तारकेश्वरमा सामाजिक सुरक्षा भत्तामा बार्षिक थप पाच हजार पालिकाले उपलब्ध गराउने

नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको व्यवस्थाअनुरूप गाउँपालिकाभरिका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति र टुहुरा र बालपोषण भत्ता पाउने लक्षित समूहका व्यक्तिहरूलाई खाईपाई आएको भत्ताका अतिरिक्त वार्षिक रु.५००० का दरले प्रोत्साहन तथा जीविकोपार्जन भत्ता उपलब्ध गराउने व्यवस्था मिलाउन सामाजिक पञ्जीकरण शाखालाई निर्देशन दिनुभएको छ ।

अधिकांश वृद्ध आमाबुबाहरू गाउँमै रहनुहुने र उहाँहरूका सन्तति सहरी इलाकामा वा विदेशमा रहनुभएको हुँदा उहाँहरूको प्रोत्साहन र जीविकोपार्जनका लागि गाउँपालिकाका तर्फबाट चालु खर्च र अन्य शीर्षकमा हुने खर्चलाई मितव्ययी बनाई स्रोत जुटाएर अतिरिक्त भत्ताको व्यवस्था गर्न लागिएको अध्यक्ष अधिकारीले बताउनुभएको छ ।

गाउँपालिकाभरि रहनुभएका लक्षित समूहका करिब २७०० जनाले यो प्रोत्साहन पत्ता प्राप्त गर्नुहुनेछ । यसबाट उहाँहरूको जीविकोपार्जनमा थप सहजताका साथै उत्साह थपिने विश्वास सहित यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

यस कार्यक्रम मार्फत तारकेश्वर गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता ग्रहण गर्दै आउनुभएका दुई हजार सातसय जना ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, टुहुरा र बालपोषणको लक्षित समूहका व्यक्तिहरू प्रत्यक्ष लाभान्वित हुने भएका छन् । तारकेश्वर गाउँपालिकाको यस निर्णयले अहिले पाउदै आएको सामाजिक सुरक्षा भत्ता बापतको रकममा थप वार्षिक रु ५,००० प्रोत्साहन तथा जीविकोपार्जन भत्ता पाउने भएका छन् ।

प्रतिक्रिया

TOP