अध्यक्ष अधिकारीको महिला सशक्तीकरण अभियान जारी, दुई आमा समूहलाई डेढ लाख सहयोग

बैशाख २२, २०८३ मा प्रकाशित | 240 views


नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी (अविरल)ले महिला सशक्तीकरण अभियानलाई निरन्तरता दिँदै वडा नम्बर १ का दुई आमा समूहलाई नगद तथा सामग्री सहयोग हस्तान्तरण गर्नुभएको छ ।

आज आयोजित कार्यक्रममा अध्यक्ष अधिकारीले तल्लोहिलेस्थित त्रिजटेश्वर आमा समूहलाई रु. १ लाख तथा ढाडाखर्कस्थित जागृति महिला समूहलाई रु. ५० हजार नगद सहयोग प्रदान गर्नुभयो । साथै, त्रिजटेश्वर आमा समूहलाई भजन–कीर्तन तथा अन्य सामाजिक कार्यक्रम सञ्चालनका लागि आवश्यक साउन्ड सिस्टम समेत हस्तान्तरण गरिएको छ ।

कार्यक्रमकै अवसरमा अध्यक्ष अधिकारीले त्रिजटेश्वर महादेव मन्दिर परिसरमा भक्तजनहरूको सुविधाका लागि प्रतिक्षालय निर्माण कार्य तत्काल सुरु गर्न सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको छ ।

जागृति महिला समूहलाई यसअघि नै साउन्ड सिस्टम उपलब्ध गराइसकिएको थियो । अध्यक्ष अधिकारीले आफू अध्यक्ष निर्वाचित हुनुअघि सञ्चालन गर्दै आएको महिला सशक्तीकरण अभियान अन्तर्गत उक्त समूहलाई यसअघि रु. १ लाख सहयोग समेत प्रदान गर्नुभएको जानकारी दिइएको छ ।

त्यसैगरी, सोही क्षेत्रको कात्तिकेस्थित आमा समूहलाई पनि नगद सहयोग तथा साउन्ड सिस्टम हस्तान्तरण गरिसकिएको बताइएको छ ।

महिलाहरूको आर्थिक आत्मनिर्भरता र जीविकोपार्जनमार्फत मात्रै वास्तविक सशक्तीकरण सम्भव हुने विश्वासका साथ अध्यक्ष अधिकारीले लामो समयदेखि महिला समूह, आमा समूह तथा किशोरी समूहहरूलाई सीप विकास र आयआर्जन कार्यक्रममार्फत प्रोत्साहन तथा सहयोग उपलब्ध गराउँदै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web