सुनसरी (कोशी प्रदेश)को देवानगञ्जमा सामान्य विवादबाट सुरु भएको अशान्ति मोरङ, धनुषा, सिरहा हुँदै पर्सा (वीरगञ्ज)सम्म फैलिँदै देशका विभिन्न भागमा पुग्नु अत्यन्त चिन्ताजनक घटना हो । यो कुनै एउटा पार्टी, सरकार वा समुदाय विशेषको मात्र समस्या होइन, यो हाम्रो बृहत् राष्ट्रिय एकता, सामाजिक सद्भाव र विविधतामा एकताको विशिष्ट उदाहरण बनेको अन्तरधार्मिक, अन्तरजातीय भाइचारा र मौलिक राष्ट्रिय संस्कृतिमाथिको गम्भीर चुनौती हो । लोकतान्त्रिक व्यवस्थामा सहमतिमात्र होइन, समयमै असहमतिको सम्मानित व्यवस्थापन गर्न सक्नु नै वास्तविक र कुशल नेतृत्व हो । यसलाई उपेक्षा गर्दा विवादले अप्रिय रूप लिनसक्छ भन्ने दृष्टान्तका रूपमा भएको छ सुनसरीको त्यो दुःखद घटना ।
सुनसरी, सिरहा र जनकपुरमा दुई पक्षबीचको विवादले उग्ररूप लिँदा हालसम्म चार जनाभन्दा बढी सर्वसाधारणको ज्यान गइसकेको छ भने कयौं घाइते भएका छन् । समस्या समाधान र शान्ति कायम गर्ने नाममा भएको गैरन्यायिक हत्या सर्वथा आपत्तिजनक तथा निन्दनीय छ । यसबारे न्यायोचित छानबिनका लागि स्वतन्त्र आयोग गठन गर्नु अनिवार्य छ । बहुसंख्यक हिन्दु धर्मावलम्बीको ८५ प्रतिशत अस्तित्व भए पनि शताब्दियौंदेखि आपसमा मिलेर ‘सर्वधर्म समभाव’को भावनाका साथ शान्तिपूर्वक जीवन यापन गर्दै आएका हामी नेपालीहरूको यो विशिष्ट परम्परा विश्वकै लागि प्रेरणादायी रहँदै आएको छ । यो वास्तविकतालाई आत्मसात् गर्दै सबै पक्षबाट जिम्मेवार भएर शान्तिपूर्ण समाधानको बाटो पहिल्याउनु आजको मुख्य आवश्यकता हो । शान्तिको विकल्प छैन, हिंसाको भविष्य हुँदैन भन्ने हामीले भोगेरै चेतिसकेका छौं । हिंसात्मक द्वन्द्व र वैमनस्यता लोकतान्त्रिक राजनीतिको माध्यम हुन सक्दैन, असहिष्णुता, अशान्ति र हिंसा हाम्रो संस्कृति, सभ्यता र दर्शन हुँदै होइन । नेपाली कांग्रेसले कुनै पनि कार्यकर्ता हिंसात्मक गतिविधिमा संलग्न नरहन स्पष्ट निर्देशन दिइसकेको छ ।
नेपालको बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता समस्या होइन, सम्पदा र सौन्दर्य हो । २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापनासँगै स्थापित यो वैधानिक अवधारणालाई वरदानसिद्ध गर्ने वा अभिशाप बनाउने, मुख्यतः राज्य र सरकारको नेतृत्वमा निर्भर हुन्छ । जुनसुकै धर्म, जात वा सम्प्रदायको भए पनि ‘हामी सर्वप्रथम नेपाली हौं’ भन्ने भावनात्मक दृढताका साथ पूर्वाग्रहभन्दा माथि उठेर सोच्नु हामी सबैको राष्ट्रिय दायित्व र जिम्मेवारी हो ।
नेपाली कांग्रेस, जसको स्थापना दलितको घरको छतमा भयो । शेख इदरिशजस्ता कांग्रेसका सम्मानित नेता, त्यसैगरी डा. खलिल आजाद, फरमुल्लाह मन्सुर, मोहम्मद सिद्धिकी, भिखारी मन्सुरजस्ता अनेकौं व्यक्तित्वहरू नेतृत्व तहमा भएको तथ्यका आधारमा नेपाली कांग्रेस स्थापनाकालदेखि नै इस्लाम धर्मावलम्बीहरूको पनि पार्टी हो । नेपाली कांग्रेसमा मुसलमान नेताहरूको श्रद्धापूर्ण स्थान छ ।
नेपालमा मुसलमानहरूको आगमन र बसोबासको इतिहास नेपाल एकीकरणभन्दा पहिले प्रताप मल्लका पालामा आजभन्दा साढे तीन सय वर्ष पहिलेदेखि छ । त्यसैले नेपाल एकीकरण र राष्ट्रनिर्माणमा हिमाल, पहाड र तराई–मधेसका सम्पूर्ण जातजाति भाषाभाषीको समान योगदान छ । पृथ्वीनारायण शाहले आफ्नो दिव्य उपदेशमा भनेका छन्, ‘……..लषनैबाट तिन् मुसल्मां मेरो चाकरिलाई नुवाकोटमा पिछा परि आयाका थिया. ईनै बन्दुक्को तुलकलायेत तिनै मुसरमानले जान्याको रहेछ र सेषजरवर ममतकि भेषार्सि (शेख जरबर, मोहम्मद तकी, भेषार्जी) तिनै जनालाई अजिटनी दिया र तिलंगा सधायाको हो ।’ हातहतियार विशेषज्ञ ती तीन मुसलमानलाई पृथ्वीनारायणले सेनाको ‘अजिटनी’ (एड्जुटेन्ट भन्नाले सेनाको माथिल्लै अफिसर) पद दिएका थिए । नेपाल एकीकरणमा लागेका सेनाले त्यसपछि शक्तिशाली हातहतियार पाउन थाले र राष्ट्रनिर्माणको काममा निकै सहज भएको इतिहासले बताउँछ ।
शान्तिपूर्ण धार्मिक सहअस्तित्व नेपालको राष्ट्रिय संस्कार र सभ्यता हो । सामाजिक एकता, पारस्परिक सम्मान, सहिष्णुता र राष्ट्रिय एकतालाई सुदृढ बनाउन सरोकारवाला पक्षहरूलाई संयम, संवाद, आपसी विश्वास र सहकार्यका साथ अगाडि बढ्नु हाम्रो आजको जिम्मेवारी हो । विविधता नै हाम्रो शक्ति र समृद्धिको आधारशिला हो । यही वास्तविकताले गर्दा पहाडमा खासगरी काठमाडौं उपत्यकाका साथै चितवन, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, अछाम, बझाङ, बाजुराजस्ता जिल्लामा मुस्लिम बस्ती छ । मेरो गृहजिल्ला नुवाकोटको सदरमुकाम विदुरमा पनि मुसलमानहरू ठूलो संख्यामा शदियौँदेखि बसोबास गर्दै आएका छन् । पहाडमा हिन्दू–बौद्ध–मुसलमानको भाइचारापूर्ण सहअस्तित्व उदाहरणीय वास्तविकता हो । धर्मको विवादमा कहिल्यै कलह वा वैमनस्यता भएन ।
तराई मधेसका देहातमा बस्ने हुन् वा पहाडका कन्दरामा, गरिब हुन् वा धनी, प्रत्येक नागरिकलाई राज्यले ‘म नेपाली हुँ’ भन्ने आत्मसम्मान र सुरक्षित वातावरणको अनुभूति गराउन सक्नुपर्छ । तर सुनसरीमा उत्पन्न गडबडीप्रति सरकारले सुरुमा देखाएको उदासीनता, लाचारी र अनुत्तरदायी रवैयाकै कारण समस्याले यति जटिल रूप लिने मौका पाएको हो । सत्तासीनहरूले हिजो प्रतिपक्षमा हुँदाका अभिव्यक्तिलाई स्मरणमात्र गरिदिए पुग्छ । सामाजिक यथार्थता धरातलीय वास्तविकतालाई पटक्कै नबुझेर ठूलाठूला आदर्श, क्रान्तिकारी कुरा र आकर्षक नाराले मात्र हुँदैन । आदर्श र व्यावहारिकताका बीच सन्तुलन र सामञ्जस्य हुन सकेन भने खेदजन्य र प्रत्युत्पादक हुन्छ । आज सत्तासीनहरू त्यतैतिर उन्मुख देखिन्छन् ।
राजनीतिक दृष्टिकोणले हेर्दा २०१५ सालको प्रथम आमनिर्वाचनमा सुनसरी, खासगरी देवानगञ्ज भेगका जनताले नेपाली कांग्रेसलाई अत्यधिक मतदान गरेर जननायक बीपी कोइरालालाई देशको प्रथम जननिर्वाचित प्रधानमन्त्री बनाएको ऐतिहासिक गौरव हाम्रासामु छ । बीपीलाई आफ्नै चुनावको मैदानबाट हराउन पहाडे समुदायको मत काट्न दिलबहादुर श्रेष्ठ र मधेसी समुदायको मत काट्न डा. अवधनारायण जस्ता प्रभावशाली उम्मेदवारसहित तत्कालीन कम्युनिष्टहरूसमेतको अघोषित मोर्चाका रूपमा महŒवका साथ उठाइएको थियो । तर, त्यहाँका मतदाताले यस्ता सबै व्यवधान र षड्यन्त्रलाई निरर्थक पार्दै नेपाली कांग्रेसलाई अत्यधिक मत दिएर ऐतिहासिक विजय दिलाएको यथार्थलाई बीपीले आत्मवृत्तान्तमा उल्लेख गर्नुभएको छ ।
प्रजातन्त्रको पुनःस्थापनापछि २०४८ सालको संसदीय निर्वाचनमा तराई मधेसले नेपाली कांग्रेसलाई सत्तामा पुग्न निर्णायक मत दिएको कृतज्ञता पनि अविष्मरणीय छ । लोकतान्त्रिक भूमिका रूपमा परिचित मधेसले त्यो निष्ठा र इतिहासलाई बिर्सनु हुँदैन । कांग्रेसले बिर्सेको छैन ।
सुनसरीबाट उठेको समस्याको शान्तिपूर्ण समाधानका साथै पीडित पक्षले न्यायको पूर्ण प्रत्याभूति पाउनुपर्छ । मृतकका परिवारलाई सम्मानजनक क्षतिपूर्ति र घाइतेहरूको पूर्ण निःशुल्क उपचार र न्यायोचित परिपूरणको व्यवस्था गर्नु सरकारको कानुनी र नैतिक जिम्मेवारी हो । लोकतन्त्रमा सरकार जनताको भरोसायोग्य अभिभावक हुनुपर्छ । तर, विडम्बना, असाधारण मतादेश र जिम्मेवारी बोकेको सरकारले यसबारे न समयमै संसद्को विश्वास लिनेगरी गम्भीर छलफल गरायो, न त सर्वदलीय सहमति नै खोज्यो । गैरसरकारी, सामाजिक र धार्मिक संस्थाहरूसँग कुनै संवाद, सहमति र सहकार्यको पहलका लागि तदारुकता पनि देखाइएन । संसद्को विश्वास लिने प्रयास अझैसम्म भएको छैन । पछिल्लो पटकको यस्तो प्रयास प्रारम्भमै भएको भए सायद जनधनको यति गम्भीर क्षति हुँदैनथ्यो । विभिन्न स्थानमा भएका सद्भावना ¥यालीहरू समस्या समाधानको अनुकूल वातावरण बनाउन सहायकसिद्ध भएका छन् । यो सिलसिलालाई सबै पक्षबाट निरन्तरता दिनु आवश्यक छ ।
प्रधानमन्त्रीको फेसबुकमार्फत आइरहेका अभिव्यक्तिहरू संवादउन्मुख देखिन्छ । तर, आत्मकेन्द्रित र सतही सोच अझै हावी देखिनु शासन सञ्चालनमा अव्यावहारिक र अपरिपक्वतामात्र हो । यस्तो संवेदनशील घडीमा सत्तापक्ष र प्रतिपक्षका रूपमा विभाजित मानसिकता बनाएर बस्ने होइन । राष्ट्रिय एकताका निम्ति सबै एक ठाउँमा उभिनु आवश्यक छ । यसका लागि समन्वयकारी र निर्णायक भूमिका सरकार र प्रधानमन्त्रीकै हुनुपर्छ । यस घटनाको निष्पक्ष जाँचबुझका लागि तत्काल एक स्वतन्त्र न्यायिक आयोग गठन गर्न र सर्वपक्षीय संवादमार्फत् शान्ति र अमनचयन पुनःबहाली गर्न अत्यन्त जरुरी छ । यस घटनाको तृणमूल तहमा विश्लेषण गर्दै यसका कारक पक्ष र व्यक्तिहरूमाथि कडा कारबाही र फेरि यस्तो नदोहोरियोस् भन्ने सहमतिपूर्ण आधार तयार हुनु जरुरी छ ।
धर्म भनेको मानिसको आस्था, विश्वास, नैतिक मूल्य, संस्कार र आध्यात्मिक अभ्यासहरूको समष्टि हो जसले जीवनको उद्देश्य, ईश्वर वा परम सत्यप्रति सम्बन्ध र सही आचरणको मार्ग निर्देशन गर्दछ । धर्मले तोड्ने होइन आपसमा जोड्ने काम गर्छ, आवेग र उत्तेजना होइन, सद्भावना, सहिष्णुता विवेक र चेतना दिन्छ । सामाजिक सद्भाव, पारस्परिक सम्मान, सहिष्णुता र राष्ट्रिय एकतालाई सुदृढ बनाउन सबै नागरिकहरू संयम, संवाद, पारस्परिक अस्तित्वबोध, आपसी विश्वास र सहयोगका साथ अघि बढ्नुमा मात्र हामी सम्पूर्ण नेपाली र नेपालको हित छ र विविधतामै हाम्रो शक्ति र समृद्धिको आधार निहित छ भन्ने शाश्वत सत्यलाई खासगरी सत्तासीन र बाहिर रहेका सबै पक्षले आत्मसात गरौं ।
(लेखक केसी प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् ।)
प्रतिक्रिया