरिका सँगको विद्यमान सम्बन्धमा थप सुधार आउने विश्वास ब्यक्त गरेका छन् ।

16.12¡ÆC