दशैँ मनाउन अहिलेसम्म झण्डै ५ लाख ३० हजार यात्रु बाहिरिए

कार्तिक ३, २०८३ मा प्रकाशित | 9 views

दशैँ मनाउन अहिलेसम्म झण्डै ५ लाख ३० हजार यात्रु बाहिरिए

काठमाडौँ । दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाट अहिलेसम्म झण्डै ५ लाख ३० हजारको संख्यामा यात्रु बाहिरिएका छन् ।

गएको असोज २५ गते घटस्थापनादेखि आज बिहानसम्म सार्वजनिक गाडीबाट ५ लाख २८ हजारको संख्यामा यात्रु बाहिरिएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदीले जानकारी दिनुभएको छ । पोहोर पनि घटस्थापनादेखि एक हप्ताको समयमा साढे पाँच लाख जनाले उपत्यका छाडेका थिए ।

अघिल्लो वर्षभन्दा यसपालि अहिलेसम्म बाहिरिनेको सङ्ख्या झण्डै २० हजारले कम रहेको छ । पछिल्ला विपद्जन्य घटना, भोटेकोशी बाढी, सडकको अवस्था, बढ्दो महँगी तथा वैदेशिक रोजगारीलगायतका कारण दशैँमा काठमाण्डौ छोड्नेहरूको सङ्ख्या केही कमी आएको अनुमान छ ।

यस वर्ष दशैँ मनाउन झण्डै १० लाखले काठमाण्डौ उपत्यका छाड्ने अनुमान गरिएको छ । आज र भोलि पनि कतिपय गाउँघर जानेक्रम चल्नेछ । काठमाण्डौबाट बाहिरिने र भित्रने सबै नाकामा घटस्थापनादेखि बढेको चाप भने अहिले घट्न थालेको छ । आजदेखि सामान्य भन्दा कम मात्रै गाडी चलेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी सुवेदीले बताउनुभयो ।

यस्तै घटस्थापना यता सार्वजनिक गाडीमार्फत काठमाण्डौ उपत्यका भित्रिने यात्रुको सङ्ख्या अहिलेसम्म झण्डै साढे २ लाख जना पुगेको छ । आज अहिलेसम्म कुनै पनि राजमार्ग तथा सडकमा अवरोध नरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web