
दोहा, कतार । नुवाकोट सेवा समाज दोहा कतारले नेपालीहरूको महान् पर्व विजयादशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै नुवाकोटको एन्थम गीत ‘हाम्रो नुवाकोट, हामी नुवाकोटे’को अडियो तथा भिडियो सार्वजनिक गरेको छ ।

शुक्रबार कतारको सनैयास्थित सेन्चुरी रेस्टुरेन्ट, प्लाजा मलमा आयोजित कार्यक्रममा गीतको भिडियो प्रिमियर गरिएको हो। रामजी थापा मगरको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीत समाजको विशेष पहलमा निर्माण गरिएको हो ।
गीतमा सिद्धान्त परियार, सुनील थापा मगर, पवित्र गुरुङ र मुना खड्काको स्वर रहेको छ। पुरु लम्सालको शब्द रचना तथा रामजी थापा मगरको निर्देशन र सङ्गीत रहेको गीतको भिडियो सम्पादन तथा कलर ग्रेडिङ रोशन धितालले गरेका हुन् ।
नुवाकोटको ऐतिहासिक गौरव, धार्मिक आस्था, सांस्कृतिक विविधता र प्राकृतिक सुन्दरतालाई गीत तथा भिडियोमा आकर्षक ढङ्गले प्रस्तुत गरिएको छ। बेलकोट, धैबुङकोट, धुवाकोट र सल्यानकोटजस्ता ऐतिहासिक स्थलसँगै दुप्चेश्वर, सूर्यकुण्ड, पञ्चकन्या, शिवपुरी, ककनी, बेलकोटगढी, मेघाङ र किस्पाङलगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रका दृश्य समेटिएका छन्। त्रिशूली र तादी नदीसहित जिल्लाको प्राकृतिक सौन्दर्य तथा बहुजातीय र बहुभाषिक पहिचानलाई समेत गीतले उजागर गरेको छ ।

समाजका अध्यक्ष बुद्धिमान रुम्बा तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारका अध्यक्ष कृष्ण पन्थीले गरेका थिए। कार्यक्रममा कतारमा स्थापित विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि, प्रदेश समन्वय परिषद्का पदाधिकारी र कतारमा रहेका नुवाकोटवासी नेपालीहरूको उपस्थिति थियो ।
गीतको भिडियो प्रदर्शनपछि मन्तव्य राख्ने वक्ताहरूले यसले नुवाकोटको ऐतिहासिक गौरव, सांस्कृतिक विविधता र पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। नुवाकोट नपुगेका दर्शकलाई समेत जिल्लाका विभिन्न धार्मिक, ऐतिहासिक तथा पर्यटकीय गन्तव्यबारे जानकारी गराउँदै भ्रमणका लागि प्रेरित गर्ने उनीहरूको भनाइ थियो ।
कार्यक्रमका प्रमुख अतिथि पन्थीले भोटेकोसी नदीमा आएको बाढीले नुवाकोटमा पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै विपत्तिमा परेका नागरिकलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे। उनले एनआरएनए एनसीसी कतार नुवाकोटवासीको सुखदुःखमा सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गर्दै आपत्कालीन अवस्थामा नुवाकोटका एक व्यक्तिलाई हवाई टिकट उपलब्ध गराएर नेपाल पठाएको प्रसङ्गसमेत स्मरण गरे। वैदेशिक रोजगारीमा रहेका श्रमिकको हित र सहयोगका लागि संस्था सधैँ तत्पर रहेको उनको भनाइ थियो ।
पन्थीले नुवाकोटको पहिचान झल्काउने गीतको प्रशंसा गर्दै भिडियो हेर्दा जिल्लाका विभिन्न पर्यटकीय स्थलको भ्रमण गरेजस्तो अनुभूति भएको बताए । उनले कतारमा आयोजना गर्ने तयारी गरिएको स्नेह मिलन कार्यक्रम पर्याप्त आवेदन प्राप्त नभएको तथा मध्यपूर्वको प्रतिकूल परिस्थितिलगायत कारणले केही समयका लागि स्थगित गरिएको जानकारीसमेत दिए ।

समाजका अध्यक्ष तामाङले विदेशमा रहेर पनि जन्मभूमिको इतिहास, संस्कृति, धर्म, परम्परा र प्राकृतिक सम्पदाको संरक्षण तथा प्रचारप्रसार गर्ने उद्देश्यले गीत निर्माण गरिएको बताए । सामाजिक तथा सांस्कृतिक अभियानलाई सफल बनाउन राजनीतिक विचार र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सबै एकजुट हुनुपर्नेमा जोड दिँदै उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरे ।
कार्यक्रममा कतारमा रहेका नेपाली कलाकारहरूले विभिन्न भाषाका गीत तथा साङ्गीतिक प्रस्तुति दिएका थिए। अन्त्यमा प्रस्तुत मेहेन्दोमाया गीतमा सहभागीहरू सामूहिक रूपमा नाच्दै रमाएका थिए ।
कार्यक्रमको सहजीकरण समाजका महासचिव रामप्रसाद वाग्लेले गरेका थिए ।

16.69¡ÆC