
काठमाडौँ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ आधार शिविरमा गएको हिउँपहिरोमा परी ज्यान गुमाएका गोरखाका वीरेन्द्र गुरुङको शव परिवारलाई बुझाइएको छ ।
आरोहीको सहयोगीका रूपमा हिमलुङ आधार शिविर पुगेका धार्चे गाउँपालिका–२ केरौँजाका ३२ वर्षीय वीरेन्द्र गुरुङको शव हेलिकोप्टरमार्फत गाउँ पुर्याएर आफन्तको जिम्मा लगाइएको स्थानीय सूर्यबहादुर गुरुङले जानकारी दिनुभयाे । शव हस्तान्तरणसँगै केरौँजाबासीले गुरुङ परम्परा र संस्कृति अनुसार उनको अन्त्येष्टि गरेका छन् ।
हिमालयन होलिडेज कम्पनीमार्फत आधार शिविर पुगेका वीरेन्द्र गत आइतबार गएको हिउँपहिरोमा परी बेपत्ता भएका थिए। उनको शव सोमबार फेला परेको थियो ।
यसैगरी, सोही हिउँपहिरोमा परी ज्यान गुमाएका धार्चेकै ४५ वर्षीय आशबहादुर गुरुङको शव बुधबार दिउँसो फेला परेको छ । उनको शव भने पोस्टमार्टम तथा आवश्यक प्रक्रियाका लागि काठमाडौँ ल्याइएको छ ।
इमेजिन नेपाल एक्सपिडिसन प्रालिमार्फत गाइड तथा कुकम्यानका रूपमा काम गर्न आशबहादुर आधार शिविर पुगेका थिए ।
27.12¡ÆC