
गोरखा । बडादसैँको सातौँ दिन शनिवार गोरखा दरबारको दसैँघरबाट परम्परागत विधिअनुसार पूजाआजा गरी फूलपाती सहितको डोली काठमाडौँस्थित हनुमानढोका दरबारका लागि पठाइएको छ ।
शुभसाइत अनुसार बिहान ९ बजे पूजाअर्चना सम्पन्न गरी फूलपातीको डोली बा २ झ २१२८ नम्बरको गाडीमा राखेर काठमाडौँ पठाइएको गोरखा दरबारका नायब सुब्बा हरि सारूले जानकारी दिनुभयो । फूलपाती सहितको डोली लिएर सुसारे सानुकाजि बानियाँ शुभसाइतमा काठमाडौँ तर्फ लाग्नु भएको उहाँले जानकारी दिनुभयो ।
दरबारका अनुसार सुसारेहरूले फूलपातीसहितको डोली बोकेर ल्याएपछि सरकारी गाडीमार्फत काठमाडौँ पठाइएको हो ।
फूलपाती बिदाइका लागि गोरखा दरबारको दसैँघरबाट बाजागाजासहित र्याली निकालिएको थियो । परम्परागत धार्मिक विधिअनुसार पूजाआजा गरी फूलपातीको डोली बिदाइ गरिएको गोरखकाली मन्दिरका मूल पुजारी राजेन्द्र अर्यालले बताउनुभयो ।
बडा दसैँको सप्तमी अर्थात् फूलपातीको दिन गोर्खा कालिका मन्दिरमा विशेष पूजाआजा गरिन्छ । पूजापश्चात् कालिका मन्दिरको जमरा र विभिन्न किसिमका पात तथा वनस्पतिहरू (केरा, दाडिम, धान, हलेदो, माने, धान, अशोक, बेल र जयन्ती) लाई शास्त्रीय विधिअनुसार फूलपातीको रूपमा तयार पारिन्छ । यसरी तयार पारिएको फूलपातीलाई विशेष बाजागाजा, सलामी र मंगलपाठसहित गोर्खाबाट काठमाडौँतर्फ पठाइने गरिएको छ ।
फूलपातीलाई परम्परागत रूपमा पदमार्ग हुँदै धादिङ, नुवाकोट हुँदै काठमाडौँको हनुमान ढोका पुर्याउने गरिन्थ्यो । बाटामा पर्ने स्थानीय बासिन्दाहरूले यसलाई ठूलो श्रद्धा र भक्तिभावका साथ स्वागत गर्ने गर्दछन् । गोरखादेखि काठमाडौँसम्मको यो यात्राले दुई ऐतिहासिक ठाउँहरूलाई सांस्कृतिक रूपले जोड्ने काम गरेको थियो । देशमा गणतन्त्र आएपछि फूलपाती गाडी मार्फत पठाउने गरिएको छ ।
गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबारमा पुर्याएपछि शनिवार साँझ हर्षबढाइँका साथ भित्र्याउने परम्परा छ । यस्तै, गोरखा दरबारको दसैँघरमा पनि शनिवार साँझ हर्षबढाइँसहित फूलपाती भित्र्याउने कार्यक्रम रहेको छ ।
ऐतिहासिक परम्पराअनुसार तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सञ्चालन गर्न थालेपछि गोरखा दरबारबाट हरेक वर्ष बडादसैँको सातौँ दिन फूलपातीसहितको डोली काठमाडौँ पठाउने चलन सुरु भएको मानिन्छ । लामो समयदेखि निरन्तरता पाउँदै आएको यस परम्पराले गोरखा दरबार र हनुमानढोका दरवारबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई जीवन्त राखेको छ ।
फूलपाती बिदाइ कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापा मगर, गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगर, सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा लगायत जनप्रतिनिधि तथा सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो ।
धार्मिक आस्था र ऐतिहासिक विरासतसँग जोडिएको गोरखाको फूलपाती परम्पराले बडादसैँको सांस्कृतिक महत्वलाई उजागर गर्नुका साथै पुरानो परम्पराको संरक्षण र निरन्तरतामा समेत योगदान पुर्याउँदै आएको छ ।
24.07¡ÆC
