नुवाकोट — सडक अनुशासन कायम गर्दै सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय, नुवाकोटको आयोजनामा नुवाकोटमा रहेका विद्यालयका बसको यान्त्रिक परीक्षण र चालकको स्वास्थ्य जाँच गरिएको छ।
नुवाकोट जिल्लामा सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयका ३० भन्दा बढी बस तथा चालक सहभागी कार्यक्रममा बसको पाटपुर्जा तथा यान्त्रिक अवस्था जाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, नुवाकोटका प्रमुख (प्रहरी निरीक्षक) विनोद ढकालले जानकारी दिनुभयो। उहाँको अनुसार बस चालकहरूको रक्तचाप, मधुमेह र दृष्टि सम्बन्धि स्वास्थ्य अवस्थाको समेत परीक्षण गरिएको छ।
कार्यक्रममा स्वास्थ्य परीक्षणको लागी त्रिशूली अस्पताल नुवाकोट र सवारीसाधनको यन्त्र उपकरण परीक्षणको लागी यान्त्रिक कार्यालय, नुवाकोटबाट सहयोग रहेको थियो ।


चालकहरूको स्वास्थ्य परीक्षण त्रिशूली अस्पतालका निर्देशक डा. राजेन्द्र लामासहित चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीबाट गरिएको थियो।
त्यस्तै, विद्यालयका सवारीसाधनको पाटपुर्जा तथा यान्त्रिक अवस्था परीक्षण यान्त्रिक कार्यालयका सिनियर मेकानिक्स रामेश्वर ढुङ्गानासहितको प्राविधिक टोलीले गरेको थियो।
ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक विनोद ढकालको अनुसार विद्यालयमा सञ्चालन हुने सवारी साधन सुरक्षित र दुर्घटनारहित बनाउन नियमित रूपमा यान्त्रिक परीक्षण तथा चालकको स्वास्थ्य परीक्षण गरिएको हो । परीक्षण गरिएका मध्ये केहीमा उच्चरक्त र मधुमेह देखिएको भएपनि दृष्टि परीक्षणमा सबैको स्वस्थ्य देखिएको पाइएको छ ।


उहाँको अनुसार सवारी दुर्घटना न्यूनीकरणको लागी नविनतम कार्य अन्तरगत गरिएको यस कार्यक्रमले विद्यालयका विद्यार्थीको सुरक्षित यात्रा सुनिश्चित गर्न सवारी साधनको प्राविधिक अवस्था र चालकको स्वास्थ्य दुवैलाई प्राथमिकता दिएको हो ।


कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नुवाकोटको प्रहरी निरीक्षक वीरबहादुर बुढाऐर,यान्त्रिक कार्यालय नुवाकोटको प्रमुख बिजय हाछेथु सहित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई उत्साहजनक सहभागिता सहित सफल बनाउन सहयोग पुर्याएको भन्दै जिल्लामा सञ्चालित विद्यालय, सहभागी चालक लगायतलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले धन्यावाद दिएको छ ।








ताजा समाचारहरू