
काठमाडौँ । दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आजदेखि देशैभरि विशेष सुरक्षा योजना लागू भएको छ । प्रहरीका अनुसार सर्वसाधारणको सुरक्षा, औद्योगिक प्रतिष्ठान र सडक सुरक्षालाई प्राथमिकतामा राखेर यो योजना शुरू गरिएको हो ।
केन्द्रीय प्रहरी प्रवक्ता अबिनारायण काफ्लेका अनुसार यस पटक विगतभन्दा केही अघिदेखि नै सुरक्षा योजना लागू भएको छ ।
यस योजनाअन्तर्गत देशभरि ५० हजारभन्दा धेरै प्रहरी खटाइएका छन् । मुख्य बजार, चोक तथा भीडभाड हुने क्षेत्रमा सीसीटीभी र ड्रोनमार्फत निगरानी बढाइएको छ । डिजिटल ठगी, एआईको दुरुपयोग र फेक अनलाइन शपिङविरुद्ध विशेष सतर्कता अपनाएको प्रवक्ता काफ्लेले बताउनुभयो ।
प्रहरीका अनुसार सडक सुरक्षालाई प्रभावकारी बनाउन लामो दूरीका गाडीमा दुई जना चालक अनिवार्य गरिएको छ भने गाडीको अवस्था जाँच गर्न र क्षमताभन्दा धेरै यात्रु राख्न नदिन ठाउँठाउँमा सहायता कक्ष राखिएका छन् । देशभर ४०० भन्दा धेरै ठाउँमा सहायता कक्ष स्थापना गरी ११ सयभन्दा धेरै प्रहरी परिचालन गरिएको छ ।
प्रहरीले अपराध नियन्त्रण र अनुसन्धानलाई प्राथमिकतामा राखेको भन्दै ढुक्क भएर चाडपर्व मनाउन आमनागरिकलाई आग्रह गरेको छ ।
यस वर्ष दशैँको टीका आउँदो कात्तिक ४ गते बुधवार परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कात्तिक ४ गते बिहान १० बजेर २६ मिनेटमा उत्तम साइत रहेको जनाएको छ ।
17.82¡ÆC