
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले विभिन्न जलविद्युत् आयोजनामा क्षति पुग्दा ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर गएपछि सरकार वैकल्पिक व्यवस्थापनमा जुटेको छ ।
बाढीले त्रिशूली करिडोरबाट काठमाण्डौ बालाजु र चपलीमा आउने विद्युत् रोकिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक व्यवस्थानको गृहकार्य अगाडि बढाएको हो ।
भोटेकोशी बाढीले त्रिशूली करिडोरबाट आउने विद्युत् अवरुद्ध भएपछि बालाजु र चपली प्रसारण लाइनमा चाप परेको छ । यसमा वैकल्पिक आपूर्ति प्रणाली विकास गर्न मन्त्रालयले गृहकार्य अगाडि बढाएको मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यले बताउनुभयो । उहाँका अनुसार नेपाल विद्युत् प्राधिकरणले ‘टास्क फोर्स’ बनाएरै काम गरिरहेको छ ।
प्राधिकरणले हिउँदको वैकल्पिक व्यवस्थापनका लागि थप भूमिगत ग्रिड निर्माण अगाडि बढाएको छ । प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले काठमाण्डौमा हिउँदे मागको व्यवस्थापनमा सबै निकायको उच्च सहकार्य र सहयोग आवश्यक रहेको बताउनुभएको छ ।
यो हिउँदमा विद्युत्को चापलाई सहज व्यवस्थापनमार्फत सम्बोधन गर्न मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको पनि उहाँको भनाइ थियो ।
27.12¡ÆC