प्रस्तुति चिया उद्योगबाट उत्पादित चियालाई ‘नेशनल टी च्याम्पियन’को उपाधि

बैशाख १७, २०८३ मा प्रकाशित | 47 views


काठमाडौ । यस वर्षको नेशनल टी च्याम्पियनको उपाधि प्रस्तुति चिया उद्योग इलामको प्रस्तुति टि ले प्राप्त गरेको छ । इलाम नगरपालिका वडा नम्बर २ सुम्बेकमा सञ्चालनमा रहेको प्रस्तुति चिया उद्योग प्रालिबाट त्पादित चियाले यस वर्षको नेशनल टि च्याम्पियनको उपाधि पाएको हो ।

प्रस्तुति चिया उद्योगले उत्पादन गरेको (सिल्भर) चिया यस वर्ष मनाइएको ३०औँ राष्ट्रिय चिया दिवसको अवसरमा नेशनल टी च्याम्पियन २०८३ घोषित भएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा भएको प्रतियोगितामा प्रस्तुति टी ले उच्च गुणस्तर र उत्कृष्ट प्रशोधनका कारण राष्ट्रिय स्तरमा पहिचान बनाउन सफल भएको जानकारी दिइएको छ । यो उपलब्धिलाई कम्पनीले निरन्तर मेहनत, गुणस्तरप्रतिको अटल प्रतिबद्धता र सम्पूर्ण टिमको समर्पणको परिणामको रूपमा लिएको प्रस्तुति चिया उद्योगका सञ्चालक जीवन न्यौपानेले बताउनुभयो ।

उहाँको अनुसार यस उपलब्धी सिङ्गो किसान तथा उद्योगमा आबद्ध कर्मचारी टिमको मेहनत रहेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डबाट प्राप्त यो प्रमाणपत्रले आफूहरूलाई थप उच्च लक्ष्य हासिल गर्न प्रेरणा पाएको उहाँले प्रतिक्रिया दिनुभयो ।

इलाम नगरपालिका वडा नम्बर २, सिमाना चोक, सुम्बेकमा अवस्थित प्रस्तुति उद्योगले इलामका किसानहरूबाट उत्पादित चियालाई गुणस्तरका आधारमा छनौट गरेर खरिद गर्ने गरेको छ । उद्योगले किसानबाट प्राप्त पत्तीबाट परम्परागत तरिकाले प्रशोधन गरिएको प्रिमियम अर्थोडक्स चिया उत्पादन गर्दै आएको छ । सिल्भर निडलको प्रतिस्पर्धात्मक विधामा प्राप्त यो सफलताले इलामको चिया क्षेत्रको समग्र गरिमा बढाएको समेत सञ्चालक न्यौपानेको भनाई छ ।

“स्वस्थ चिया, दिगो बजार, समृद्ध नेपालको आधार” भन्ने नारा सहित राष्ट्रिय चिया दिवस मनाइएको छ । इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा मनाइएको चिया दिवसले किसान तथा उद्योगीहरूलाई पेसा प्रति हौसला थपिएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा हरेक वैशाख १५ मा चिया दिवस मनाउने गरिन्छ । देशमा विदेशी मुद्रा आर्जनको एक हिस्सा बन्न थालेको नेपाली चियाको विकास विस्तार र बजारीकरणमा यो दिवसले महत्वपूर्ण भूमिका खेल्ने गरेको किसान तथा उद्योग सञ्चालकहरूको भनाई छ ।

विसं १९२० मा इलाम चिया बगानबाट रोपण सुरु गरिएको चिया अहिले २० हजार दुई सय १९ हेक्टर भन्दा बढी जमिनमा विस्तार तथा उत्पादन भइरहेको बोर्डले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web