
काठमाडौँ । नेपाली विज्ञहरूले गएकाे भदौ १० गते भोटेकोशी नदीमा बाढी ल्याएको हिमपहिरो झरेको यथार्थ समय, ठाउँ र गति पत्ता लगाएका छन् ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारी र भूकम्पविद् शिव सुवेदीको नेतृत्वमा स्वदेशी एवम् विदेशी वैज्ञानिकहरूको सहकार्यमा गरेको अध्ययनअनुसार भदौ १० गते बिहान ८ बजेर ३७ मिनेट १६ सेकेन्डमा हिमपहिरो झरेको हो । यो अध्ययन अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नल ‘सेस्मिका’ मा प्रकाशित भएको छ ।
अनुसन्धानकर्ताहरूले नेपाल र चीनका विभिन्न ठाउँमा जडान गरिएका ४५ वटा भूकम्प मापक यन्त्र (सेस्मोमिटर) बाट प्राप्त उच्च फ्रिक्वेन्सीका तरङ्गहरूको विश्लेषण गरेर यो तथ्य पत्ता लगाएका हुन् ।
अध्ययनअनुसार पहिरो जानुभन्दा १७ मिनेटअघि त्यही क्षेत्रमा २.५ म्याग्नेच्युडको भूकम्प मापन भएको थियो । भौगोलिक उचाइको विविधताका कारण पहिरो पछि आएको बाढीको बहाव अति तीव्र रहेको अध्ययनबाट खुलेको छ ।
प्रतिवेदनअनुसार पहिलो २५ किलोमिटरसम्म बाढी प्रतिघन्टा १६३ किलोमिटरसम्मको अधिकतम गतिमा बगेको थियो । नदीको भिरालोपन घट्दै जाँदा तलतर्फ यो गति क्रमशः घटेर प्रतिघन्टा ३३ किलोमिटरमा झरेको थियो । भूकम्पीय तथ्याङ्कले पहिरो खसेलगत्तैको पहिलो १५ मिनेटमा अत्यधिक उच्च ऊर्जा तथा कम्पन रहेको र त्यसपछि बाढीको बहावसँगै त्रिशूली किनारमा घण्टौँसम्म निरन्तर कम्पन रेकर्ड भएको देखाएको छ ।
यो विपद् संसारका विभिन्न भागमा रहेका भूकम्प मापक यन्त्रले समेत रेकर्ड गरेका थिए । विज्ञहरूले भविष्यमा उच्च हिमाली क्षेत्रमा आउने यस्ता आकस्मिक विपद्हरूको पूर्वसूचना दिन र समयमै सतर्कता अपनाउन प्रभावकारी भूकम्पीय निगरानी नेटवर्क तथा अत्याधुनिक पूर्वसूचना प्रणालीको विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
25.12¡ÆC