चौतारागाउँदेखि आँपचौरसम्म ‘एक घर एक धारा’ सञ्चालन, नपुगेका बस्ती समेट्न १ करोड बजेट बिनियोजन

नुवाकोट । तारकेश्वर गाउपालिकाको ‘गौरवको आयोजना’को रूपमा रहेको जोरघट्ट खानेपानी आयोजना अन्तर्गत चौतारागाउँ, सातदोबाटो, धैरिनी, आँपचौर लगायत गाउँमा ‘एक घर एक धारा’ निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ ।

गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले केही घरहरूमा उचाइका कारण पानी चढन नसकेको जानकारी आएकाले ती घरहरूका लागि वैकल्पिक उपायको खोजी गरी पानी सञ्चालन हुने व्यवस्था मिलाउन निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।

लामो समयदेखि खानेपानीको चरम अभावबाट गुज्रिएको तारकेश्वर गाउपालिकाको वडा नम्बर २ र ३ का ६५० भन्दा बढी घरधुरीलाई जसरी पनि पानी खुवाउने संकल्प गर्नुभएका अध्यक्ष अधिकारीले आफू अध्यक्ष भएको तीन महिनाभित्रै जोरघट्ट मुहानबाट पानी ल्याएर पुरानै ट्याङ्की र पाइपलाइनको संरचनाबाट घरघरमा पानी वितरण गर्नुभएको थियो ।

तत्पश्चात्, आयोजनाको दोस्रो चरणका रुपमा नयाँ पाइपलाइनहरूको निर्माण र एक घर एक धारा निर्माण कार्य अघि बढाइएको थियो ।

अहिले वडा नम्बर ३ को चन्दनीस्थित वितरण ट्याङ्कीबाट वडा नम्बर २ को आरुबोटेसम्म नयाँ पाइपलाइनको निर्माण भइसकेको छ ।

बहुवर्षीय आयोजनाका रूपमा क्रमिक रुपमा नयाँ पाइपलाइन निर्माण र एक घर एक धारा निर्माणको काम अघि बढिरहेको छ ।

गाउपालिका अध्यक्ष अधिकारीले प्रदेश सरकारसँग माग गर्ने विशेष अनुदान अन्तर्गत आगामी आर्थिक वर्षका लागि रु १ करोड २ लाख बजेट विनियोजन भइसकेको जानकारी दिलै खानेपानी पुग्न बाँकी रहेका गाउँहरूमा ‘एक घर एक धारा’ निर्माणको कार्य तीव्र रतिमा अघि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया

TOP