बाघखोरमा डम्फु पार्क निर्माणको सम्भाव्यता अवलोकन, धार्मिक–सांस्कृतिक पर्यटन प्रवर्द्धनमा जोड

भदौ ९, २०८३ मा प्रकाशित | 7 views

बाघखोरमा डम्फु पार्क निर्माणको सम्भाव्यता अवलोकन, धार्मिक–सांस्कृतिक पर्यटन प्रवर्द्धनमा जोड

नुवाकोट । श्रम संस्कृति पार्टीले नुवाकोटमा निर्माण गर्ने योजना अघि सारेको डम्फु पार्कका लागि बेलकोटगढी नगरपालिका–९ बाघखोरमा स्थलगत अवलोकन गरिएको छ। जिल्लाका विभिन्न स्थानबाट डम्फु पार्क निर्माणका लागि प्रस्ताव तथा दाबी प्रस्तुत भइरहेका बेला बाघखोरका स्थानीयले पार्क निर्माणका लागि जग्गा उपलब्ध गराउने तथा आवश्यक पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएपछि श्रम संस्कृति पार्टीको टोलीले सोमबार स्थलगत अवलोकन गरेको हो।

श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष आशा तामाङ, उहाँको सचिवालयका प्रमुख सचिन तामाङ तथा नुवाकोट–रसुवा सल्लाहकार इन्द्रबहादुर लामासहितको टोलीले लगातारको वर्षा, पहिरो र सडक अवरोधका बीच बाघखोर पुगेर डम्फु पार्क निर्माणका लागि प्रस्ताव गरिएको चण्डेश्वरी डाँडा तथा छ्योर्तेन परिसरको अवलोकन गरेको हो।

श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले नुवाकोटमा डम्फु पार्क निर्माण गर्ने योजना सार्वजनिक गरेसँगै जिल्लाका विभिन्न स्थानबाट पार्क निर्माणका लागि प्रस्ताव आउन थालेका छन्। करिब ५ करोड रुपैयाँको लागतमा डम्फु पार्क निर्माण गर्ने लक्ष्य लिइएको पार्टीले पार्कका लागि कम्तीमा १५ रोपनी जग्गा आवश्यक पर्ने जनाएको छ।

बाघखोरमा पार्क निर्माणका लागि आवश्यक सार्वजनिक जग्गा उपलब्ध गराउन स्थानीय तयार रहेको र पार्कसम्म पुग्ने सडकको पहुँच विस्तारका लागि स्थानीय सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता स्थानीय समाजसेवी सूर्यबहादुर तामाङले जनाउनुभयो। उहाँका अनुसार पार्क निर्माणको निर्णय भएमा स्थानीयवासीले आवश्यक श्रमदान तथा अन्य सहयोगसमेत उपलब्ध गराउनेछन्।

धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले समेत बाघखोर उपयुक्त स्थानका रूपमा रहेको स्थानीयको भनाइ छ। चण्डेश्वरी डाँडा, छ्योर्तेन परिसर तथा आसपासका धार्मिक एवं पर्यटकीय क्षेत्रलाई समेटेर डम्फु पार्क निर्माण गर्न सकेमा यसले स्थानीय संस्कृति, परम्परा र धार्मिक पर्यटनलाई समेत थप प्रवर्द्धन गर्न सक्ने अपेक्षा गरिएको छ।

स्थलगत अवलोकनपछि श्रम संस्कृति पार्टीकी केन्द्रीय उपाध्यक्ष आशा तामाङले बाघखोरमा डम्फु पार्क निर्माणका लागि स्थानीयको उत्साह र सहयोग सकारात्मक रहेको बताउनुभयो। उहाँले आफूले स्थलगत रूपमा पाएको अनुभव पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईलाई जानकारी गराउने बताउनुभयो।

स्थानीय समाजसेवी रामचन्द्र लामाले कठिन मौसम र सडकको प्रतिकूल अवस्थाका बाबजुद पार्टीको केन्द्रीय नेतृत्वसहितको टोली बाघखोर आएर सम्भावित निर्माणस्थलको अवलोकन गर्नु स्थानीयका लागि उत्साहजनक भएको बताउनुभयो।

श्रम संस्कृति पार्टीकी उपाध्यक्ष तामाङले बाघखोर धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएकाले डम्फु पार्कका लागि आफूलाई उपयुक्त स्थानका रूपमा लागेको प्रतिक्रिया दिनुभयो। चण्डेश्वरी डाँडा, छ्योर्तेन तथा चिम्टेश्वर महादेव मन्दिरलगायतका धार्मिक स्थलसँग जोडिएको क्षेत्र भएकाले डम्फु पार्क निर्माणले यहाँको मौलिक संस्कृति र धार्मिक पर्यटनलाई एउटै गन्तव्यका रूपमा विकास गर्न सकिने उहाँको भनाइ छ।

उहाँले डम्फु पार्क निर्माणको प्रयास सफल हुन नसके पनि बेलकोटगढीवासीसँगको सहकार्यलाई निरन्तरता दिँदै अन्य आवश्यक भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्थलगत भ्रमणपछि सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव सार्वजनिक गर्दै उहाँले बाघखोर भ्रमणलाई अत्यन्तै सफल र अविस्मरणीय भएको उल्लेख गर्नुभएको छ। स्थानीयवासीको स्वागत, नगरपालिकाबाट भएको सवारी तथा डोजर सहयोग र प्रतिकूल मौसमका बाबजुद गरिएको सहकार्यले आफूहरूलाई उत्साहित बनाएको उहाँको भनाइ छ।

भारी वर्षा र पहिरोका कारण सडक क्षतिग्रस्त अवस्थामा रहेको बेला बेलकोटगढी नगरपालिकाबाट उपलब्ध गराइएको डोजरले बाटो सफा गर्दै टोलीलाई चण्डेश्वरीसम्म पुग्न सहयोग गरेको उहाँले उल्लेख गर्नुभएको छ। स्थानीयवासी, जनप्रतिनिधि, प्रशासन तथा प्रहरी प्रशासनबीचको समन्वय र सहकार्यलाई समेत उहाँले प्रशंसा गर्नुभएको छ।

डम्फु तामाङ समुदायको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको परम्परागत बाजा भएकाले यसको नाममा निर्माण हुने पार्कले मनोरञ्जन तथा पर्यटकीय पूर्वाधार मात्र नभई तामाङ समुदायको कला, संस्कृति, इतिहास र परम्पराको संरक्षण तथा पुस्तान्तरणमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

बाघखोरमा डम्फु पार्क निर्माणको सम्भावना सकारात्मक देखिए पनि अन्तिम निर्णय भने श्रम संस्कृति पार्टीको अध्ययन, जग्गा उपलब्धताको अवस्था तथा सम्बन्धित स्थानीय तहसँगको समन्वयपछि हुने बताइएको छ।

नुवाकोट, बेलकोटगढीबाट धार्मिक आस्था, मौलिक संस्कृति र प्राकृतिक पर्यटनलाई जोड्ने गरी डम्फु पार्क निर्माण भएमा जिल्लाको नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीयको अपेक्षा छ।

सामाजिक सञ्जालमा उहाँले राख्नुभएको सामग्री जस्ताको तस्तै :

बेलकोटगढीको सफल भ्रमण

हिजो हाम्रो बेलकोटगढीको फिल्ड भिजिट अत्यन्तै सफल र अविस्मरणीय रह्यो। यो भ्रमणले एउटा सुन्दर उदाहरण प्रस्तुत गर्‍यो—टिम एकजुट भएर काम गर्ने हो भने असम्भव देखिने काम पनि सम्भव बनाउन सकिन्छ।

बेलकोटगढी–९ का सम्पूर्ण स्थानीय बासिन्दाहरू हामीलाई स्वागत गर्न उपस्थित हुनुभएको थियो। मेयरसाहेब स्वयं उपस्थित हुन नसक्नुभए पनि उहाँले आफ्नो फोर–ह्विल ड्राइभ गाडी र डोजर उपलब्ध गराइदिनुभयो। भारी वर्षा र पहिरोका कारण बाटो पूर्ण रूपमा क्षतिग्रस्त भएको अवस्थामा डोजरले हाम्रो अगाडि–अगाडि बाटो सफा गर्दै हामीलाई अघि बढ्न सहयोग गर्‍यो।

हामी त्यहाँबाट अघि बढ्दै चिन्डेश्वरी पुग्यौँ। स्थानीयवासीहरूको आग्रहमा त्यहाँको स्थलसमेत अवलोकन गर्ने अवसर मिल्यो। सम्पूर्ण यात्रामा देखिएको समन्वय, सहकार्य, सहयोग र आत्मीयता साँच्चिकै प्रशंसनीय थियो।

यस भ्रमणबाट मैले एउटा कुरा अझ गहिरोसँग महसुस गरेँ—नियत राम्रो छ, उद्देश्य स्पष्ट छ र टिममा एकता छ भने सगरमाथा चढ्नु पनि असम्भव हुँदैन।

काम गर्न नसकिने होइन, सही उद्देश्यका साथ काम गर्ने राम्रो टिम चाहिन्छ।

राम्रो टिम छ भने संसारमा केही पनि असम्भव छैन।

बेलकोटगढीका सम्पूर्ण जनता, बेलकोटगढी नगरपालिकाका मेयरसाहेब तथा उहाँको सम्पूर्ण टिम, व्यक्तिगत रूपमा उपस्थित भएर हामीसँग समन्वय गर्नुभएका अध्यक्षज्यू, साथै प्रशासन र प्रहरी प्रशासनप्रति हार्दिक धन्यवाद।

समन्वय। सहकार्य। सहयोग। एकता।

यिनै हुन् सफलताको आधार। 🙏

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web