१८ भदौ, गोरखा ।
बिना अनुमति संचालनमा रहेका गोरखा सदरमुकामका नीजि स्वास्थ्य संस्था 'मेडिकल' लाई अनुमति लिन तथा नबिकरणका लागि एक महिनाको समय दिइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले आउँदो असोजसम्मको समय दिएर कानूनी प्रक्रिया पूरा गरी मेडिकल संचालन गर्न आग्रह गरेको हो । जनस्वास्थ्य कार्यालयका प्रमुख केदारराज पराजुलीले मेडिकल संचालकलाई भेला गरेर एक महिना समय दिएको बताउनुभयो ।

एक महिनापछि बजार अनुगमनमा निस्कदा नियम बिपरीतका मेडिकलहरु संचालन भएको भेटिएमा कारबाही गरिने पराजुलीले बताउनुभयो । ‘प्रशासन, प्रहरी, पत्रकारसहितको संयुक्त अनुगमन टोलीले लिएर बजार अनुगमनमा निस्कन्छौं । अनुमति बिना संचालन गरिएको र नबिकरण नभएका मेडिकल तत्कालै बन्द गछौं ।’

कम्पनी रजिष्टार कार्यालय, सहकारी वा घरेलु कार्यालयमा दर्ता गरेर मात्रै मेडिकल खोल्न पाइँदैन । मेडिकल चलाउन जनस्वास्थ्य कार्यालयबाट अनुमति लिनुपर्ने नियम रहेको पराजुलीले बताउनुभयो ।

सदरमुकाममा दश ओटा भन्दा बढी मेडिकलहरु संचालनमा छन् । अरुको नाउँमा लाइसेन्स लिएर मेडिकलहरु संचालन गरिँदै आइएको छ भने स्वास्थ्यकर्मी बाहेकका ब्यक्तिले पनि औषधि बिक्री, बितरण गर्दै आएको उपभोक्ताको गुनासो छ । मेडिकल संचालकलाई सच्चिन एक पटक मौका दिएको पराजुलीले बताउनुभयो ।

‘कसैको लगानी डुवाउने हाम्रो उद्देश्य होइन । पैसा लिएपछि गुणस्तरीय सेवा दिनुपर्छ भन्ने हो’ पराजुलीले भन्नुभयो ।

जनस्वास्थ्य र जिल्ला अस्पतालबीचको समन्धमा सुधार ल्याउने बताउँदै उहाँले जिल्लाका तीन ओटै प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा डाक्टरको ब्यबस्था गरिने बताउनुभयो ।

अहिले मकैसिङ र आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर बस्दै आएको भएपनि जौवारी केन्द्रमा बिगत लामो समयदेखि डाक्टर अनुपस्थित छन् । जौवारीमा छिट्टै डाक्टर पठाउने उहाँको भनाइ छ ।

16.92¡ÆC