
काठमाडौँ । नेपाली पर्यटन क्षेत्रका अग्रणी व्यवसायी तथा अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रमा सक्रिय व्यक्तित्व सुमन पाण्डेलाई प्रशान्त क्षेत्र पर्यटन संघ (पाटा) इन्टरनेसनलले आफ्नो सबैभन्दा प्रतिष्ठित सम्मान ‘आजीवन सदस्यता’ प्रदान गरेको छ ।
दक्षिण कोरियामा हालै सम्पन्न पाटाको वार्षिक साधारण सभाको अवसरमा पाण्डेलाई उक्त सम्मान प्रदान गरिएको हो । पाटाको सात दशकभन्दा लामो इतिहासमा ‘आजीवन सदस्यता’ अत्यन्त विशिष्ट र मर्यादित सम्मानका रूपमा लिइन्छ । यो सम्मान संस्थामा दीर्घकालीन रूपमा योगदान पुर्याउने, अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रमा प्रभावशाली नेतृत्व गर्ने तथा विश्व पर्यटनमा उल्लेखनीय छाप छोड्न सफल व्यक्तित्वलाई मात्र प्रदान गरिने परम्परा रहेको छ ।

यो सम्मानसँगै पाण्डे पाटाको उच्चस्तरीय सल्लाहकार परिषद्को सदस्यसमेत बनेका छन् । अब संस्थाको दीर्घकालीन नीति निर्माण, अन्तर्राष्ट्रिय रणनीति तय गर्ने तथा विश्व पर्यटन क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण निर्णय प्रक्रियामा उनको भूमिका अझ प्रभावकारी हुने बताइएको छ ।
पाटा अन्तर्राष्ट्रियमा विगत ६ वर्षदेखि केन्द्रीय तहमा रहेर सक्रिय भूमिका निर्वाह गर्दै आएका पाण्डेको नेतृत्व क्षमता, कार्यदक्षता र पर्यटन क्षेत्रप्रतिको समर्पणको उच्च मूल्यांकन गर्दै संस्थाले उनलाई यो गरिमामय पदवी प्रदान गरेको हो ।
नुवाकोट निवासी प्रभावशाली पर्यटन व्यावसायी सुमन पाण्डेको पाटासँगको यात्रा सन् २०१३ देखि थप सशक्त बनेको देखिन्छ । उनले सन् २०१३ देखि २०१७ सम्म पाटा नेपाल च्याप्टरको १२ औँ अध्यक्षको जिम्मेवारी सम्हाल्दै नेपाली पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।

त्यसपछि उनले सन् २०२० देखि २०२४ सम्म लगातार दुई कार्यकाल पाटा अन्तर्राष्ट्रियको सचिव तथा कोषाध्यक्ष पदमा रहेर संस्थाको आर्थिक तथा प्रशासनिक सुदृढीकरणमा योगदान दिएका थिए । हाल उनी सन् २०२४–२०२६ कार्यकालका लागि पाटा अन्तर्राष्ट्रिय हेडक्वार्टरको उपाध्यक्ष पदमा कार्यरत छन् ।
पर्यटन क्षेत्रका जानकारहरूले दक्षिण कोरियामा प्राप्त यो सम्मानलाई पाण्डेको व्यक्तिगत उपलब्धि मात्र नभई समग्र नेपाली पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान र नेतृत्व क्षमताको प्रमाणका रूपमा व्याख्या गरेका छन् । यस उपलब्धिले विश्व पर्यटन बजारमा नेपालको उपस्थिति र प्रभाव अझ मजबुत बन्ने अपेक्षा गरिएको छ ।
नेपालबाट यसअघि स्वर्गीय प्रभाकर शम्शेर राणा, स्वर्गीय बसन्त मिश्र र आर आर पाण्डे ले पनि पाटाको यही सम्मान प्राप्त गरिसकेका छन् ।
पर्यटन व्यवसायसँगै पाण्डे राजनीतिक तथा सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका छन् । उनी २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए । हाल उनी राष्ट्रिय स्वतन्त्र पार्टी को पर्यटन तथा संस्कृति विभाग प्रमुखका रूपमा नीतिगत सुधार तथा पर्यटन विकाससम्बन्धी कार्यमा संलग्न छन् ।
16.9¡ÆC