बेलकोटगढी–४ का महिलाहरू जुत्ता–चप्पल निर्माणमा दक्ष, स्वरोजगारतर्फ अग्रसर

बाघखोर । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ४ मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा सञ्चालन गरिएको १५ दिने जुत्ता–चप्पल निर्माण तालिम सम्पन्न भएको छ। तालिमपछि सहभागी महिला दिदीबहिनीहरू जुत्ता तथा चप्पल निर्माण गर्न सक्षम बनेका छन्।

तालिममा सहभागी महिलाहरूले कच्चा पदार्थ प्रयोग गरी विभिन्न प्रकारका जुत्ता–चप्पल उत्पादन गर्न सक्ने सीप हासिल गरेका छन्। यसले उनीहरूलाई स्वरोजगार बन्न तथा घरमै बसेर आयआर्जन गर्ने अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा नगर प्रमुख जगतबहादुर गुरुङले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतारेर महिलाहरूले आर्थिक गतिविधिमा सक्रिय सहभागिता जनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले सीपमूलक तालिमले महिलाको आत्मनिर्भरता र आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।

नगर प्रमुख गुरुङका अनुसार युवाहरूलाई औपचारिक शिक्षा मात्र नभई व्यावहारिक तथा रोजगारमुखी सीप प्रदान गर्न नगरपालिका निरन्तर लागिपरेको छ। स्थानीय आवश्यकता, युवाहरूको चाहना तथा बजारको मागलाई ध्यानमा राख्दै विभिन्न निकायसँगको सहकार्यमा सीप विकास कार्यक्रम सञ्चालन गरिँदै आएको उहाँले जानकारी दिनुभयो।

चालु आर्थिक वर्षभित्र बेलकोटगढी नगरपालिकाका सबै वडामा विभिन्न प्रकारका सीपमूलक तालिम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ। यस्ता कार्यक्रमले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नुका साथै उद्यमशीलता विकासमा समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

महिलाहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यावसायिक रूपमा प्रयोग गर्दै आयआर्जनका नयाँ अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नगरपालिकाले आगामी दिनमा पनि सीपमूलक तथा उद्यमशीलता प्रवर्द्धन गर्ने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

 

प्रतिक्रिया

TOP