चौघडा । नुवाकोटको लिखु गाउँपालिकाले आगामी आर्थिक वर्षको लाग ल्याएको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ ।
गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठको सभाध्यक्षतामा आज क्षेत्रपाल माविमा बसेको सभामा गाउँपालिका उपाध्यक्ष शुभद्रा अधिकारी (उप्रेती)बाट पेश गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम गाउसभा सदस्यहरुबाट सर्वसम्मत पारित भएको हो ।
गाउँपालिका अध्यक्षको सभाध्यक्षमा बसेको १८ औँ गाउँसभामा उपाध्यक्ष उप्रेतीले पालिकाको सिमित श्रोत र साधनको बाबजुत पालिकाबासी नागरिकहरुको न्यूनतम अवाश्यकतालाई पूरा गर्दै गाउँपालिकाको विकासको गतिविधिहरुलाई निरन्तरता दिनको लागी नीति तथा कार्यक्रमलाई प्राथमिकता दिनुभएको छ ।

संविधानमा उल्लेख भए बमोजिम अधिकार सम्पन्न स्थानीय सरकारमा रहेका २२ वटा एकल अधिकार सहित विभिन्न साझा अधिकारलाई समावेश गरेर ल्याइएको नीति तथा कार्यक्रममा एकल अधिकार क्षेत्रभित्रका विषयमा गाउँपालिकाको सेवा प्रवाहलाई सबल र सुदृढ बनाउने आफ्नो अधिकार क्षेत्रभित्रको आर्थिक अधिकार सम्बन्धी विषयमा वार्षिक बजेट बनाउने, निर्णय गर्ने, नीति तथा योजना तयार गर्ने र त्यसको कार्यान्वयन गर्ने एवं कर लगाउन र ती स्रोतहरूबाट राजस्व उठाउन सक्ने संवैधानिक अधिकारको उपयोगलाई जोड दिदै नीति तथा कार्यक्रम ल्याइएको छ ।

यस्तै, निर्वाचित जनप्रतिनिधिले समग्र गाउँपालिकाको विकासको दूरदृष्टि बमोजिम काम गर्नुपर्ने उल्लेख गर्दै गाउँपालिका भित्रका मुख्य- मुख्य सडकहरूको प्राथमिकताका साथ निर्माण कार्य तीव्र बनाई जनताको जीवनयापनमा सहज तुल्याउनु नीति तथा कार्यक्रममा जोड दिइएको छ ।

सबै वडाहरूमा सडक पूर्वाधारको पहुँच पुराई लिखु र तादी खोलालाई उचित संरक्षण गरी पर्यटन पूर्वाधारको विकास गर्न, कृषि योग्य जमिन प्रशस्त रहेको हुँदा किसानमुखी कार्यक्रममा बढी प्राथमिकिकरण गरी आधुनिक कृषि व्यवसायमा युवा शक्तिहरूलाई परिचालन गरी कृषिमा आत्मनिर्भर बनाउन लक्ष्य सहितको नीति तथा कार्यक्रम लिखु गाउँपालिकाको उपाध्यक्ष सुभद्रा अधिकारीले ल्याउनुभएको हो ।

उहाँले ल्याएको नीति तथा कार्यक्रमलाई गाउसभाले सर्वसम्मत रुपमा पारित गरेको छ । यही आधारमा अब यही असार १० गते करीब ४२ करोड रुपैयाँ हाराहारिको बजेट ल्याउन लागिएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टले जानकारी दिनुभयो ।



प्रतिक्रिया