काठमाडौ । सर्वोच्च अदालतले पत्रकार खेम भण्डारीविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।
मुद्दामा भएको सुनुवाइपछि सर्वोच्चले यस्तो आदेश जारी भएको हो । सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमान र शान्तिसिंह थापाको संयुक्त इजलासले सोमबार (भदौ १) उक्त आदेश दिएको हो । पत्रकार भण्डारीविरुद्ध अधिवक्ता श्री बिरभद्र जोशीले अवहेलना मुद्दा दायर गरेका थिए ।
सर्वोच्चले कारबाही हुनुनपर्ने कारण भए आधार र कारणसहित जवाफ पेस गर्न आदेशमा भनेको छ ।
‘‘यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिम अदालतको अवहेलनामा किन कारबाही हुनु नपर्ने हो ? कारबाही हुन नपर्ने भए आधार कारणसहित यो आदेश प्राप्त भएका मितिले बाटाका म्याद बाहेक सात दिनभित्र आफैँ वा आफ्नो कानुन बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेस गर्नु भनी विपक्षीका नाममा यो आदेश र निवेदनको प्रतिलिपि साथै राखी म्याद सूचना पठाई लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेस गर्नू ,’’ आदेशमा उल्लेख छ ।
गत साउन २३ मा पत्रकार भण्डारीले अर्को गाली बेइज्जतीसम्बन्धी मुद्दामा ३७ दिन कारागारमा बसेर निस्केपछि पत्रकार सम्मेलन गरेर न्यायाधीशविरुद्ध अपुष्ट लाञ्छना लगाएको दाबी अवहेलना निवेदनमा गरिएको थियो ।

ताजा समाचारहरू