
नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटले जिल्लाका १२ वटै स्थानीय तहमा संगठन सुदृढीकरण अभियानको पहिलो चरण पूरा गरेको छ। जिल्लाका १२ पालिका र ८८ वटै वडामा संगठनलाई थप मजबुत, एकीकृत, अनुशासित र जिम्मेवार बनाउने उद्देश्यले रास्वपा नुवाकोटले ‘मिसन १२ पालिका’ अभियानअन्तर्गत आधारभूत जानकारी तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको हो।
रास्वपा नुवाकोटका जिल्ला सभापति रामेश्वर गजुरेलको नेतृत्वमा जिल्लाका सबै पालिकामा जिल्ला समितिका पदाधिकारी तथा सदस्यलाई परिचालन गरी आवश्यक समन्वय, मिति र समय तय गरेर कार्यक्रम सञ्चालन गरिएको हो ।
सभापति गजुरेलको अनुसार संगठनलाई केवल राजनीतिक गतिविधिमा सीमित नराखी जनतासँग प्रत्यक्ष जोड्ने, नागरिकका समस्या र गुनासो संकलन गर्ने तथा सम्बन्धित निकायमार्फत समाधानका लागि पहल गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।
“जिल्लाका १२ वटै पालिकामा पुगेर संगठनको आधारभूत संरचना, जिम्मेवारी र पार्टीको नीति तथा विधानबारे जानकारी गराएका छौँ। अब संगठनलाई वडा तहसम्म व्यवस्थित, सक्रिय र जनताप्रति उत्तरदायी बनाउने दिशामा अघि बढ्छौँ,” सभापति गजुरेलले भन्नुभयो।
उहाँले संगठन सुदृढीकरणका लागि स्थानीय तहमा नियमित बैठक, प्रभावकारी समन्वय र जिम्मेवारीअनुसारको कार्यसम्पादनलाई प्राथमिकता दिइने बताउनुभयो। साथै, पार्टीमा आबद्ध नेता तथा कार्यकर्तालाई संगठनको आचारसंहिता र अनुशासनलाई व्यवहारमा लागू गर्नसमेत आग्रह गरिएको उहाँको भनाइ छ।
रास्वपा नुवाकोटका सचिव बसन्त धितालले वैकल्पिक राजनीतिको अवधारणालाई व्यवहारमा स्थापित गर्न बलियो, अनुशासित र जिम्मेवार संगठन आवश्यक रहेकाले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।
“वैकल्पिक राजनीतिको मजबुत र अनुशासित संगठन निर्माण गर्ने परिकल्पनाअनुसार यो कार्यक्रम तय गरिएको हो। संगठनका हरेक तहका जिम्मेवार व्यक्तिलाई आफ्नो भूमिका, दायित्व, विधान र आचारसंहिताबारे स्पष्ट बनाउँदै जनताको समस्यासँग प्रत्यक्ष जोडिन प्रशिक्षणले सहयोग गरेको छ,” सचिव धितालले भन्नुभयो।
प्रशिक्षणका क्रममा नेता तथा कार्यकर्तालाई संगठनात्मक दायित्व पूरा गर्ने, पार्टीको विधान र आचारसंहिताबारे स्पष्टता कायम गर्ने, नियमित बैठक सञ्चालन गर्ने, स्थानीय तह तथा वडा तहमा संगठनको कार्यालय विस्तार गर्ने, नागरिकका समस्या तथा गुनासा संकलन गरी समाधानका लागि पहल गर्ने विषयमा जानकारी गराइएको रास्वपा नुवाकोटले जनाएको छ।
त्यस्तै, पार्टीको ‘क्यान्डिडेट क्लब’ लगायतका संगठनात्मक संरचना र गतिविधिबारे समेत आवश्यक जानकारी दिइएको सचिव धितालले बताउनुभयो। उहाँका अनुसार अभियानले संगठनभित्र जिम्मेवारी र जवाफदेहिताको भावना विकास गर्नुका साथै स्थानीय तहदेखि नै पार्टी गतिविधिलाई व्यवस्थित बनाउने आधार तयार गरेको छ।
रास्वपा नुवाकोट पछिल्लो समय संगठन विस्तार तथा राजनीतिक गतिविधिसँगै विभिन्न सामाजिक कार्यमा समेत सक्रिय हुँदै आएको जनाएको छ। नागरिकबाट प्राप्त गुनासा तथा स्थानीय समस्यालाई सम्बन्धित सरकारी तथा गैरसरकारी निकायसम्म पुर्याएर समाधानका लागि पहल गर्न पालिका र वडा तहका जिम्मेवार व्यक्तिलाई अभियानमार्फत निर्देशनसमेत दिइएको छ।
सचिव धितालका अनुसार ‘मिसन १२ पालिका’को पहिलो चरणले संगठनको वर्तमान अवस्था पहिचान गर्नुका साथै आगामी गतिविधिका लागि आवश्यक आधार तयार गरेको छ। अब दोस्रो चरणमा संगठनलाई वडा तहसम्म अझ प्रभावकारी बनाउने, नियमित गतिविधि सञ्चालन गर्ने तथा नागरिकसँगको सम्बन्धलाई थप मजबुत बनाउने योजना रास्वपा नुवाकोटको छ।
रास्वपा नुवाकोटले संगठन सुदृढीकरणसँगै जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर आगामी दिनमा सामाजिक तथा सार्वजनिक गतिविधिमा समेत सक्रिय सहभागिता जनाउने जनाएको छ।
28.12¡ÆC