विदुरका बाढी प्रभावितलाई घरभाडा बापतको रकम वितरण सुरु 

मंसिर १०, २०८३ मा प्रकाशित | 9 views

विदुरका बाढी प्रभावितलाई घरभाडा बापतको रकम वितरण सुरु 
–रामहरि न्यौपाने
९ मंसिर, नुवाकोट । भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरबासी प्रभावित परिवारलाई घर भाडा बापतको रकम वितरण थालिएको छ ।
संघीय सरकारले प्रभावित परिवारलाई घारभाडा बापत नगद सहयोग उपलब्ध गराउन घोषणा गरे अनुसार विदुर नगरपालिका भित्रका प्रभावित १११ परिवारको बैंक खातामा नगद उपलब्ध गराइएको हो । विदुरका नगरप्रमुख राजन श्रेष्ठको अनुसार बाढीबाट प्रभावित भएको लाभग्राही कायम भई घरभाडामा बस्दै आएका परिवारको बैंक खातामा नगद उपलब्ध गराउन थालिएको हो ।
“लाभग्राही कायम भएका वडा नं १० वेत्रावती सहित यसआसपासका बासिन्दाबाट नगद उपलब्ध गराउन थालिएकोमा अहिले प्रभावित सबै वडामा पुगिएको छ ।” नगरप्रमुख श्रेष्ठले भन्नुभयो “विवरण अध्यावधिक हुनेक्रम जारी रहेकाले लाभग्राही भएका सबैलाई जतिसक्दो चाडै रकम उपलब्ध गराउन लागिरहेका छौ ।”
विदुर नगर कार्यपालिकाको गत भदौ २० मा बसेको १३४औँ बैठकले बाढी प्रभावितलाई होल्डिङ सेन्टर छाडेर घरभाडामा बस्न चाहनेलाई मासिक रु दश हजार उपलब्ध गराउने निर्णय गरेको थियो । त्यसलगत्तै संघीय सरकारले बाढी प्रभावितलाई सुरक्षित स्थनमा बस्ने प्रबन्ध गर्दै घर भाडामा लिएर बस्न आग्रह गर्दै त्यसबापत लाग्ने खर्च मासिक रु १० हजार छ महिनासम्म उपलब्ध गराउने घोषणा गरेको थियो । सोही घोषणा अनुरुप विदुर नगरपालिकाले दोहोरो खर्च भुक्तानी नहुने गरेर घारभाडा बापतको रकम उपलब्ध गराउन थालेको हो ।
विदुर नगरपालिकाले सामाजिक संघ सस्थासंगको सहकार्यमा घरभाडामा बस्दा चाहिने बन्दोबस्ती, लत्ताकपडा, भाडावर्तन, सरसफाईका सामाग्रिहरु राहतमा यसअघि देखि नै उपलब्ध गराउदै आएको छ । घरभाडा बापतको रकम भने लाभग्राही कायम गर्नको लागी तोकिएको विवरण अनुसार समय लागेकाले अहिले उपलब्ध गराउन थालिएको नगर उपप्रमुख प्रभा बोगटीको भनाई छ ।
उहाँको अनुसार विदुर नगरपालिकाको प्रभावित लाभग्राहीको सङ्ख्या एक हजार ७८६ परिवार कायम भएको छ । अझै केही छुट भएको गुनासो आइरहेको हुदाँ उक्त सङ्ख्या केही थपघट हुनसक्ने उपप्रमुख बोगटीले जानकारी दिनुभयो ।
सरकारले बाढी प्रभावित भएका परिवारलाई कम्तिमा छ महिनासम्म मासिक रुपमा घरभाडा बापतको रकम उपलब्ध गराउने घोषणा गरेको छ । सोही घोषणामा चार जनासम्म सदस्य भएको परिवारलाई प्रतिमहिना रु. १५ हजार रुपैयाँ उपलब्ध गराउन थालिएको हो । प्रभावित परिवारमा चार जनाभन्दा बढी सदस्य भएमा थप प्रत्येक सदस्यका लागि प्रतिमहिना रु दुई हजार थप रकम उपलब्ध गराउने व्यवस्था रहेको छ ।
बाढीबाट प्रभावित भएका नुवाकोटको बेलकोटगढी नगरपालिका सहित किस्पाङ र तारकेश्वर गाउँपालिकाले पनि भाडा बापतको रकम उपलब्ध गराउन लाभग्राही एकीन हुनेक्रम अन्तिम चरणमा पुगेकाले त्यस लगत्तै घरभाडा बापतको रकम उपलब्ध गराउन थाल्ने जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web