
– किरणप्रसाद अधिकारी
गत भदौ १० गते भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटको जनजीवन अस्तव्यस्त बनाएको तीन महिना बितिसकेको छ। विपद् आएसँगै सिंहदरबारदेखि प्रदेश र स्थानीय सरकारसम्मबाट राहत, उद्धार र पुनःस्थापनाका ठूला–ठूला आश्वासन बाँडिए। तर, समय बित्दै जाँदा पीडितको घाउमा मलम लगाउने काममा राज्यको संयन्त्र सुस्त र प्रक्रियामुखी देखिएको छ। अर्कोतर्फ, नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाले स्थानीय तहहरूसँगको समन्वयमा अघि बढाएको कामले राज्य संयन्त्रको कार्यक्षमतामाथि नै गम्भीर प्रश्न खडा गरिदिएको छ।
सरकारसँग पर्याप्त स्रोत, साधन, बजेट, सुरक्षा निकाय र विशाल कर्मचारी संयन्त्र छ। तर, ‘कार्यविधि’ र ‘कागजी प्रक्रियाको’ गोलचक्करमा फस्दा वास्तविक पीडितले समयमै राहत पाउन सकेका छैनन्। सीमित स्रोतसाधन र स्वयंसेवकको भरमा काम गर्ने नुवाकोट रेडक्रसको सक्रियता तथा केन्द्रीय निकायसँगको समन्वयमा प्रभावित बस्तीहरूमा पुर्याइएको योगदानले एउटा गम्भीर प्रश्न उठाएको छ– रेडक्रसले यति छिटो र पारदर्शी रूपमा काम गर्न सक्ने, राज्यले किन नसक्ने ?
तथ्याङ्कमा नुवाकोट रेडक्रसको सक्रियता : कामले देखाएको परिणाम:
बाढीले क्षति पुर्याएलगत्तै नुवाकोट रेडक्रसका स्वयंसेवकहरू उद्धार तथा क्षतिको लेखाजोखामा खटिए। त्यसपछि नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाले स्थानीय सरकारहरूसँग प्रत्यक्ष समझदारी गरी परिणाममुखी काम अघि बढायो। सार्वजनिक भएका तथ्याङ्कहरूले रेडक्रसको सक्रियता र योगदानलाई स्पष्ट पार्छन्।
१. प्रत्यक्ष नगद सहायता र जीविकोपार्जनमा जोड
रेडक्रसले प्रभावित २ हजार घरधुरीलाई तत्काल आधारभूत आवश्यकता पूरा गर्न प्रतिपरिवार १५ हजार रुपैयाँका दरले बहुउद्देश्यीय नगद सहायता उपलब्ध गराउने कार्यक्रम अघि बढायो। जसमध्ये विदुर नगरपालिकामा मात्रै १ हजार ७१० जना पीडितको हातमा रकम पुगिसकेको छ।
त्यस्तै, बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिका परिवारका एकल महिला, अभिभावक गुमाएका बालबालिका र ज्येष्ठ नागरिकलाई प्रतिपरिवार १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने कार्यक्रम सञ्चालनमा ल्याइएको छ। साथै, १ हजार परिवारको जीविकोपार्जन पुनःस्थापनाका लागि सहयोग गर्ने कार्यक्रमसमेत अघि बढाइएको छ।
२. आवास र घरभाडाको व्यावहारिक समाधान
राज्यले अस्थायी आवाससम्बन्धी कार्यविधि निर्माण र प्रक्रियामै लामो समय बिताइरहँदा रेडक्रसले पीडितको तत्कालीन आवश्यकतालाई प्राथमिकतामा राख्यो। संस्थाले २ हजार घरधुरीलाई घरभाडा भुक्तानी गर्ने तथा अति प्रभावित ६ सय घरधुरीका लागि संक्रमणकालीन आवास निर्माण गरिदिने समझदारी गरी काम अघि बढाइसकेको छ।
३. खानेपानी र स्वास्थ्य सेवामा तत्काल हस्तक्षेप
बाढीले विदुर नगरपालिकाका १३ वडामध्ये १० वडामा क्षति पुर्याउँदा र त्रिशूली अस्पतालसँगको सम्पर्क टुट्दा स्वास्थ्य सेवामा समेत समस्या उत्पन्न भयो। यस्तो अवस्थामा नुवाकोट रेडक्रसको समन्वयमा बट्टार, विदुर र देवीघाटमा आपत्कालीन स्वास्थ्य क्लिनिक सञ्चालन गरियो। ती क्लिनिकबाट एकै दिनमा ११९ जनासम्म बिरामीले निःशुल्क उपचार सेवा पाए। घाइतेहरूका लागि नुवाकोट शाखाको रक्तसञ्चार केन्द्रबाट निःशुल्क रगतसमेत उपलब्ध गराइयो।
त्यति मात्रै होइन, करिब ३० हजार स्थानीयलाई खानेपानी उपलब्ध गराउँदै आएको विदुर खानेपानी आयोजनाको ७.५ किलोमिटर पाइपलाइन मर्मतको काम सुरु गरियो। साथै, ५ हजार लिटर क्षमताका पाँचवटा पानी ट्याङ्की जडान गरी खानेपानीको तत्कालीन समस्या समाधानमा सहयोग पुर्याइयो।
४. दुर्गम बस्तीमा उज्यालो र जाडोबाट जोगाउने पहल
तारकेश्वर, किस्पाङ र बेलकोटगढीमा विद्युत् सेवा अवरुद्ध हुँदा सोलार बत्ती वितरण गर्ने, कोदोबारी होल्डिङ सेन्टरमा आश्रय लिएका ६७ जना विस्थापितको व्यवस्थापन गर्ने तथा जाडो मौसममा उत्पन्न हुन सक्ने स्वास्थ्य जोखिम न्यूनीकरणका लागि महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने कामसमेत नुवाकोट रेडक्रसको सक्रियतामा सम्पन्न भयो।
कहाँ चुक्यो राज्य संयन्त्र?
यी दृष्टान्तले हाम्रो विपद् व्यवस्थापन प्रणालीका तीनवटा मुख्य कमजोरी उजागर गरेका छन्।
१. प्रक्रियामुखी सोच
राज्यका निकायहरू पीडितको आँसु पुछ्नुभन्दा पहिले ‘मापदण्ड र कार्यविधि’ बनाउन बढी समय खर्चिने गरेको देखिन्छ। एउटा फाइल एक टेबुलबाट अर्को टेबुलमा सर्दासर्दै पीडितको अवस्था झन् दयनीय बन्छ। विपद्को समयमा तत्काल निर्णय र कार्यान्वयन आवश्यक हुन्छ, तर हाम्रो प्रशासनिक संयन्त्र प्रक्रियामै अल्झिने गरेको छ।
२. कोषमा रकमको थुप्रो, वितरणमा ढिलाइ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलगायतका राहत कोषमा ठूलो रकम जम्मा हुने गरेको छ। तर, उक्त रकम वास्तविक पीडितको हातसम्म पुग्न लामो समय लाग्ने गरेको छ। रेडक्रसले बैंक खातामार्फत लाभग्राहीलाई प्रत्यक्ष नगद सहायता उपलब्ध गराउन सक्छ भने राज्यको संयन्त्रले त्यही काम प्रभावकारी रूपमा किन गर्न सक्दैन? यो प्रश्नको जवाफ खोज्न जरुरी छ।
३. तहगत समन्वयको अभाव
संघ, प्रदेश र स्थानीय सरकारबीच अधिकार, जिम्मेवारी र बजेटको विषयमा स्पष्ट समन्वय हुन नसक्दा पुनर्निर्माण र पुनःस्थापनाका काम अलपत्र पर्ने गरेका छन्। तर, नुवाकोट रेडक्रसले विदुर, तारकेश्वर र किस्पाङलगायतका स्थानीय तहसँग प्रत्यक्ष सहकार्य र समन्वय गरी काम अघि बढाएको छ। यसले प्रभावकारी समन्वय भए सीमित स्रोतसाधनबाट पनि परिणाम हासिल गर्न सकिने देखाएको छ।
अब आश्वासन होइन, परिणाम चाहिएको छ:
विपद्ले बाजा बजाएर आउँदैन, तर विपद्पछिको व्यवस्थापनले राज्यको उपस्थिति, संवेदनशीलता र कार्यक्षमताको परीक्षा लिन्छ। जाडोयाम सुरु भइसक्दा पनि त्रिपाल र चिसो भुइँमा रात काट्न बाध्य पीडितहरूका लागि नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखा भरपर्दो सहारा बनेर उभिएको छ। तर, जनताले आफ्नै मत दिएर निर्वाचित गरेको सरकार भने अपेक्षाअनुसार सक्रिय हुन नसकेको भन्दै आलोचना खेपिरहेको छ।
अब राज्यले बहानाबाजी र कागजी प्रक्रियाको आडमा आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन। रेडक्रसले देखाएको द्रुत कार्यशैली, स्थानीय तहसँगको समन्वय र परिणाममुखी कार्यप्रणालीबाट पाठ सिक्दै राज्य संयन्त्रले तत्काल पीडितको घरदैलोमा पुगेर स्थायी पुनःस्थापनाको सुनिश्चितता गर्नुपर्छ।
विपद् प्रभावित नागरिकलाई अब खोक्रा आश्वासन होइन, सुरक्षित आवास, जीविकोपार्जनको आधार र सम्मानपूर्वक बाँच्न पाउने वातावरण चाहिएको छ। राज्यले यो जिम्मेवारी कहिले र कसरी पूरा गर्छ भन्ने प्रश्नको जवाफ व्यवहारबाट दिनुपर्ने बेला आएको छ।
-लेखक
किरणप्रसाद अधिकारी, सुन्दरादेवी सन्देश साप्ताहिक, नुवाकोटका प्रकाशक तथा कार्यकारी सम्पादक र भोटेकोशी–त्रिशूली बाढीपीडित सरोकार समितिका सहसचिव हुनुहुन्छ। लेखक स्वयं पनि भोटेकोशी–त्रिशूली बाढीबाट पूर्ण रूपमा प्रभावित हुनुहुन्छ।
8.12¡ÆC